नयाँ सरकार बनाउन माओवादी कसरत सुरु

30

काठमाडौं, असार २८–
केही दिनदेखि केपी शर्मा ओली सरकारको विकल्प खोजिरहेको नेकपा माओवादी केन्द्रले नयाँ सरकारबारे सहमति जुटाउन भेटघाट तीव्र बनाएको छ । राष्ट्रिय सहमतिको सरकार गठन नभई संविधान कार्यान्वयनमा समस्या आउने तथा विद्यमान समस्या समाधान नहुने अडान राख्दै आएको माओवादीले सोमबार केन्द्रीय कार्यालय (हेडक्वार्टर) बैठक सकिएलगत्तै सक्रियता बढाएको हो । सोमबारै अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेटेका थिए । दुवै भेटमा दाहालले यतिखेर देखापरेका कैयन समस्या अन्त्य गर्न र नौबुँदे सम्झौता कार्यान्वयनका लागि राष्ट्रिय सरकार आवश्यक रहेको भनाइ राखेको स्रोतले बतायो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

दाहालका स्वकीय सचिव जोगबहादुर महराका अनुसार छलफलमा देउवा र ओलीले पनि राष्ट्रिय सहमतिको सरकार गठनमा सकारात्मक धारणा राखेका थिए । ‘मुलुकमा व्याप्त समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकारका लागि सबै नेता सकारात्मक हुनुहुन्छ,’ महराले भने, ‘तर सहमतीय सरकार गठनको अवधारणालाई कसरी कार्यान्वयनमा लैजाने भन्नेबारे छलफल जारी राखिएको हो ।’ उनका अनुसार अहिले भइरहेको सहमतीय सरकार गठनसम्बन्धी छलफलको नतिजा एकरदुई दिनमा देखिन सक्छ । सत्तासाझेदार एमालेसँग गत वैशाख २३ गते गरिएको नौबुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै वर्तमान सरकारको विकल्प खोजीमा रहेको माओवादीले सातायता सहमतीय सरकार गठनका लागि मुख्य राजनीतिक दलसँग पटक–पटक छलफल गरिरहेको छ । माओवादी अध्यक्ष दाहालले मधेसका समस्या समाधान नगरेसम्म मुलुकले निकास नपाउने भन्न थालेका छन् ।

अहिलेसम्म माओवादीले भनेझैँ राष्ट्रिय सहमतीय सरकारको प्रारुप तयार भने भइसकेको छैन । स्रोतका अनुसार प्रधानमन्त्री ओली अहिलेकै सरकारमा कांग्रेसलाई सहभागी गराउनुपर्ने पक्षमा छन् भने कांग्रेस बहुमतीय सरकारको पक्षमा छ । कांग्रेसका एक नेताका अनुसार लोकतन्त्रमा बलियो प्रतिपक्ष जरुरी हुने भएकाले कांग्रेस र एमाले एउटै सरकारमा सहभागी हुनु त्यति राम्रो हुँदैन । यद्यपि कांग्रेसभित्रै बहुमतीय या सहमतीय सरकारबारे भने ठोस निर्णय हुन सकेको छैन । स्रोतका अनुसार ठूलो संख्याका नेता बहुमतीय सरकारको पक्षमा छन् । आजको नागरिकमा खबर छ ।

Womui
Womui