‘चुनौतीलाई चिर्दै उद्योग व्यवसाय फस्टाउने वातावरण सिर्जना गर्छौं’

167

कूल २९२५ मतदाता सङ्ख्या रहेकाे वाणिज्य स‌ंघको निर्वाचन भदौ ११ गते (तेस्रो दिनमा) हुँदै छ । निर्वाचनमा वाणिज्य संघमा नेतृत्व गर्नका निम्ति तीनवटा प्यानल दलगत रुपमा खडा भएका छन् । एकातर्फ उद्योग व्यवसायमा राजनीतिकरण हुनु हुँदैन भन्ने तर्क गर्ने व्यवसायी, आम जनता छन् भने अर्कोतर्फ नेपाली कांग्रेसले मधेसी मोर्चालाई साथमा लिएर प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह बनाएको छ । यस्तै नेकपा एमालेले समावेशी साझा समूह र नेकपा (माओवादी)को समर्थनमा समावेशी समूह चुनावी मैदानमा रहेको छ । उद्योग वाणिज्य संघमा राजनीतिक हाबी भएको प्रत्यक्ष देख्न सकिन्छ । उद्योग वाणिज्य संघमा राजनीतिक छिरेकै हो त ? अहिले आम चर्चाको विषय बनेको छ । यी र निर्वाचन सम्बन्धी विभिन्न खाले खुल्दुली बोकेका व्यवसायी, आम जनताको अभिलाषा मेट्न छिनछिन खबरले तीनवटै प्यानलका अध्यक्षको भाव बुझ्ने प्रयत्न गरेको छ । निर्वाचनको सन्दर्भमा समावेशी साझा समूहका तर्फबाट अध्यक्ष पदका उम्मेदवार कपिलप्रसाद अधिकारीसँग छिनछिन खबरका लागि रमण ओली  र अनिल केसीले गरेको कुराकानी ।

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिनुको कारण ?

उम्मेदवारी दिनुको कारण म यस संघमा चरणबद्ध रुपमा पहिले कार्य समिति सदस्य, त्यसपछि वरिष्ठ उपाध्यक्ष र कार्यसमितिको वरिष्ठ सदस्य र उद्योगतर्फको उपाध्यक्षमा निर्वाचित भएर अहिले उक्त पदभार सम्हालिरहेको छु । उद्योग वाणिज्य संघको संस्थागत गरिमालाई स्थापित गर्दै उद्योगी व्यवसायीको हकहित संरक्षण गर्न, व्यवसायिक एकता कायम गर्न र यस सुन्दर नगरी नेपालगन्जमा जुन गतिले उद्योग व्यवसाय फस्टाउनु पर्ने त्यो हुन नसकिरहेकोले उद्योग व्यवसायलाई उकास्नका निम्ति यहाँ रहेका विभिन्न चुनौतीलाई चिर्दै उद्योग व्यवसाय फस्टाउने वातावरण सिर्जना गरी व्यवसायीलाई उत्साह प्रदान गर्ने उद्देश्यले नै मैले उम्मेदवारी दिएको हुँ । साथै रोलक्रम अनुसार पनि म नै अध्यक्ष पदको लागि सक्षम छु भन्ने अनुरोध गर्न चाहन्छु ।

DSC07635

new

अध्यक्ष पदमा उम्मेदवारी त दिनु भयो तर तपाईं नेपालगन्जमा त्यति बस्नु हुँदैन । यस अवस्थामा कसरी तपाईंले व्यवसायीको हकहितमा आवाज उठाउन सक्नु हुन्छ ?

