उद्योग वाणिज्य संघमा आज उम्मेदवारी दर्ता गरिदै

71

नेपालगन्ज, भदौ १–
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि बुधबार(आज) उम्मेदवारी दर्ता गरिदैछ । निर्वाचन कार्यालयले बुधबार बिहान १० देखि अपरान्ह ४ बजे सम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ । निर्वाचन प्रमुख वरिष्ठ अधिवक्ता भोलासिंह हमालले अध्यक्ष सहित दुई उपाध्यक्ष र १२ जना सदस्य पदका लागि उम्मेदवारी दर्ता गरिने जानकारी दिए । अध्यक्ष पदका लागि उम्मेदवारी शुल्क ३ हजार १ सय १, उपाध्यक्षका लागि २ हजार ५ सय र सदस्यका लागि २१ सय रुपैयाँ विधानमै तोकिएको छ ।

Gopal-Kapil-Nanda Lal Ummedawar

निर्वाचनका लागि तीन वटा प्यानल खडा भएका छन, भने केही स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । उम्मेदवारी दर्ता गराउनेको भिडले नेपालगन्ज उद्योग वाणिज्य संघ परिसरमा बुधबार विशेष चहल पहल देखिनेछ । चुनावी प्रतिस्पर्धामा रहेका सबैले आ–आफ्नो समुह बनाएर उम्मेदवारी दर्ता गर्ने भएका छन् । अघिल्लो पटक झिनो मतले पराजित भएका नन्दलाल बैश्यले समावेशी समुहका तर्फबाट उम्मेदवारी दर्ता गराउँदैछन् । मधेसी मोर्चाको साथ पाएको प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका तर्फबाट गोपालप्रसाद अधिकारी र समावेशी साझा समुहका तर्फबाट कपिलप्रसाद अधिकारीले तामझामका साथ उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् ।

आफ्नो समुह दलबलका साथ उद्योग वाणिज्य संघमा उम्मेदवारी दर्ता गराउन जाने तयारी गरेको अध्यक्ष पदका उम्मेदवार कपिलप्रसाद अधिकारीले बताएका छन् । प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले उम्मेदवारी दर्ताका क्रममा अग्रज उद्योगी व्यवसायी, नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्षहरु, पुर्व पदाधिकारी, आफु निकट उद्योगी, व्यवसायी तथा चुनावी एकता गरेको मधेसी मोर्चामा आवद्ध व्यवसायीको उल्लेख्य मात्रामा सहभागिता गराउने तयारी गरेको छ । दिउँसो २ बजे न्यूरोडस्थित सचिवालयबाट जुलुस सहित पुगेर उम्मेदवारी दर्ता गराउने तयारी भएको अध्यक्षका उम्मेदवार गोपालप्रसाद अधिकारीले जानकारी दिए ।

यस्तै नन्दलाल बैश्य नेतृत्वको समावेशी समुहले उम्मेदवारी दर्ताका क्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष दामोदर आचार्य सहित चर्चित उद्योगी, व्यवसायीको उपस्थिती गराउने तयारी गरेको छ । उम्मेदवारी दर्ताको शुभ साइत हेरेर निर्वाचन कार्यालय प्रस्थान गरिने अध्यक्षका उम्मेदवार बैश्यले जानकारी दिए । यसैगरी संघको सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका युवा व्यवसायी तेजनारायण कडेंलले पनि आफ्ना समर्थितसँग पुगेर दर्ता गर्ने तयारी गरेका छन् । संघको यसपटकको निर्वाचनमा २ हजार ९ सय २५ मतदाताले मतदान गर्न पाउने भएका छन् । निर्वाचन कार्यालयले मतदाता नामावलीको सुची एक साता अघि नै प्रकाशित गरिसकेको छ । उम्मेदवारी दर्ता सम्पन्न भइसकेपछि बुधबार बेलुका नै उम्मेदवारको नामावली प्रकाशित गरिने निर्वाचन प्रमुख हमालले जानकारी दिए ।

Womui
Womui