‘क्षमतावान, योग्य र अनुभवी टिमलाई जिताउनुस्’

34

Preedip_Kumar_Gupa

उद्योगी, ब्यवसायीको हकहितका लागि विगत २१ बर्षदेखी नेपालगन्ज उद्योग बाणिज्य संघमा व्यवसायी प्रदिपकुमार गुप्ता सक्रिय रहदै आएका छन् । संघमा दुई कार्यकाल उप–महासचिव, तीन पटक कार्यसमिति सदस्य तथा प्रवक्तामा रहेर विभिन्न पदिय दायित्व निर्वाह गरेका गुप्ताको सहभागिता सामाजिक क्षेत्रमा पनि उत्तिकै छ । नेपालगन्ज उद्योग बाणिज्य संघको सबैभन्दा पुराना अनुभवी उम्मेदवारका रुपमा परिचित गुप्ता २०४५ सालदेखी ब्यापार ब्यवसायमा प्रवेश गरेका हुन्् । जब उनी आफ्ना पिताको डिलर व्यवसायबाट प्रभावित भए, त्यसपछि व्यवसायिक यात्रा थालनी गरे । यिनै प्रदिककुमार गुप्ता नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहबाट उपाध्यक्ष(उद्योग)को उम्मेदवार बनेका छन् । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानी :-

चुनाव त नजिक आइसक्यो, माहोल कस्तो छ ?

चुनाव निकै उत्साहपूर्वक चलिरहेको छ । विहानदेखि बेलुकासम्म हाम्रो टिम मतदाता भेटघाटमा व्यस्त भइरहेको छ । अधिकांश मतदातालाई भेटिसकेका छौं । नेपालगन्ज लगायत सुदूरपूर्वको कुसुसदेखि चिसापानी, बानियाभार सम्मका मतदातालाई पनि भेट गरिसकेका छौं । आजभोल भने नेपालगन्ज उपमहानगर क्षेत्रमै केन्द्रित भएर चुनावी अभियानमा छौं । सकारात्मक प्रतिक्रिया आइरहेको छ ।

तपाईको उम्मेदवारी किन ?

अर्थपूर्ण र महत्वपूर्ण ठानेरै मैले उद्योगतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ । अहिलेसम्म उद्योग उपाध्यक्ष भएपनि भूमिका बाणिज्यमा छरियो । म स्पष्ट भन्न चाहान्छु संघमा उद्योग उपाध्यक्ष बन्ने भनेको उद्योगीहरुकै समस्या, त्यस्को सम्बोधन र सम्भावनाको खोजी गर्ने हो । यहाँका उद्योगको मुख्य समस्या भनेको बिद्युत त भइहाल्यो । त्यो बाहेक दक्ष जनशक्तीकै अभाब हो । यस्तै कच्चा पर्दाथको अभावका कारण पनि यहाँका उद्योगहरुले ठूलो सकस खेप्नु परेको छ । त्यस्कारण यि मुद्दाहरुलाई उठान गर्नका लागि उद्योगीको तर्फबाट मैले प्रजातान्त्रिक समुहका तर्फबाट उम्मेदवारी दिएको हुँ ।

मतदाताले तपाईलाई किन भोट हाल्ने ?

म निकै सम्भावना बोकेको र आशातित मान्छे हुँ । म लामो समयदेखि नेपालगन्ज उद्योग बाणिज्य संघको नेतृत्व तहमै आउन चाहेको छु । किनभने जुनखालका समस्या यहाँका उद्योगी व्यवसायीले झेल्दै आएका छन् । त्यस्लाई सम्बोधन गर्नका लागि मतदाताले मलाई जिताउनु हुनेछ भन्ने लाग्छ । यो भन्दा अगाडी संघको सदस्य पदमा चुनाव लडे तर पदाधिकारीमा सफल हुन सकेन् । अब मलाई पक्कै मतदाताले मूल्याङ्कन गर्नुभएको होला भन्ने लागेको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा मधेशी समुदायका मतदाता धेरै हुनुहुन्छ, तपाई सहित केही उम्मेदवार मधेशी समुदायको प्रतिनिधीत्व गर्दै प्रजातान्त्रिक समुहका तर्फबाट चुनावी मैदानमा हुनुहुन्छ, कस्तो अपेक्षा गर्नु भएको छ ?