प्रश्नको लागि धन्यवाद । अहिले दुई पक्षीय साथीहरुले मेरो लोकप्रियता र दक्षताबाट तर्सिएर उहाँहरुले अरु कुनै इस्यु नपाएपछि यो बिना तुकको इस्यु उठाएर मलाई कमजोर पार्न खोज्नु भएको हो । म विगतमा नेपाल वन पैदावार उद्योगी व्यसायी महासंघको राष्ट्रिय अध्यक्ष रहेकाले उक्त जिम्मेवारी पनि पूरा गर्नु पर्ने हुँदा केही समय नेपालगन्ज बाहिर आउने जाने क्रम भएको थियो । त्यसो हुँदा हुँदै पनि उद्योग वाणिज्य संघको जिम्मेवारी पनि पूरा गर्दै आएको थिएँ । म भन्दा अघिका उम्मेदवार झैं मैले पनि आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरेको छु भन्ने मलाई विश्वास छ । म नेपालगन्जमै बस्ने उद्देश्यले नेपाल वन पैदावार उद्योगी व्यवसायी महासंघको जिम्मेवारीबाट राजीनामा दिएर आएको हुनाले अब मेरो कर्मथलो र बसाइँ नेपालगन्जमै हुने जानकारी गराउन चाहन्छु ।

तपाईको प्यानल बारे भन्नुपर्दा ?

समावेशी साझा समूहको विशेषता भनेको हाम्रो समूहमा भएका उम्मेदवारहरुले पहिलेदेखिनै संघमा नेतृत्व गर्दै आएका छन् । अर्थात् हामीहरुमा अनुभव र जिम्मेवारीवहन गर्न सक्ने क्षमता छ । साथै यस क्षेत्रमा व्यवसाय गर्ने साना ठूला मझौला सबैखाले उद्यमी व्यवसायीको संलग्नता हाम्रो प्यानलमा छ । यहाँका महिला, आदिवासी, मुस्लिम सबै समुदायलाई नेतृत्व तहमा अगाडि बढाएका छौं । सबै समावेशी ढंगले हुनुहुन्छ । त्यसैले यो सबैको साझा समावेशी समूह हो । र यसको विशेषता भनेको नेतृत्व दिन सक्ने योग्य क्षमता भएको टिम हो ।

यस क्षेत्रका उद्योगी व्यवसायीका के कस्ता समस्या छन् ? र त्यसलाई कसरी समाधान गर्ने योजना बनाउनु भएको छ ?

उद्योगी व्यवसायीका समस्या यस क्षेत्रमा थुप्रै छन् । नेपालगन्ज सीमा बजार क्षेत्र भएकाले भन्सारसँग रहेका समस्या उद्योगी व्यवसायीले झेल्दै आइरहनु परेको छ । जुन यस क्षेत्रको मात्र नभई सीमा बजारसँग जोडिएका सबै ठाउँका समस्या हुन् । विद्युत अनियमितता, उर्जा संकट जस्ता कुराले उद्योगी व्यवसायीलाई सबैभन्दा बढी सताएको छ । आम नागरिकले पनि समस्या झेल्नु परिरहेको छ । उद्योगमा नियमित लोड सेडिङ तालिका नहुँदा उत्पादन लागतमा वृद्धि हुने प्रतिस्पर्धा क्षमतामा ह्रास हुँदै गइरहेको समस्या हामी कहाँ विद्यमान छन् । त्यस्तै मुख्य बजारमा ढल निकासको राम्रो व्यवस्था नुहुन, बाटोघाटो जीर्ण हुँदा हाम्रा उपभोक्ता सामान खरिद गर्न आउँदा भवितव्य दुर्घटना निम्तने हो कि भन्ने डर त्रासमा हुन्छन् । त्यस्तै नगर क्षेत्रमा सरसफाइको समस्या पनि विद्यमान छ ।

code 2

DSC07630

तपाईंको प्यानलले केही समय अघि घोषणा पत्र जारी गर्‍यो । घोषणा पत्रमा उल्लिखित प्रतिबद्धतालाई पूरा गर्नु हुन्छ भन्ने के ग्यारेन्टी छ ?

