‘बैश्यलाई राष्ट्रिय व्यापार संगठनको समर्थन’

179

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन

नेपालगन्ज, भदौ २–
नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले व्यवसायी नन्दलाल बैश्य नेतृत्वको समावेशी प्यानललाई दिएको समर्थन फिर्ता लिएको समाचार सार्वजनिक भएपछि आरोप प्रत्यारोप सुरु भएको छ । संगठनका अध्यक्ष वसन्त लामिछाने र महासचिव विष्णु खनालले संयुक्त रुपमा बिहीबार विज्ञप्ती प्रकाशित गरेर आफ्नो संस्थाको पुर्ण समर्थन समावेशी प्यानललाई नै भएको प्रष्ट पारेका हुन् । सुरु देखि नै संगठन समावेशी प्यालनको पक्षमा रहेको उनीहरुको जिकिर छ ।

राष्टिय व्यापार संगठनले निकालेको विज्ञप्ती ।
राष्टिय व्यापार संगठनले निकालेको विज्ञप्ती ।

संगठनका नाममा पछिल्लो विभिन्न पत्र पत्रिका तथा सामाजिक सञ्जालमा भ्रामक समाचार प्रकाशित भएको भन्दै संगठनले खेद व्यक्त गर्नुका साथै घोर भत्सर्ना गरेको छ । यसअघि बुधबार संगठनका जिल्ला उपाध्यक्ष एवम् केन्द्रिय सदस्य, जिल्ला कार्यसमिति सदस्य एवम् प्रवक्ताले पत्रकार सम्मेलन गरेर बैश्य नेतृत्वको समावेशी प्यानललाई सहयोग नगर्ने निर्णय संगठनको बहुमत कार्यसमिति बैठकले गरेको दाबी गरेका थिए । संगठनका अध्यक्ष लामिछाने र महासचिव खनालले जारी गरेको उक्त विज्ञप्तीमा संगठनको विधि र पद्धतिभन्दा बाहिर गएर अराजकता फैलाउन खोजेको भन्दै केही ब्यक्तिलाई कारबाही गरिएको जनाइएको छ ।

तर, कारबाही गरिएको भनिएका व्यक्तिको नाम भने कतै उल्लेख छैन । ‘अराजक र आधिकारीता बिना अभिब्यक्ति दिने, कथित गठवन्धनको नामको अभिव्यक्ति दिने, कथित पद र काल्पनिक कुरा गर्दै हिड्ने र संगठनभित्र रहेर संगठनको अनुशासन विपरित हिड्ने एकाध ब्यक्तिलाई संगठनले यसै विज्ञप्ती मार्फत कारबाही गरेको जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तीमा भनिएको छ, ‘तसर्थ यस संगठनको तर्फबाट पुर्ण रुपमा नन्दलाल बैश्यले नेतृत्व गरेको समावेशी प्यानललाई समर्थन गर्ने जिल्ला कार्यसमितिको पुर्ण बैठकले सर्वसम्मत निर्णय गरेको कुरा स्पष्ट पार्न चाहन्छौं ।’

आगामी दिनमा संगठनको विधी र पद्धति भन्दा बाहिर गएर अराजकता फैलाउन खोज्ने जो कोही पनि सजायको भागिदार हुनुपर्ने उल्लेख गर्दै नन्दलाल बैश्यले नेतृत्व गरेको समावेशी प्यानलका सम्पुर्ण उम्मेदवारहरुलाई विजय गराउनका लागि संगठनमा आवद्ध नगर कमिटीहरु, जिल्ला कमिटी र सम्पुर्ण साधारण सदस्य सबैलाई केन्द्रित रहन संगठनले अपिल पनि गरेको छ । यसैबीच समावेशी प्यानलले आफ्नो प्रचार–प्रसारलाई बिहीबार पनि तिव्रता दिएको जनाएको छ । उम्मेदवारले विपी चोक, भृृकृटीनगर, कोरियनपुर लगायतका व्यवसायीहरुसँग भेटघाट गरेको हो ।

Womui
Womui