नेपालगन्ज, असार २२-
सरकारी बिद्यालयको पिसिएफ कोटामा रहेर करिव ११ वर्षसम्म शिक्षण गरेका बाँके, फत्तेपुर–८ पनेरिया निवासी ३६ बर्षिय पवन आचार्यले घरको अवस्था अझ सुधार्न विदेश जाने सोच बनाए । गाउँका साथीभाई सहित उनले नेपालगन्ज, कारकाँदोस्थित कर्णाली ओभरसिज प्राली नामक मेनपावर कम्पनीमा सम्पर्क गरे । दलाल (एजेन्ट) का चिल्ला कुरा सुनिसकेपछि आचार्य शिक्षक जागिर छाडेर विदेश जाने निस्कर्षमा पुगे । सबै कागजी प्रक्रिया पुरा गरी मेनपावर कम्पनीलाई एक लाख रुपैयाँ बुझाएर गत कात्तिक २४ गते घरबाट विदाई भएर निस्के । त्यसको ४ दिनपछि उनी साउदी अरब पुगे । मेनपावरले उनलाई ‘सप्लायर’ को काम दिने आश्वासन दिएको थियो । तर, उनले करिव तीन महिना सम्म काम नपाएर त्यसै समय बिताए ।
तीन महिनापछि बल्लतल्ल लेबर काम त पाए, तर कम्पनीले काम वापतको पारिश्रमिक नै दिएन । मेनपावर कम्पनीको सुझाव अनुसार त्यसयता उनी काम छाडेर त्यसै बसेका छन् । ‘तलब नदिएपछि काम छाडेर बस्यौं, काम छाडेपछि कम्पनीले खाना खुवाउन छाड्यो, मागेर खाइरहेका छौं,’ पवनले टेलिफोनमा भने । केही महिनायता उनी भोकभोकै बस्न बाध्य छन् । पवन सँगै साउदी अरब पुगेका फत्तेपुरका अन्य ४ र सुर्खेत र बर्दियाका २ जना युवा अलपत्र परेको परिवारले जनाएका छन् । परिवारका अनुसार फत्तेपुर–८ कै ३७ बर्षिय ठाकुर केसी, ३३ बर्षिय पासाङ चलाउने, २२ बर्षिय गुरुप्रसाद चौधरी र २५ बर्षिय सुर्य थारु तथा बर्दिया धधवार–८ का २५ बर्षिय राजेश चौधरी र सुर्खेत गुमीका दिलबहादुर अर्याल महिनौं देखि अलपत्र परेका हुन् ।
उनीहरु साउदी अरबको ‘जुदावास’ भन्ने ठाउँमा रहेको परिवारले जनाएका छन् । अलपत्र पवनकी पत्नी देवी आचार्यले शिक्षक जागिर छाडेर विदेश गएका पतिले दुःख पाउँदा आफु निकै तनावमा रहेको बताईन् । ‘दिनहुँ फोन गरेर त्यहाँको दुःख सुनाउँदा मेरो मन भक्कानिन्छ,’ उनले भनिन् ‘छिटो चाडो फिर्ता गराउ, नत्र लास मात्रै भेटाउँछौं भन्नुहुन्छ, घर फिर्ता गराउने हामीसँग उपाय छैन ।’ विदेश गएको तीन महिना सम्म काम नपाएर त्यसै बसेको र मेनपावरलाई धेरै दवाव दिएपछि काम पाएपनि पारिश्रमिक नपाएको देवीले सुनाईन् । ‘तीन महिना सम्म त्यसै बस्नु भयो, मेनपावरमा धेरै धाएपछि काम त दियो, तर कम्पनीले पैसा दिएन,’ उनले थपिन् ‘पैसा नदिएपछि मेनपावरले आफै काम छाड्नु सुझाव दियो, त्यसपछि त त्यहाँको कम्पनीले खाना नै दिन छाडेछ ।’ मुस्लिम समुदायको रमजान महिना परेकाले त्यहाँको मस्जिदमा प्रसाद खाएर ज्यान बचाएको परिवारले जनाएका छन् ।
विदेशमा अलपत्र परेका आफ्ना सदस्यलाई कसरी फिर्ता गराउने भन्नेमा परिवार अन्यौलमा छन् । ‘काम गर्दा तलब नदिने, काम छाडेपछि खाना समेत नदिएको खबर सुनेपछि धेरै चिन्तामा छौं,’ गुरुप्रसादकी दिदी रिता चौधरीले भनिन् ‘भाईले छिटो घर फर्काउ भनेर फोन गर्छ, कसरी फर्काउने होला ?’ विदेशमा अलपत्र परेकालाई घर फर्काउन र असुलेको पैसा फिर्ता गर्न परिवारले कयौं पटक मेनपावर कम्पनी कहाँ धाए । मेनपावरले उनीहरुको मागलाई बेवास्ता गरिदियो । अलपत्र आफन्तलाई घर फर्काउन, मेनपावर कम्पनीलाई कारबाही र रकम फिर्ताको पहल गरिदिन माग गर्दै परिवारका सदस्यले सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेर निवेदन थमाए । तर, प्रशासनका उच्च अधिकारीले ठाडै अस्वीकार गरिदिए ।
उल्टो प्रशासन कार्यालयका प्रहरी र कर्मचारीले उनीहरुको मागलाई मजाकमा उडाएको पीडित परिवारको आरोप छ । ‘वैदेशिक रोजगारी सम्वन्धी निवेदन हामी लिन्नौ, वैदेशिक रोजगार विभागमै जाउ भनेर निवेदन बुझ्न अस्वीकार गरिदिनु भयो,’ आफन्त सन्तोष कार्कीले गुनासो पोख्दै भने ‘प्रशासनले चाहेको भए बाँकेमा रहेको मेन पावर कम्पनीलाई केही गर्न सक्थ्यो ।’ बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले वैदेशिक रोजगार सम्वन्धी मुद्दा स्थानीय प्रशासनले नहेर्ने बताए । ‘यो विषयलाई वैदेशिक रोजगार विभागले हेर्छ, हामीले मन्त्रालयमार्फत अनुरोध गरिदिने मात्रै हो,’ उनले भने । कर्णाली ओभरसिजका एजेन्ट डम्बर बोहराले आफ्नो मेनपावरमार्फत साउदी अरब गएका कुल ४२ जना कामदारले दुःख पाएको बताए । ‘त्यहाँको कम्पनीले कसैलाई एक महिनाको, कसैलाई २ महिनाको त कसैलाई ३ महिनाको तलब दिएको छैन, धेरै कामदारहरु काम छाडेर बस्नु भएको छ,’ उनले भने । मेनपावरले यस विषयमा श्रम मन्त्रालयमा लिखित निवेदन दिइसकेको उनले बताए । आजको नागरिकमा खबर छ ।