निश्चय नै हामीले जारी गरेको प्रतिबद्धता हामीले गर्न सक्ने भएर नै राखेका छौं । र, त्यसलाई हामीले निर्वाचन जितेर पुग्यौ भने अवश्य नै पूरा गर्ने छौं । त्यसमा उद्योग वाणिज्य संघले एक्लै गर्न सक्ने प्रतिबद्धता छन् । हामीले स्थानीय निकाय, स्थानीय संयन्त्र र हाम्रो एफएनसीसीआई छाता संगठन, नेपाल उद्योग वाणिज्य महासंघलगायत राजनीतिक दलसँग सहकार्य गरेर हामीले घोषणा गरेका प्रतिबद्धतालाई हामी नेतृत्व वर्गमा पुगेपछि क्रमबद्ध रुपले पूरा गर्छौ भन्ने हाम्रो प्यानलको विश्वास छ ।

व्यवसायिक हकहितका लागि भइरहेको निर्वाचनमा राजनीति हस्तक्षेप भयो भन्ने छ, यसबारे के भन्न चाहनु हुन्छ साथै निर्वाचनपश्चात् पनि राजनीतिक हस्तक्षेप कायमै रहने हो कि ?

निश्चय नै व्यवसायिक निर्वाचनमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन । र त्यसको पक्षमा हामी छैनौ । त्यसो भन्दैमा राजनीतिक चासो नै नभएको भन्ने विषय होइन । केही बुँदामा केही सवाललाई हामीले सम्पूर्ण राजनीतिक दलसँग समान ढंगले व्यवहार गर्दै उहाँहरूसँग सहकार्य गर्दै अगाडि बढ्नु पर्ने हाम्रा इस्यु र मुद्दा पनि हुन्छन् । ती इस्यु र मुद्दा पूरा गर्नका निम्ति राजनीतिक दलको साथ लिनु पर्ने आवश्यकता हुन्छ भने स्वभाविक रुपमा जुनसुकै निर्वाचनमा राजनीतिक दलले चासो लिने भएकाले त्यसलाई अन्यथा लिनु चाहिँ हुँदैन । तर त्यो भन्दैमा राजनीतिक दलकै हस्तक्षेप हुनु पर्छ भन्ने पक्षमा म छैन र राजनीतिक दलले उद्योग वाणिज्य संघमा चाहिने भन्दा बढी चासो र हस्तक्षेप गर्नु हुँदैन । निर्वाचन भन्दा अगाडिसम्म आफूले चाहेको टिमलाई जिताउनका निम्ति सबै समुदाय र राजनीतिक दलहरुको एउटा चासोको विषय भए पनि जोकोही उम्मेदवार त्यहाँ अध्यक्ष पदमा निर्वाचित भएर गएपछि ऊ जुनसुकै विचार धारा राख्ने, जुनसुकै दलको भए पनि त्यहाँ पुगेपछि ऊ स्वतन्त्र, साझा भएर नेतृत्व गर्न जरुरी छ । यदि म निर्वाचित भएर गएपछि त्यो कार्यसमिति र उद्योग वाणिज्यसँगमा राजनीतिक दलको हस्तक्षेप हुन दिने छैन ।

DSC07633

code 3

मतदाताले तपाईंको प्यानललाई नै किन भोट दिने ?

