सदभाव कायम गर्न पत्रकारको भूमिका महत्वपुर्ण

37

नेपालगन्ज, साउन २९–
सामाजिक र धार्मिक सदभाव कायम गर्नमा पत्रकारको भूमिका अत्यन्तै महत्वपूर्ण हुने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपालगन्ज बहुधार्मीक, बहुसाँस्कृतिक, बहुसामाजिक, बहुजातिय समुदायको बसोबास क्षेत्र रहेकाले कुनैपनि समयमा सञ्चारको गलत प्रयोगबाट धार्मिक तथा सामाजिक दंगा फैलिन सक्ने भएकाले सामाजिक र धार्मिक सद्भाव कायम राख्नका लागि सञ्चार र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने सहभागीको भनाई छ ।

नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा शनिबार नेपालगन्जमा आयोजित सामाजिक र धार्मिक सदभावमा सञ्चारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीहरुले यस क्षेत्रको सामाजिक तथा धार्मीक सद्घाव कायम गर्नका लागि सञ्चारकर्मी सञ्चार माध्यमको भूमिका अत्यन्तै सकरात्मक रहेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने सुझाव दिए । कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले नेपालको संविधानले सांस्कृतिक विविधतालाई राष्ट्रिय एकता मानेकोले हाम्रो देशको आपसी सद्भावलाई विदेशीले समेत ईष्र्या गर्ने गरेको बताए । विगतका संविधानमा उक्त कुरा उल्लेख नभएपनि नयाँ संविधानले यसको व्यवस्था गरेकाले सामाजिक तथा धार्मिक सदभाव कायम गर्ने कार्य कुनै एउटा क्षेत्रको मात्र नभई सबैले यसका लागि भूमिका खेल्नुपर्ने सुझाव दिए ।

सामाजिक तथा धार्मीक सद्भावका समाचार लेख्दा सञ्चारकर्मीले निकै संवेदनशिलता अपनाउनुपर्ने राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रिय निर्देशक मुरारी खरेलले बताए । पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रिय सदस्य झलक गैरे, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक टेक प्रसाद राई, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष लियाकत अलि, महासंघका निवर्तमान अध्यक्ष शुक्रऋषी चौलागाई, पूर्व केन्द्रिय सदस्य जनक नेपाल, एड्भोकेसी फोरमका बसन्त गौतम, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, इन्सेकका नारायण सुवेदी प्रतिनिधि लगायतले बोलेका थिए ।

Womui
Womui