प्रजातान्त्रिक समुहको पक्षमा महिला उद्यमी

147

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन

नेपालगन्ज, साउन ३०–
नेपालगन्ज उद्योग वाणिज्य संघ आसन्न निर्वाचनका लागि प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहलाई विजयी गराउन महिला उद्यमी पनि सक्रिय भएका छन् । नेपालगन्जमा आइतबार सम्पन्न महिला उद्यमीको भेलाले घरदैलोमा पुगेर भिन्दै किसिमले प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका उम्मेदवारको व्यक्तित्वका बारेमा प्रत्येक मतदातालाई जागरुक बनाउने निर्णय गरेको हो । नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व कार्यसमिति सदस्य एवम् अग्रज महिला उद्यमी माया गुरुङको नेतृत्वमा सम्पुर्ण महिला उद्यमीहरु प्रचार–प्रसारमा पुग्नेछन् ।

Mahila Udhami

प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहमा यसक्षेत्रका प्रतिष्ठित व्यवसायी एवम् समाजसेवी गोपालप्रसाद अधिकारी अध्यक्षको उम्मेदवार रहेका छन् । यस्तै उपाध्यक्षतर्फ चर्चित व्यवसायी प्रदिपकुमार गुप्ता (उद्योग) र बहुआयामिक व्यक्तित्व एवम् व्यवसायी अमित बस्नेत वाणिज्यतर्फको उपाध्यक्षको उम्मेदवार छन् । यसैगरी सदस्य पदको उम्मेदवारमा हरिषचन्द्र श्रेष्ठ, धु्रबप्रसाद दहाल, शालिक सुवेदी, शंकरकुमार थापा, टेकबहादुर खड्का, सरोवर प्रसाई, तपेन्द्र विक्रम शाह, रोहित टण्डन, फरीदुल हक, सफिक बेहना, सुनिल सिंघल र दुर्गेश गुप्ता चुनावी मैदानमा रहेका छन् । यिनै उम्मेदवारको व्यक्तित्व र योगदानको विषयमा मतदातालाई प्रष्ट रुपमा बुझाउन महिला उद्यमीले छुट्टै घरदैलो अभियान सुरु गर्ने निर्णय गरेको संघका पुर्व कार्यसमिति सदस्य माया गुरुङले बताईन् । ‘प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका सम्पुर्ण उम्मेदवारलाई विजयी गराउन महिला उद्यमीहरु एकै ठाउँमा उभिएका छौं,’ उनले भनिन् ‘प्रजातन्त्र र लोकतन्त्रमा मात्र सबैका अधिकार सुरक्षित हुन्छन, त्यसकारण महिला उद्यमी र व्यवसायीको हक अधिकार रक्षा गर्नकै लागि प्रजातान्त्रिक प्यानललाई विजयी गराउन आवश्यक छ ।’

प्रजातान्त्रिक समुहमा महिला उम्मेदवार नभएको प्रसंगमा प्रष्ट्याउँदै उनले भनिन्, ‘प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले चुनावका लागि महिलालाई उम्मेदवार बनाउन चाहेकै थियो, तर स्वयं हामीले नै उम्मेदवार नभएरै महिला उद्यमीको हकहितमा काम गर्न खोजेका हौं ।’ बामपन्थी विचार बोक्ने समुहले बाहिरी रुपमा महिलालाई अगाडी सार्ने तर महिलालाई अधिकारबाट कुण्ठित गर्ने नेपालगन्जका महिला उद्यमीहरुको जोड छ । संघको निर्वाचनमा महिला उद्यमीले गर्ने घरदैलो कार्यक्रमलाई महिला संघ बाँकेले पनि सहयोग गर्ने भएको छ । महिला संघ बाँकेकी सभापति नारायणी रुपाखेतीले महिला उद्यमीको अभियानलाई महिला संघले साथ दिने बताईन् । ‘प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहको प्रचारमा जुट्ने महिला उद्यमीलाई हामीले पनि सँगै साथ दिन्छौं,’ उनले भनिन् । घरदैलो अभियानमा सोमबारबाट सशक्त रुपमा लाग्ने रुपाखेतीले जानकारी दिईन् । यसैबीच चुनावका लागि घरदैलोमा सक्रिय रहेको प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले आइतबार नेपालगन्जको पुरैनी, फुलटेक्रा, गौसिया टोल, त्रिवेणी मोड, डिएसपी रोड लगायत क्षेत्रमा मतदातालाई भेटघाट गरेको छ ।

घरदैलोमा पुग्दा मतदाताहरु निकै उत्साहित भएको अध्यक्षका उम्मेदवार गोपालप्रसाद अधिकारीले बताए । ‘हामी जति घर र पसलमा मत माग्न गयौं, सबै मतदाताहरु सकारात्मक हुनुहुन्छ,’ उनले भने । मतदाताले प्यानलगत रुपमा प्रजातान्त्रिक समुहलाई भोट दिने प्रतिवद्धता जनाएका छन् । उक्त टोलीलाई आइतबार बिहान पुरैनीका समाजसेवी एवम् अग्रज व्यक्ति राजकुमार बर्मा लगायत उद्योगी, व्यवसायीले स्वागत गरेका थिए । पुरैनी, पुरैना, फुलटेक्रा क्षेत्रमा बर्माको प्रभाव छ । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा आफ्नो क्षेत्रबाट प्रजातान्त्रिक प्यानलले पुुरै मत पाउने बर्माले बताए । घरदैलोका क्रममा मतदाताहरु निकै सकारात्मक रहेको सदस्य पदका उम्मेदवार धु्रबप्रसाद दहालले बताए । ‘अहिले सम्म जहाँ–जहाँ घरदैलोमा पुगेका छौं, त्यहाँका मतदाता हाम्रो प्यानलप्रति धेरै सकारात्मक हुनुहुन्छ,’ उनले भने ।

Womui
Womui