नेपालगन्ज उद्योग वाणिज्य संघको सदस्यता निलम्वन विवाद चुलियो

91

नेपालगन्ज, साउन २४–
नेपालगन्ज उद्योग वाणिज्य संघभित्रको सदस्यता निलम्वन विवाद झनै उत्कर्षमा पुगेको छ । संघमा आवद्ध कोहलपुर नगरपालिका क्षेत्रभित्रका २ सय ६ जना साधारण सदस्यको सदस्यता निलम्वन भएपछि विवाद सुरु भएको थियो । उद्योग वाणिज्य महासंघले कोहलपुर उद्योग व्यापार संघलाई पनि सदस्यमा मान्यता दिएपछि नेपालगन्ज उद्योग वाणिज्य संघको बहुमत कार्यसमितिको निर्णयबाट ती सदस्यहरुको सदस्यता निलम्वन गरिएको थियो । उक्त निर्णय पश्चात एमाले निकट उद्योगी, व्यवसायीहरु विरोधमा उत्रिएका छन्, भने काँग्रेस, माओवादी र मधेसवादी दल निकट उद्योगी व्यवसायीहरु उक्त निर्णयको पक्षमा उभिएका छन् । सदस्यता निलम्वनको विषयलाई दुवै पक्षले आ–आफ्नै तरिकाले व्याख्या गर्दा विवाद साम्य हुन सकेको छैन । विवाद साम्य नहुँदा आगामी भदौ ११ गतेका लागि तोकिएको संघको निर्वाचनका विषयमा अन्यौलता छाएको छ ।

NGCCI Office

काँग्रेस निकट प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले नेपालगन्ज उद्योग वाणिज्य संघको बहुमत कार्यसमिति बैठकले गरेको निर्णयलाई पनि नमान्नु लोकतान्त्रिक मुल्य मान्यता विपरित कार्य भएको बताएको छ । यस्तै एमाले निकट राष्ट्रिय वाणिज्य संघले बहुमत निर्णयको नाममा प्रक्रियालाई नै मिचेर सदस्यता निलम्वन गर्नु आपत्तिजनक भएको दाबी गरेको छ । प्रजातान्त्रिक उद्योगी, व्यवसायी संघका अध्यक्ष पुरुषोतम शर्माले निर्वाचनबाट भाग्ने मन्सायले गर्दा सदस्यता निलम्वनको विषयलाई अनावश्यक विवादमा पारिएको बताएका छन् । ‘हाम्रो पक्षमा चुनावी माहोल छाएपछि डराएर यो विषयलाई अनावश्यक रुपमा उचालेको देखिन्छ,’ उनले भने ‘यो विवादलाई नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यसमिति बैठकले समयमै टुंगो लगाउनुपर्नेमा अध्यक्षको नै दोहोरो भुमिका देखियो, उहाँ स्वयं एमालेको इसारामा चलेर संघको निर्वाचन भाँड्न खोज्दै हुनुहुन्छ ।’

राष्ट्रिय वाणिज्य संघका अध्यक्ष भाष्कर काफ्लेले सदस्यता निलम्वन गर्नुभन्दा पहिले ती सदस्यलाई सफाईको मौका नै नदिएर बहुमतको नाममा निर्णय गर्नु त्रुटीपुर्ण रहेका जिकिर गरे । ‘त्यतिबेला कार्यसमितिले छुट्टै छानविन समिति गठन गरेर प्रक्रियागत रुपमा निलम्वन गर्नुपथ्र्यो, अचानक प्रक्रिया बाहिर गउर कसैलाई सदस्यताबाट निलम्वन गर्नु त उचित होईन नि,’ उनले भने । संघको निर्वाचनको मिति जति नजिकिदैछ, त्यति नै सदस्यता निलम्वन विवाद चुलिदै गएको छ । विवाद यति उत्कर्षमा पुगिसकेको छ कि समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय सम्म पुगेको । निलम्वित सदस्यले आफुहरु अन्यायमा परेको भन्दै केहीदिन अघि स्थानीय प्रशासनमा निवेदन दिएकोमा सहायक प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले पनि ठोस निर्णय गरेनन् ।

आफ्नो संस्था भित्रको विवाद आफै मिलाउन नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यसमिति पदाधिकारीलाई जिम्मेवारी दिएको व्यहोरा सहितको निर्देशन पत्र पठाए । प्रशासनले निर्देशन दिइसकेपछि संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले कार्यसमिति पदाधिकारी बैठक बोलाएर समाधानको निकास खोज्नुपर्नेमा जिम्मेवारीबाट पुरै पन्छिएको एकथरी उद्योगी व्यवसायीले आरोप लगाएका छन् । ‘प्रशासनबाट निर्देशन आइसकेपछि उद्योग वाणिज्य संघको अध्यक्षले कार्यसमिति पदाधिकारीको बैठक बोलाएर समस्याको निकास खोज्नुपर्ने हो, तर उहाँल आफ्नो दायित्व र जिम्मेवारीलाई चटक्कै विर्सनु भयो, यो हिसावले चुनाव गर्ने उहाँको मन्साय देखिएन,’ अध्यक्ष शर्माले भने ‘अध्यक्षले उल्टो प्रशासन कार्यालयमा निवेदन दिएको कुरा पो सुनियो ।’