निश्चय नै आदरणीय उद्योगी व्यवसायीलाई म के अनुरोध गर्न चाहन्छु भने चुनावी मैदानमा उत्रिनु भएका अन्य उम्मेदवार भन्दा अनुभवको हिसाबले क्षमताको हिसाब र निरन्तरताको हिसाबले म अगाडि छु भन्ने विश्वास छ । जसरी विगतमा यस क्षेत्रमा आदरणीय उद्योगी, व्यवसायी अन्य सरोकारवाला पक्षले जुन माया प्रकट गर्दै आउनु भएको छ त्यो निरन्तर रहने छ भन्ने आशा लिएको छु । हाम्रो टिममा लामो समयदेखि उद्योग वाणिज्य संघमा जिम्मेवारी निर्वाह गरिसकेका वाणिज्य तर्फका उपाध्यक्ष तनविर जमिल हल्वाइ जीको उम्मेदवारी छ । त्यस्तै महिलाबाट नेतृत्व गर्दै श्रीमती रचना श्रेष्ठ जी उपमहासचिवको जिम्मेवारी पूरा गरेर तीज महोत्सव जस्ता कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गर्नु भयो उहाँ अहिले उद्योगतर्फको उम्मेदवारमा उठ्नु भएको छ । हामीले सम्पन्न गरेको तीज महोत्सव जस्ता कार्यक्रमको सिको अहिले अन्य उद्योग वाणिज्य संघले पनि गर्दै आएका छन् । त्यस्तै हाम्रो टिममा व्यवसायिक क्षेत्र र समाजिक क्षेत्रमा प्रतिष्ठा कमाएका उम्मेवार भएका हुनाले हामीलाई के विश्वास छ भने यो टिम आयो भने उद्योगी व्यवसायीलाई उद्योग वाणिज्य संघ हाम्रो छहारी संस्था हो र उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीलाई नेतृत्व प्रदान ग¥यो भन्न सक्ने हाम्रो टिम भएकाले हाम्रो टिमलाई जिताइदिनु हुन यस क्षेत्रका सम्पूर्ण आदरणीय उद्योगी व्यवसायीलाई हार्दिक अनुरोध गर्दछु ।

विगतमा व्यवसायिक हकहितका केही कदम चाल्नु भएको छ ?

विगतदेखि नै म कार्यसमितिमा रहँदै आएको छु । सुरुमा म कार्यसमितिको सदस्यमा निर्वाचित भएको थिएँ । र प्रवक्ताको रुपमा पहिलो कार्यकाल सम्पन्न गरेको थिएँ । जुन तपाईंले विभिन्न ठाउँमा सीमा बजार क्षेत्रसँग सम्बन्धित होर्डिङ देख्नु हुन्छ त्यतिबेला मेरै सक्रियतामा होर्डिङ बोर्डमा लेखिएका शब्दसमेत आफैंले संकलन गरेर बनाएको थिएँ । स्वदेशमै किनमेल गरौं भनी उपभोक्तामा जनचेतना फैलाउने काम गरेको थिएँ । त्यसपछि उपाध्यक्ष र वरिष्ठ कार्यसमिति सदस्यको रुपमा मैले निर्वाह गरेको भूमिका र अहिले उद्योगतर्फको उपाध्यक्षको रुपमा निर्वाचित प्रथम उपाध्यक्षको रुपमा रहँदा सधैँ उद्योगी व्यवसायीको हितमा नै काम गरेको छु ।

मतदाताबाट पाइरहनु भएको प्रतिक्रिया कस्तो छ ?

घरदैलो कार्यक्रमक्रम अन्तर्गत मतदातासम्म पुग्ने क्रममा सकारात्मक कुरा आएका छन् । हार्दिक रुपमा स्वागत गर्नु भएको छ । तपाईहरुको टिम वास्तवमा समावेशी र साझा छ भन्नु भएको छ जहाँ आदिवासी, मुस्लिम र महिलालाई साथमा लिएर आउनु भएको छ र तपाईंको टिममा अनुभवी, जोसजागर, जझारुपन भएका उम्मेदवार भएको हुँदा तपाईहरुमा कुशल नेतृत्व प्रदान गर्ने क्षमता भएकाले हामी साथ दिन्छौं भन्ने मतदाताको प्रतिक्रिया छ ।

निर्वाचन मतपरिणामपछिको सफलतापश्चात् सबै व्यवसायीलाई कसरी समेट्ने योजना छ ?

