नेतात्रय सहमति खोज्दै

96

काठमाडौं, असार २५-
सहमतीय सरकार गठनको प्रारुप तयार गर्न नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच छुट्टाछुट्टै छलफल भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार नेताहरूबीच छलफल भएको हो । संविधान कार्यान्वयन र विद्यमान समस्या समाधानका लागि भन्दै माओवादीले केही दिनयता थाले सहमतीय सरकार गठनको प्रयासमा एमाले र कांग्रेसले पनि चासो दिएको माओवादी नेताहरूले जनाएका छन् ।

माओवादी कार्यालय सदस्य जनार्दन शर्माका अनुसार यतिखेर को प्रधानमन्त्री हुने भन्दा पनि विद्यमान समस्या समाधानका लागि माओवादीले राष्ट्रिय सरकार गठनमा जोड दिइरहेको छ । ‘वैशाख २३ गते एमालेसँग गरिएको नौबुँदे सहमतिको स्पिरिट पनि सहमतीय सरकार गठन नै हो,’ शर्माले भने, ’माओवादीको चाहना सहमतिको सरकार बन्नुपर्छ भन्ने हो ।’ माओवादी अध्यक्ष दाहालका स्वकीय सचिव जोगबहादुर महराका अनुसार शुक्रबार देउवा र ओलीसँग संक्षिप्त भेटघाट हुँदा राष्ट्रिय सहमति र बजेट पास गर्नेबारे कुराकानी भएको थियो ।

तीन नेताले मुलुकको हितका लागि सहमति सरकार आवश्यक रहेको स्वीकारे पनि नेतृत्व कसले लिने भन्नेमा विवाद रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार माओवादी र कांग्रेसले अहिलेको नेतृत्व फेर्नुपर्ने अडान लिँदै आएका छन् भने प्रधानमन्त्री ओली कांग्रेस अहिलेकै सरकारमा सामेल भएर राष्ट्रिय सरकार बनाउनुपर्ने अडानमा छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार बजेट पास भएपछि वर्तमान सरकारलाई राष्ट्रिय सरकार बनाउन एमालेका लागि आपत्ति छैन । आजको नागरिकमा खबर छ ।

Womui
Womui