३ हजार रुपैयाँको थर्मल गन १६ हजार रुपैयाँमा बेच्दै कमला मेडिसिन डिष्ट्रिब्यूटर्स

155

रमण ओली
नेपालगन्ज(बाँके), चैत ३०


नेपालगन्ज सुर्खेतरोडस्थित कमला मेडिसिन डिष्ट्रिब्यूटर्सले थर्मल गनमा कालोबजारी गर्दै आइरहेको पाइएको छ । ३ देखि ५  हजार रुपैयाँ पर्ने थर्मल गनलाई डिष्ट्रिब्यूटर्सले १६ हजार रुपैयाँमा बिक्री गर्दै आइरहेको हो ।
उपभोक्ताका अनुसार डिष्ट्रिब्यूटर्सले थर्मल गनको १० हजार रुपैयाँको बिल दिने भन्दै १६ हजार रुपैयाँ उपभोक्तासँग लिने गरेको छ । देशमा दिनप्रतिदिन फैलिँदै गएको कोरोना भाइरस निर्मुलीकरणका लागि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका एनजिओले उक्त डिष्ट्रिब्युटर्सबाट थर्मल गन लिँदै आएका छन् । डिष्ट्रिब्यूटर्सले थर्मल गनको अभाव देखाउँदै १० हजार रुपैयाँको बिल दिने भन्दै १६ हजार रुपैयाँ असुल्दै आइरहेको हो ।
भर्खरै दुई थान थर्मल गनलाई ३२ हजार रुपैयाँ हाल्न बाध्य एक उपभोक्ताले नाम नबताउने सर्तमा भने,‘ स्वास्थ्य क्षेत्रमा काम गर्दै आइरहेका छौं, कोरोना संक्रमितको पहिचान गर्न थर्मल गर्न अत्यावश्यक पर्छ । यस्तो अवस्थामा डिष्ट्रिब्यूटर्सले मौकाको फाइदा उठाउँदै १० हजार रुपैयाँको बिल दिने भन्दै १६ हजार रुपैयाँ लियो । १६ हजार रुपैयाँ तिरेकोमा १० हजार रुपैयाँको बिल कसरी लिनु ?, अब कुन शीर्षकमा हिसाब मिलाउने भन्ने तनाव भइरहेको छ ।’ उक्त उपभोक्ताका अनुसार थर्मल गन लिनु अगावै डिष्ट्रिब्यूटर्सले १० हजार रुपैयाँको बिल दिने भनेर सहमत भए मात्र थर्मल गन दिने गरेको छ ।
त्यस्तै, अन्तर्राष्ट्रियस्तरमै स्वास्थ्य क्षेत्रमा काम गर्दै आइरहेको प्रतिष्ठित एक संस्थालाई २२ थान थर्मल गन आवश्यक परे पनि लिन नसकेको दुखेसो पोखेको छ । डिष्ट्रिब्यूटर्सले १६ हजार रुपैयाँ लिए पनि १० हजार रुपैयाँको बिल मात्र दिने भनेपछि संस्थाको हिसाब मिलान गर्न कठिनाइ हुने भएकाले थर्मल गन लिन नसकेको हो ।
देश विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा स्वास्थ्य सामग्री राख्ने संस्थानै कालोबजारीमा संलग्न भएपछि कोरोना भाइरसबाट जनतालाई राहत दिनुको साटो केही संस्था जनतालाई त्रासमा बाच्न बाध्य बनाइरहेको उपभोक्ताले आरोप लगाएका छन् ।
यस अघि नेपालगन्ज बजारको अनुगमन गर्दै वाणिज्य कार्यालयको अनुगमन टोलीले प्रमाणपत्र टाँस नगरेको र मास्कको अधिकतम् खुद्रा मूल्य नतोकेको भन्दै कमला मेडिसिन, कमला इन्टरनेशनल र कृष्ण इन्टरनेशनलाई ५०/५० हजार रुपैयाँ जरिवाना तिराएको थियो भने कालोबजारी गरेको आरोपमा जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक सुलभ अग्रवाल प्रहरी हिरासतमा छन् । अग्रवाललाई ३ हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा पक्राउ गरिएका हो ।

Womui
Womui