उद्योग वाणिज्य संघ भनेको सबै धर्म, जात, वर्ग समाहित भएको संस्था हो । यो संस्थामा सम्प्रदाय, वर्ण र धर्मको कुरा हुँदैन । म मधेशी समुदायको प्रतिनिधीत्व गरेपनि सबै व्यवसायी उद्योगीको हक हितका लागि आवाज उठाउनेछु । हालसम्म मैले यस क्षेत्रका उद्योगी व्यवसायीहरुको हकहितमा गरेको लगानी र संघमा यस अघिको कार्यकालमा प्रतिनिधित्व गरेका कारण र व्यवसायीक क्षेत्रमा मैले गरेको लगानीका सन्दर्भमा मतदाताले राम्ररी बुझ्नु भएको छ । मलाई विश्वास छ, मधेशी समुदायको मात्रै होइन् म लगायत मेरो टिमलाई सबै मतदाताको समर्थन मिल्नेछ ।

निर्वाचनमा तपाईको समूह निर्वाचित भएको खण्डमा के–के कुराहरुलाई प्राथमिकता दिनुहुनेछ ?

सर्वप्रथम त मैले उद्योगको प्रतिनिधित्व गर्ने भएकाले यहाँका उद्योगहरुको सबैभन्दा ठुलो समस्या विद्युत आपूर्तीको समस्या समाधानतिर पहल गर्नेछु । उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ भित्र्याउँदा विशेष गरी भन्सार र सीमा क्षेत्रमा देखिने झन्झटिलो प्रक्रियालाई सहज बनाउन विशेष पहल थाल्ने प्रतिवद्वता व्यक्त गर्दछु । उद्योगी व्यवसायीले सरकारको ठोस नीति नभएकाले व्यर्होनुको कानुनी समस्याका बारेमा पनि समाधानका विशेष प्रयास गरिनेछ ।

निर्वाचन आउन अब धेरै दिन छैन, तपाईको समुहले चुनावी गतिविधीलाई तिव्रता दिइरहेका बेला अहिले सम्म कस्तो प्रतिक्रिया आइरहेको छ ?

विभिन्न क्षेत्रहरुबाट क्षेत्रगत र बस्तुगत व्यवसायीको समिश्रण भएको सबैभन्दा बलियो टिम नै हाम्रो हो । सम्पूर्ण प्रजातन्त्रमा आस्था र विचार राख्ने प्रजातान्त्रिक मतदाताको समर्थन त शतप्रतिशत नै हामीहरुलाई छ । यसभन्दा फरक आस्था विचारका मतदाताहरु दिनप्रतिदिन हामीप्रति आकर्षित हुँदै गइरहेको अवस्था छ । हामीहरु घरदैलोमा पुग्दा मतदाताहरुले मतदाताहरुले गरेको स्वागत र सद्भावले पनि हाम्रो अवस्थालाई उजागर गरेको छ । यसबाट हाम्रो टिम अत्यधिक मतले विजयी हुने लगभग निश्चित भइसकेको छ ।

अन्त्यमा, आम मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?

जातिगत, क्षेत्रगत, धर्म र सम्प्रदायको पछि नलागेर संघमा क्षमतावान टिम, योग्य र अनुभवी टिमको पहिचान गरेर वास्तविक रुपमा व्यवसायीहरुको हक हितमा काम गर्ने समूहलाई निर्वाचनमा मतदान गर्न अनुरोध गर्दछु ।

Womui
Womui