निर्वाचनका लागि संघले निर्वाचन प्रमुख वरिष्ठ अधिवक्ता भोलासिंह हमाललाई यसअघि नै तोकेको थियो । निर्वाचनको कार्यतालिका अनुसार उनले दुई दिनअघि मात्र निलम्वित सदस्य बाहेकका २९ सय २५ मतदाताको नामावली प्रकाशित गरेका छन् । निर्वाचन प्रमुखले गरेको उक्त कार्यको एमाले निकट उद्योगी, व्यवसायीले असन्तुष्टी जनाएका छन् । संघका अध्यक्ष श्रेष्ठले सोही विषयमा स्थानीय प्रशासन समक्ष आइतबार निवेदन नै दिएका छन् । निर्वाचन प्रमुखले एकलौटी ढंगले नामावली प्रकाशित गरेको भन्दै निवेदन दिएका हुन् । अध्यक्ष श्रेष्ठले भने, ‘निर्वाचन प्रमुखले उद्योग वाणिज्य संघका कुल ३१ सय ३१ जनाको नामावली प्रकाशित गर्नुपर्नेमा २ सय ६ जनाको नाम प्रकाशित नगरेपछि मैले प्रशासन समक्ष निवेदन दिएको हुँ ।’

उता निर्वाचन प्रमुख एवम् वरिष्ठ अधिवक्ता हमालले आफु नियम भन्दा कतै बाहिर नगएको दाबी गरेका छन् । ‘हामीलाई जुन अधिकार दिइएको छ, त्यही अनुसार काम गरेका र्छौ,’ उनले भने । नेपालगन्ज उद्योग वाणिज्य संघको विधान–२०५३ को धारा ५५ (ग) मा विधानमा भएको व्यवस्था अनुसार विधानमा उल्लेख नभएको विषयमा सदस्यता निलम्वन गर्न निर्णय गर्ने अधिकार कार्यसमितिमा रहने व्यहोरा उल्लेख छ । सोही विधानलाई टेकेर बहुमत कार्यसमिति सदस्यले दोहोरो सदस्यतालाई अन्त्य गर्नुपर्छ भन्दै एकै प्रकृतिका दुई वटा संस्थामा एउटा व्यक्ति दोहोरो सदस्य हुनु हुदैन भन्ने मान्यता स्वरुप निर्णय गरेको बताइएको छ ।

संघका कार्यसमिति सदस्य गोपाल अधिकारीले सदस्यता निलम्वन विवाद नभएर यसलाई विवादमा ल्याउने प्रयास भएको बताउँछन् । ‘विधानमा भएको व्यवस्था अनुसार सदस्यता निलम्वन गरिएको हो, यसमा अनावश्यक विवाद गर्नुको अर्थ छैन, कोहलपुर उद्योग व्यापार संघले महासंघबाट समान खालको मान्यता पाइसकेपछि एउटा व्यक्ति दुई ठाउँमा सदस्य हुनु हुदैन भन्ने आम कार्यसमितिको निर्णयबाट नै निलम्वन गरिएको हो,’ अधिकारीले भने । संघभित्र बढेको विवादका विषयमा केही उद्योगी, व्यवसायीले भने मौनता साँधेका छन् । व्यवसायी नन्दलाल बैश्यले आफु कार्यसमितिभित्र नभएकाले बहुमत कार्यसमिति बैठकले सदस्यता निलम्वन गरेको निर्णयलाई आफुले ठिक वा बेठिक केही भन्न नसक्ने बताए । ‘यो विवाद कार्यसमिति पदाधिकारी भित्रको असमझदारीको परिणाम हो,’ बैश्यले भने । राष्ट्रिय वाणिज्य संघका अध्यक्ष काफ्लेले उत्पन्न विवादलाई कार्यसमिति पदाधिकारीभित्र बाटै समाधान गर्नुपर्ने पक्षमा छन् । ‘सिडिओ कार्यालयले दिएको निर्देशनलाई मनन् गरी संघको कार्यसमिति बैठकले निर्णय गर्नुपर्छ,’ काफ्लेले भने ।

स्रोतका अनुसार उद्योग वाणिज्य संघले निलम्वन गरेका कोहलपुर नगरपालिका क्षेत्रभित्रका करिव ९० प्रतिशत सदस्य एमाले निकट छन् । ती सदस्य निलम्वित हुदाँ आसन्न निर्वाचनमा आफ्नो प्यानललाई स्वतः धक्का दिने भएकाले राष्ट्रिय वाणिज्य संघ विरोधमा उत्रिएको हो । कोहलपुर उद्योग व्यापार संघले उद्योग वाणिज्य महासंघबाट मान्यता पाइसकेपछि एउटै सदस्य दुई ठाउँको संघमा बस्न नमिल्ने विधानमा भएको व्यवस्था बमोजिम नै बहुमत कार्यसमितिको बैठकबाट निलम्वन गरिएको संघका महासचिव विष्णु लामिछानेले प्रष्ट्याएका छन् । ‘एउटै व्यक्ति एउटै जिल्लाभित्रको दुई वटा संस्थामा सदस्य कसरी हुन सक्छ ?,’ उनले प्रश्न गर्दै भने ‘यो विषयलाई कसैले पनि घाटा वा नाफाको हिसावले हेर्नु हुदैन ।’

Womui
Womui