कमला मेडिसिनले बिक्री गरेको निःशुल्क सेनिटाइजर स्थानीय तहमा भेटियो

202

छिनछिन खबर
नेपालगन्ज, वैशाख ५–

नेपाल सरकार जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका लागि उत्पादित निःशुल्क सेनिटाइजर बाँकेका अधिकांश स्थानीय तहमा फेला परेको छ । एसआर ड्रग ल्याब्रोटरी प्रा.लि., काठमाण्डौले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग स्वरुप निःशुल्क उपलब्ध गराइएको ह्याण्ड सेनिटाइजर कमला मेडिसिन डिष्ट्रिब्यूटर्सले बिक्री वितरण गरेको हो ।
निःशुल्क रूपमा पाइने सेनिटाइजर बिक्री वितरण भइरहेकोबारे सामाजिक सञ्जाल र जनताबाट गुनासो आएपछि बुधबार कमला मेडिसिनमा प्रहरीले छापा मार्दा एउटा बक्स फेला परेको थियो । प्रहरीले छापा मार्दा एउटा मात्र बक्स फेला परे पनि अहिले अधिकांश स्थानीय तहमा नट फर सेल लेखिएको उक्त सेनिटाइजर कमला मेडिसिनद्वारानै बिक्री वितरण हुनुले के कति मात्रामा बिक्री गरेकोबारे अन्योलता छाएको छ ।
नट फर सेल लेखिएको सेनिटाइजरलाई सात सय रुपैयाँ प्रतिबोतलका दरले किनेर ल्याएका एक स्थानीय तहका स्वास्थ्यकर्मीसँग नट फर सेल लेखिएको सेनिटाइजरलाई यति धेरै पैसा किन हाल्नु भयो भन्ने संवाददाताको प्रश्नमा नाम नबताउने सर्तमा उनले भने,‘मर्नु भन्दा बहुलाउन जाति भने झै भइरहेको थियो । कोरोनाबाट जनतालाई सुरक्षित राख्नु पर्ने बाध्यता भएकाले पनि त्यसतर्फ ध्याननै नदिएर कमला मेडिसिन डिष्ट्रिब्युटर्सबाट प्रतिबोटल सात सय रुपैयाँका दरले सेनिटाइजर किनेर ल्याएका हौं ।‘
त्यस्तै एक हवाइ कम्पनीका लागि पनि सात सय रुपैयाँ हालेर एक बोतल सेनिटाइजर किन्न बाध्य भएको एक कर्मचारीले बताए । उनले भने,‘पहिले सेनिटाइजर किनेर लगिहालेँ । पछि हाकिमले बोतलको मूल्य हेर्न खोज्नु भयो । तर मूल्य हुने ठाउँको कागज च्यातिएको थियो ।’ उनका अनुसार सानै मूल्य भएकाले त्यसतर्फ हाकिमले ध्यान दिएनन् तर अहिले समाचारमार्फत् थाहा पाएपछि यस्तो महामारीका बेलामा पनि कालोबजारी गरिरहेको संस्थाप्रति घृणा जागेर आइरहेको बताए ।
यस अघि नेपालगन्ज बजारको अनुगमन गर्दै वाणिज्य कार्यालयको अनुगमन टोलीले प्रमाणपत्र टाँस नगरेको र मास्कको अधिकतम् खुद्रा मूल्य नतोकेर बिक्री वितरण गरेको भन्दै कमला मेडिसिन, कमला इन्टरनेशनल र कृष्ण इन्टरनेशनलाई ५०/५० हजार रुपैयाँ जरिवाना तिराएको थियो भने थर्मल गनको वास्तविक मूल्य भन्दा अत्यधिक मूल्यमा बिक्री गरेको आरोप पनि कमला मेडिसिनमाथि लाग्दै आएको छ ।

हिल्सलाई दुई लाख रुपैयाँ जरिवाना

नेपालगन्जस्थित हिल्स मेडी सप्लायर्सलाई अनुगमन टोलीले दुई लाख रुपैयाँ जरिवाना तिराएको छ ।  अनुगमन टोलीका अनुसार नट फर सेल्स लेखिएको सेनिटाइजरलाई बढी मुनाफा लिई बिक्री वितरण गरेको पाइएपछि हिल्स मेडि सप्लायर्सलाई जरिवाना तिराइएको हो । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा २ को (न )अन्तर्गतको सोही ऐनको दफा ३९ को खण्ड (ख) अन्तर्गत न्यूनतम जरिवाना तिराइएको हो ।
अनुगमनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्ण पौडेल, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बसन्त गौतम, जिल्लाप्रहरी कार्यालय बाँकेकाप्रहरी निरीक्षक हृदेश सापकोटा, प्रनानी मणिराम लामिछाने, जिल्लाप्रशासन कायाल्यका बेदेश्वर गौतम औषधि व्यवस्था विभागका लोकेश गिरी, नेपालगन्जउपमहानगरपालिका स्वास्थ्य शाखाका गणेश कार्कीलगायतको सहभागिता थियो । त्यस्तै कमला मेडिसिनलाई सप्लाईवन्ली लेखिएको सेनिटाइजर अर्को आदेश नभएसम्मको लागि बिक्री नगर्न निर्देशन दिइएको छ । उपभोक्तालाईसोझै बिक्रीवितरण गर्न नपाउने ह्याण्ड सेनिटाइजर बिक्री गरेको भन्ने उजुरीका आधारमा अनुगमन भएकोमा बाँकी रहेका सेनिटाइजर बिक्री वितरण नगर्न आदेश दिँदै यसबारे थप अनुमगन भइरहेको अनुगमन टोलीले जनाएको छ ।

यो पनि पढ्नुहोस

३ हजार रुपैयाँको थर्मल गन १६ हजार रुपैयाँमा बेच्दै कमला मेडिसिन डिष्ट्रिब्यूटर्स

कमला मेडिसिनको फेरि अर्को बदमासी

Womui
Womui