को हुन पुष्पकमल दाहाल ?

190

काठमाडौं, साउन १९–
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दोस्रो पटक नेपालको प्रधानमन्त्री बनेका छन् । यस अघि उनी २०६५ साउनमा प्रधानमन्त्रीमा निर्वा्चित भएका थिए । पहिलो संविधान सभा उनले ९ महिना सरकारको बागडोर सम्हाले । तत्कालीन प्रधानसेनापछि रुक्माङगत कटवाललाई हटाउने निर्णय विवादमा परेपछि दाहालले राजीनामा दिएका थिए । १० बर्षे जनयुद्धको नेतृत्व गर्दै लामो समय भूमिगत जीवन बिताएका दाहाल २०६३ असार २ गते खुला राजनीतिमा सार्वजनिक भएका थिए । दाहालको जन्म पश्चिम नेपालको कास्कीको लेवाडेमा २०११ मंसिर २६ गते भएको थियो । पिता मुक्तिराम दाहाल र माता भवानीको कोखबाट जेष्ठ छोराको रुपमा जन्मेका दाहालको परिवार उनी ८ बर्षको हुँदा चितवन बसाईं सरेको थियो । २०२६ सालमा एसएलसी उत्तिर्ण गरेका दाहालले रामपुर कृषि क्याम्पसबाट बि.एस्सी एजी गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।
पुष्पकमल दाहाल ।

२०२८ मा पुष्पलाल समूहबाट राजनीतिमा प्रवेश गरेका दाहाल चौथो महाधिवेशन हुँदै २०३५ साल देखि पार्टीको पूर्णकालिन कार्यकर्ता बनेका थिए । २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा–२ संविधान सभा सदस्य बनेका दाहाल दोस्रो संविधानसभामा सिराहा ५ बाट निर्वाचित भएका थिए । उनले काठमाडौं १० बाट पराजय ब्यहोरेका थिए । २०४० सालमा युवक संघको अध्यक्ष बनेका दाहाल असफल सेक्टरकाण्ड पछि पार्टीको बागडोर सम्हाल्न पुगे । २०४६ मा नेकपा मसालको महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र)को महामन्त्री दाहालनै भए । सेक्टरकाण्ड पछि मोहन वैद्यले दाहाललाई पार्टी नेतृत्वमा ल्याएका थिए त्यस पछि उनी अहिले सम्म पार्टीको नेतृत्वमा छन् ।

२०५१ सालमा नेकपा एकता केन्द्रको विस्तारित बैठकले पार्टीको नाम फेरेर नेकपा माओवादी राख्दै २०५२ देखि जनयुद्ध सुरु गरेको थियो । उनी २०५७ मा नेकपा माओवादीको अध्यक्ष बनेका थिए । त्यस अघि २०५१ देखि नेकपा माओवादीको महामन्त्री थिए । कक्षा १० सम्म छविलालको नामले चिनिने उनले त्यहि समय नाम परिवर्तन गरी पुष्पकमल बनाएका थिए । भूमिगत समयमा कल्याण, विश्वास, निर्माण जस्ता भूमिगत नाम राखेका उनी प्रचण्डको नामले चर्तित छन् । जनयुद्धको समयमा माओवादीले बनाएको जनमुक्ति सेनाका सर्वोच्च कमाण्डर समेत दाहाल नै थिए । कास्की हेम्जाकी सीता पौडेलससँग बिबाह गरेका दाहालका तीन छोरी र एक छोरा छन् । दाहालले करिब २ बर्ष गोरखाको आरुघाटमा अध्यापन समेत गराएका थिए ।

Womui
Womui