कमला मेडिसिनको फेरि अर्को बदमासी

171

रमण ओली

नेपालगन्ज, वैशाख ३–

नेपालगन्ज सुर्खेतरोडस्थित कमला मेडिसिन डिष्ट्रिब्यूटर्सले कोरोना भाइरसले आक्रान्त बनेका जनतालाई बारम्बार ठगी गरेको पाइएको छ । माक्सकको अधिकतम् खुद्रा मूल्य नतोकेर बिक्री वितरण गर्नेदेखि थर्मल गनको वास्तविक मूल्य भन्दा अत्यधिक मूल्यमा बिक्री गर्नुका साथै हालै नेपाल सरकार मार्फत् कोरोना पीडित नेपाली जनताका लागि निःशुल्क सहयोग स्वरूप उपलब्ध ह्याण्ड सेनिटाइजरलाई अत्यधिक मूल्यमा बिक्री वितरण गर्दै ठगी गरेको पाइएको हो ।


एसआर नामक ड्रग कम्पनीले केही दिन अघि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग स्वरूप निःशुल्क उपलब्ध गराइएको ह्याण्ड सेनिटाइजर कमला मेडिसिन डिष्ट्रिब्यूटर्सले बिक्री वितरण गरेको पाइएपछि मंगलबार साँझ उक्त डिष्ट्रिब्यूटर्समा प्रहरीले छापा मारेर ५०० एमएलको एस आर केयर ह्याण्ड सेनिटाइजर बरामद गरेको छ । उक्त डिष्ट्रिब्यूटर्सले ६ सय रुपैयाँमा प्रति सिसी बिक्री गरेको पाइएको हो । निःशुल्क रुपमा पाइने ह्याण्ड सेनिटाइजर बिक्री वितरण गरेको पाइएपछि कमला मेडिसिन उपर  आवश्यक अनुसन्धान भइरहेको छ । सिसी बाहिर मूल्य नै नराखेर नटफर सेल्ससमेत लेखिएको एसआर केयर नामक ह्याण्ड सेनिटाइजर दीपेन्द्र अग्रवालद्वारा संचालित कमला मेडिसिन डिष्ट्रिब्यूटर्समार्फत बिक्री वितरण भएको पाइएको हो । संचालक दीपेन्द्र अग्रवालले भ्रष्टाचारीसँगको मिलेमतोमा नेपाली जनताको लागि निजी फर्मले सरकारलाई सहयोग उपलब्ध गराएको सेनिटाइजर बिक्री गरेको पाइएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उक्त सेनिटाइजरको लेवलसमेत छोपिएको र नटफर सेल्स लेखिएको तर प्रति शिशि ६ सय रुपैयाँका दरले बिक्री वितरण गरेको पाइएपछि मदन भण्डारी नामक व्यक्तिले उक्त शिशिको फोटोसमेत हाली सरोकारवाला निकायलाई हेलो सरकार र नेपाल प्रहरीको फेसबुकमा ध्यानआकर्षण गराएका थिए । उक्त मदन भण्डारीको पोस्टलाई सुरज गुरुङ नामक व्यक्तिले पनि स्रोतः मदन भण्डारी भन्दै उक्त कुरा फेसबुकमा पोस्टेका थिए ।
मदन भण्डारीले आफ्नो फेसबुक पेजमा पोष्ट गरेपछि तुरुन्तै प्रधानमन्त्री कार्यालयबाट प्रहरी प्रधान कार्यालयमा छानबिन गरि आवश्यक काम कार्बाहीको जानकारी गराउन निर्देशन दिइएको थियो । निर्देशन पाएलगत्तै वडा प्रहरी कार्यालय नेपालगन्ज, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख वीरबहादुर वलीसमेतको टोली उक्त कमला मिडिसिनमा पुगेर ह्याण्ड सेनिटाइजर बरामद गरेको हो ।।
यसरी महिन दिन नपुग्दै तीनवटा कालोबजारीको काण्ड मच्चाएका संचालक अग्रवालको मिलेमतो जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक सुलभ अग्रवालसँग पनि हुन सक्ने चर्चा जनमानसमा चल्न थालेको छ । अग्रवाललाई ३ हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा पक्राउ गरेर आवश्यक अनुसन्धान चलिरहेको छ ।

३ हजार रुपैयाँको थर्मल गन १६ हजार रुपैयाँमा बेच्दै कमला मेडिसिन डिष्ट्रिब्यूटर्स

Womui
Womui