नेपालगन्जमा डुबान समस्या झन् विकराल

127

नेपालगन्ज, साउन ९–
अबिरल रुपमा परेको बर्षाका कारण आइतबार पनि नेपालगन्जका विभिन्न भाग डुबानमा परेका छन् । अपरान्ह करिव २ घण्टा परेको बर्षाले उपमहानगर क्षेत्रको घरबारीटोल, बेलासपुर, न्यूरोड, गणेशपुर, देवाफुलबारी, बसपार्क, बाँकेगाउँ, कोरियनपुर, भृकुटीनगर, सदरलाईन लगायत क्षेत्र डुबानमा परेका हुन् । वर्षापछि ढल तथा नालामा पानीको निकास थुनिएपछि भएको डुबानले के कति क्षति पु¥यायो भन्ने बारे एकिन नभएपनि दर्जनौं घरमा पानी पसेको प्रहरीले जानकारी दिएको छ । एक दिन अघिको डुबानबाट मुक्ति नपाउँदै पुनः डुबानको सास्ती खेपेपछि नेपालगन्जबासी हैरान भएका छन् ।

डुवानमा परेको घरबारीटोल क्षेत्र ।
डुवानमा परेको घरबारीटोल क्षेत्र ।

डुबानले घर तथा पसलमा रहेको खाद्यान्न, लत्ताकपडा, सर–सामानमा भिजेको पीडितको भनाई छ । पटक–पटक डुबान समस्या बल्झिन थालेपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् । अधिकांस ठाउँमा घरभित्र पानी जमेको उनीहरुले बताएका छन् । नगरबासी भन्छन, ‘पटक–पटकको डुबानले आजित भइसक्यौं, पानीको निकास खोल्न चासो नदिएका कारण वर्षाभरी यो समस्या बल्झिरहने भयो ।’ एशियाली विकास बैंकको अनुदान सहयोगमा नेपालगन्जमा एकिकृत शहरी विकास आयोजना विगत दुई वर्षदेखि सञ्चालनमा छ । आयोजनाको मुख्य उद्धेश्य भनेको नै नेपालगन्जको मुख्य समस्या ढल तथा नाला व्यवस्थापन, सडक निर्माण र फोहोरमैला व्यवस्थापन गर्नु हो । यसैगरी एशियाली विकास बैंककै सहयोगमा विगत तीन वर्षदेखि नेपालगन्ज–जमुनाहा सडक आयोजना पनि सञ्चालनमा छ । उक्त आयोजनाले पनि सडक विस्तार र ढल तथा नाला निर्माणको काम गरेको छ ।

यि आयोजनाले आफ्नो काम सम्पन्न गर्न लाग्दापनि नेपालगन्जले डुबान समस्याबाट मुक्ति पाउन सकेको छैन । यि आयोजनाले निर्माण गरेका ढल तथा नाला नै डुबानको बाधक बनेको स्थानीय बासिन्दाको आरोप छ । चारलेन सडकका ढलबाट निस्कने पानीले घरबारीटोल, सुर्खेतरोड र बेलासपुर क्षेत्रमा बढी डुबान गर्ने गरेको पाइएको छ । आयोजनाले बढी डुबान हुने क्षेत्रलाई बेवास्ता गरेको, ढल तथा नाला निर्माण गरेपनि कतिपय ठाउँमा अधुरो छाडिएको, पानी बग्ने ढल तथा नालामा बिद्युतका पोल अझैपनि ठड्याइएको, नालाको निकास थुनिएको, पुराना नाला वर्षौदेखि सफा नगरेको स्थानीय बासिन्दाको आरोप छ ।

Womui
Womui