जापानका विदेश राज्यमन्त्री नोबु आज नेपाल अाउने

91

काठमाडौं, भदौ १४-

जापानका विदेश राज्यमन्त्री नोबु किसाइ नेपालको तीनदिने औपचारिक भ्रमणमा आज राति काठमाडौं अाउँदैछन्।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवका अवसरमा यही भदौ १६ गते यहाँ आयोजना हुने विशेष समारोहमा भाग लिन उनी  आउन लागेका हुन्। नेपाल सरकार र यहाँस्थित जापानी राजदूतावासले संयुक्त रुपमा आयोजना गर्ने उक्त समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल र राज्यमन्त्री किसाइले सम्बोधन गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री दाहालसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ। यद्यपि त्यसको निक्र्योल भइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। ‘राज्यमन्त्री किसाइको शिष्टाचार भेटबारे हामीले सम्माननीय राष्ट्रपति र सम्मानीय प्रधानमन्त्रीज्यूको कार्यालयमा पत्राचार गरिसकेका छौँ तर समय निर्धारण भइसकेको छैन”, परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने।

उपप्रधानमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग पनि उनले शिष्टाचार भेट गर्नेछन्। राज्यमन्त्री किसाइले नेपाल सरकारका उच्चपदस्थ अधिकारीसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको यहाँस्थित जापानी राजदूतावासले जनाएको छ। रासस

 

Womui
Womui