पाइलट हामफालेर ज्यान जोगाए

46

नेपालगन्ज, साउन २०–
हुम्लाको सिमिकोटबाट सुर्खेतका लागि उडेको मकालु एयरलाइन्सको जहाज कर्णाली नदीमा दुर्घटनामा परेको छ । हुम्लाको सिमिकोटबाट ३ बजेर ४५ मिनेटमा उडेको मकालु एयरको किलो चार्ली कलसाइन भएको जहाज बिहीबार अपरान्ह हुम्ला जिल्लाको छिप्र गाविसको राउतेराना भन्ने स्थानमा कर्णाली नदीमा खसेको हो ।

दुर्घटनामा परेको मकालु एयरको जहाज । फाइल तस्बिर
दुर्घटनामा परेको मकालु एयरको जहाज । फाइल तस्बिर

मध्यपश्चिम क्षेत्रिय प्रहरी कार्यालयका प्रमुख (डिआइजी) माधव नेपालले दिएको जानकारी अनुसार, जहाजको इन्जिनमा समस्या आएपछि उडेको १५ मिनेटमा नै जहाज दुर्घटनामा परेको थियो । मकालु एयरको उक्त जहाज सिंगल इन्जिनको हो । इन्जिनमा समस्या आएपछि पाइलटले फोर्स ल्याण्डिङ गराउन खोज्दा जहाज दुर्घटनामा परेको डिआइजी नेपालले बताए । कार्गो बोक्ने उक्त जहाजमा दुई जना मात्र चालक दलका सदस्य थिए । जहाज उडाइरहेका पाइलट सांगे लामा र को–पाइलट प्रशान्त शाह सकुशल रहेका छन् ।

डिआइजी नेपालले पाइलट दुबैले जहाजबाट हाम फालेर ज्यान जोगाएको बताए । पाइलटले नदी किनारको बालुवामा फोर्स ल्याण्डिङ गराउन खोजेको र स्थिती गम्भिर भएपछि पाइलटले हामफालेपछि जहाज घर्सिएर कर्णाली नदीमा पुगेको डिआइजी नेपालले जानकारी दिए । दुर्घटनामा परेको उक्त जहाज कर्णाली नदीमा बगेको छ । सामान्य घाइते भएका दुबै पाइलटलाई सिम्रीक एयरको हेलिकप्टरले उद्धार गरी सिमिकोटमा केही बेर राखेर कोहलपुर ल्याएको बताइएको छ ।

Womui
Womui