बाढी प्रभावित क्षेत्रमा महामारीको खतरा

33

नेपालगन्ज, साउन १३–
राप्ती नदीको बाढी प्रभावित क्षेत्रमा रोगको महामारी फैलिन सक्ने खतरा बढेको छ । बाढीको सतह घटेपछि अधिकांस स्थानीय बासिन्दा पुरानै ठाउँमा फर्केका छन्, भने कतिपय आफन्त र अस्थायी टहराको साहारा लिएका छन् । बाढी पीडितले दुषित पानी प्रयोग गरिरहेका कारण महामारी फैलिन सक्ने खतरा बढेको हो । प्रभावित क्षेत्रमा अहिले सम्म पानी शुद्धिकरण गर्ने औषधी वितरण गरिएको छैन ।

फत्तेपुर–७ का तिलकबहादुर घर्तिले धाराबाट फोहोर पानी आउने गरेको र त्यही पानी प्रयोग गर्न बाध्य भएको बताए । उनले भने, ‘घरभित्रको हिलो सुकेको छैन, धाराको दुषित पानी खाइरहेका छौं, ‘यस्तो बेलामा बालबच्चा र बृढापाकालाई समस्या भइरहेको छ ।’ बस्ने बास र खानेपानीको अर्को विकल्प नभएको उनले बताए । जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले बाढी प्रभावित क्षेत्रमा रोगको संक्रमण हुन नदिन पानी शुद्धिकरण गर्ने औषधी पठाइसकेको बताए ।

शुक्रबारबाट सम्बन्धित गाविसमा औषधी वितरणको काम सुरु हुने जानकारी दिए । साथै स्वास्थ्य चौकीमा पनि पर्याप्त मात्रामा औषधी पठाउने निर्णय दैवी प्रकोप उद्धार समितिको बैठकले गरेको प्रजिअ पन्थको भनाई छ । बाढीको अवस्था विस्तारै सामान्य बन्दै गएको बताउँदै उनले भने, ‘पानीको सतह लगभग घटिसकेको छ, क्षतिको अवस्था बुझ्न गाविस सचिव, प्रहरी र रेडक्रसका प्रतिनिधीलाई खटाएका छौं ।’

Womui
Womui