चोरी घटना गुमनाम

127

नेपालगन्ज, असार २८–
सञ्चारगृहबाटै चोरी भएको मोटरसाईकल बाँके प्रहरीले अझै फेला पार्न सकेको छैन । गत जेठ २६ गते बुधबार राती सदभाव दैनिकका पत्रकार विजय मल्लको मोटरसाईकल चोरी भएको थियो । न्यूरोडस्थित पत्रिकाको कार्यालय अगाडी ह्याण्डिल लक गरेर राखिएको भे ३ प ९४८० नम्बरको यमाहा कम्पनीको एस.जेट.आर. (कालो रङको ) मोटरसाइकल चोरी भएको हो । मोटरसाईकल चोरी भएको एक महिना पुरा हुदाँसम्म प्रहरीले मोटरसाईकल फेला पार्न र चोरलाई पक्राउ गर्न नसकेको हो ।

मोटरसाईकल चोरी भएपछि लिखित र मौखिक रुपमा जानकारी गराएपनि प्रहरीले व्यापक रुपमा खोजी गर्ने आश्वासन दिएको थियो, तर अहिले सम्म प्रहरीले सुखद नतिजा निकाल्न सकेन् । जिल्लाको शान्ति, सुरक्षामा क्रमिक रुपले सुधार आइरहेको प्रहरीले दाबी गरिरहेका बेला पत्रकार मल्ल लगायत नेपालगन्ज उपमहानगर क्षेत्रमा दिनहुँ साइकल, मोटरसाइकल चोरी भएका थिए । ‘घटना लगत्तै प्रहरीले आफ्ना मातहतका निकाय तथा सम्भावित क्षेत्रमा खोजी कार्य गर्नुपर्ने थियो, त्यो पनि गर्न सकेन,’ मल्लले भने । प्रहरी तदारुक्ता नभएकै कारण अहिले सम्म प्रहरीले चोरको पहिचान गर्न र चोरी भएको मोटरसाइकल फेला पार्न नसकेको उनको गुनासो छ ।

घटना लगत्तै आएका प्रहरीले सामान्य सोधपुछ गरेर फर्केका थिए । सदभाव कार्यालय र न्यूरोडस्थित नेपाल प्रहरीको बिट करिव १ सय मिटरको दुरिमा छ । उक्त मोटरसाइकल ह्याण्डल लक गरेर पार्किङ गरिएको थियो । चोरीको घटनाका विषयमा वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई मौखिक र लिखित रुपमा जानकारी गराइएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकप्रसाद राईले मोटरसाइकल चोरीको विषयमा अनुसन्धान तथा खोजी कार्य अहिले पनि जारी रहेको बताएका छन् । ‘पुलिसको हातमा जादूको छडी हुदैन, हामी विधि र विधानलाई मध्यनजर राख्दै काम गर्दछौं र गरिहेका छौं,’ उनले भने ‘म स्वयं यो घटनालाई हेरिरहेको छु ।’

उनले मोटरसाईकल र चोरलाई समात्न आफ्ना मातहतका सबैलाई निर्देशन दिई सम्भावित स्थानमा खोजी कार्य गरिरहेको बताए । राईले अगाडी थपे, ‘एकपटक चोर्ने र दश पटक चोर्ने चोर हो, रिजल्ट छिटै आउँछ, मैले चोरीका घटना हेर्ने छुट्टै टिम परिचालन गरेकोछु, ढिलो चाँडो मात्र हो, समय लाग्छ । तर यसको अर्थ संयत्र सुतेर बसेको छ भन्नु होईन ।’ चोरी भएको मोटरसाईकल खोज्न चोरीमा संलग्न केही ब्यक्तिलाई पक्राउ गरि अनुसन्धान गर्ने काम गरेको बताए । जिल्लाको चोरीको घटनालाई मध्यनजर गर्दा नेपालगन्जमा हुने चोरीका घटनामा लागु औषध प्रयोगकर्ताको संलग्नता हुने गरेको उनको भनाई छ ।

Womui
Womui