धन्यवाद, निकै राम्रो प्रश्न गर्नु भयो । निर्वाचनको परिणाम र सफलता पश्चात मसँग थुप्रै योजना र एजेन्डा छन् । उद्योग वाणिज्य संघ हामी साना, मझौला, ठूला सबैको छहारी हो, साझा हो भन्ने कुराको प्रत्याभूति दिलाउनका निम्ति नै मेरो उम्मेदवारी हो भन्न चाहन्छु । साथै निर्वाचनम होमिएका उम्मेदवार, उद्योग वाणिज्य संघका अध्यक्ष, अग्रजहरुको राय सल्लाह सुझाव लिएर यस क्षेत्रका हाम्रा आदरणीय उद्यमी व्यवसायीको राय सल्लाह लिएर हामी भोलिका दिनमा अगाडि बढ्ने छौं । र म के अनुरोध गर्न चाहन्छु भने म उद्योग वाणिज्य संघमा तीन कार्यकालसम्म लगातार पुगिसके तर कार्यसमिति निर्वाचित भएर आइसकेपछि दीर्घकालीन सोच र रणनीतिक कार्यक्रम तयार नगरी कार्यक्रमहरु तय गर्छौ । तर त्यस ढंगले जानु हुँदैन भन्ने मेरो मान्यता छ । हाम्रो टिम संघमा निर्वाचित भएर आयो भने यसलाई हामी लागू गर्ने छौं जसका लागि हामी वाणिज्य संघलाई उद्योगी व्यसवायीको साझा कसरी बनाउन सकिन्छ भनेर हामी अन्तक्र्रिया गर्छौ, छलफल गर्छौ र यस सम्बन्धी विज्ञलाई बोलाएर उद्योगी व्यवसायीको हितमा काम गर्ने योजना बनाएको छु ।

अन्त्यमा पहिलेका कार्यकालमा उद्योग वाणिज्य संघप्रति व्यवसायीको वितृष्णा छ भन्ने छ नि ?

उद्योग वाणिज्य संघप्रति व्यवसायीको वितृष्णा छ भन्ने पक्षमा म छैन । किनभने हामी कहाँ गत निर्वाचनमा १८ सयको हाराहारीमा सदस्य थियौं तर अहिले ३ हजारको हाराहारीमा छौं । यसले पनि के देखाउँछ भने संघप्रति व्यवसायीको वितृष्णा नभई आकर्षण छ भन्ने पुष्टि गर्छ । तर उद्योगी व्यवसायीले आशा गरे जति काम गर्न नसकेको कुरा चाहिँ केही हदसम्म हो । विगतमा वाणिज्य संघ उद्योगी व्यवसायीको मात्रै समस्याहरुमा केन्द्रित हुनु पर्नेमा बीचमा आएर संघले सामाजिक काममा पनि समय दिनु पर्ने भएकोले केही व्यवसायीमा निराशा छाएको हुन सक्छ । निराशै छायो आकर्षण नै घट्यो भन्ने विषय चाहिँ होइन तर यसलाई व्यवस्थित गर्न हामीले जरुरी छ । विगतमा २ दशकदेखि स्थानीय निर्वाचन नभएको अवस्थामा उद्योगी व्यवसायीको हकहित उपभोक्ताको हकहित विकास निर्माणका कुरामा त्यत्तिकै ध्यान दिनु पर्ने भएकोले वर्तमान अध्यक्षदेखि पूर्व अध्यक्षहरु उद्योगी व्यवसायीका हकहितका लागि अघि बढ्न केही कमी भएको हुन सक्छ । भोलिका दिनमा क्रमश स्थानीय निर्वाचन पनि हुँदैछ । त्यसैले सबैभन्दा बढी समय उद्योगी व्यवसायीका हकहितमा संस्थाकै गरिमा कायम गर्नको निम्ति लाग्ने छौं भन्ने अनुरोध गर्न चाहन्छु ।

Womui
Womui