राप्ती आसपासमा बाढीको कहर

174

नेपालगन्ज, असार २२-
गाउँमा बाढी आउने संकेत स्वरुप साईरन बजेपछि बाँके, होलिया–५ टेपरीका मुनिजर यादवले मंगलबार राप्तीको किनारमै दिन बिताए । करिव ५ घण्टाको प्रतिक्षापछि नदीमा बाढी त आयो । धन्न उनको घर भने जोगियो । ‘आज दिनभर नदीको छेउमै बसेर दिन बिताए, बिहान साइरन बजेपछि काम गर्न कतै जान मन लागेन,’ उनले भने । बर्षायामभर बेला उनको दैनिकी यसरी नै बित्छ । पहाडी जिल्लामा बर्षा हुने वित्तिकै राप्ती नदीमा बाढीको कहर सुरु हुन्छ । राप्ती नदीसँगै सटेको उनको गाउँलाई बाढीले क्षति गर्छ । उनी जस्ता थुप्रै स्थानीय बासिन्दाको दैनिकी बर्खायाम भर राप्ती नदीको किनारमै बसेर बित्छ । ‘घर भित्र बस्ने हो भने बाढी आएर लैजान्छ कि भन्ने डर लाग्छ, त्यसकारण नदीको छेउमा बसेर समय बिताउन मन लाग्छ,’ अर्का स्थानीय राजेन्द्रकुमार शर्माले भने ।

राप्ती नदीमा बाढी आएपछि घर बाहिर निस्केका स्थानीय बासिन्दा ।
राप्ती नदीमा बाढी आएपछि घर बाहिर निस्केका स्थानीय बासिन्दा ।

घर अगाडी तटबन्ध भएपनि भरपर्दो नहुँदा ढुक्कसँग बस्न नसकेको उनले बताए । पहाडी क्षेत्रमा परेको दिनहुँ अविरल बर्षा हुन थालेपछि बाँकेमा बाढीको कहर सुरु भएको छ । राप्ती नदीमा पानीको सतह बढ्दै जादाँ प्रभावित क्षेत्रमा त्रास हुन थालेको छ । बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा मंगलबार राप्ती नदीको सतह ५ मिटर २ सेन्टीमिटर सम्म पुगेपछि राप्तीको बाढीबाट हुने सम्भावित जनधनको क्षति कम गर्न दिनभर स्थानीय प्रशासनले अर्लट रहन स्थानीय बासिन्दालाई अनुरोध गरेको थियो । पुर्व सर्तकता अपनाएका कारण बाढीले फत्तेपुर गाविसमा केही क्षेत्र कटान गरेपनि अन्य ठुलो क्षति नगरेको स्थानीय प्रशासनले जनाएको छ । ‘पानीको सतह बढेपनि पुर्व सर्तकता अपनाएका कारण क्षति हुन पाएन,’ प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले भने ।

बाढीले होलियामा कटान गरेको क्षेत्र ।
बाढीले होलियामा कटान गरेको क्षेत्र ।

फत्तेपुर–१ खल्ला झगडियाका दुर्गाप्रसाद पाण्डेले बाढीले गाउँमा करिव ५० मिटर बाटो कटान गरेको बताए । स्थानीय निम्न माध्यामिक बिद्यालयको दक्षिण क्षेत्रमा कटान सुरु गरेको उनले जानकारी दिए । बाढी आएपछि आफुहरु सुरक्षित स्थानमा गएको पाण्डेले बताए । कुसुमबाट बाढी प्रभावित होलिया, फत्तेपुर, मटेहिया, गंगापुर, बेतहनी, बनकट्टी, कम्दी लगायत गाविस सम्म आइपुग्न करिव ५ घण्टा समय लाग्छ । बाढी आइपुग्दा सम्म सुरक्षाका सम्पुर्ण सावधानी अपनाउन सकिने भएकाले धनजनको क्षति कम गर्न सकिने प्रजिअ पन्थले बताए । कुसुमस्थित बाढी मापक भद्रबहादुर थापाले मंगलबार बिहान पानीको सतह खतराको चिन्हमा पुग्ने वित्तिकै जिल्लास्थित प्रहरी, प्रशासन र सम्वन्धित ठाउँमा खबर गरेको बताए । ‘पानीको सतह बढेको थाहा पाउने वित्तिकै मैले सम्वन्धित ठाउँमा खबर गरिदिए, बाढीको खतरा रहदाँ सम्म म निरन्तर सम्पर्कमै रहने गरेको छु’, उनले भने ।

बर्षेनी राप्ती नदीको बाढी पस्ने होलियाको टेपरी गाउँ ।
बर्षेनी राप्ती नदीको बाढी पस्ने होलियाको टेपरी गाउँ ।

पछिल्लो समयमा कुसुमस्थित बाढी मापन केन्द्रमा पानीको सतह ४ मिटर ७० सेन्टीमिटर पुग्ने वित्तिकै प्रभावित क्षेत्रका गाउँमा पानी पस्ने अवस्था देखिएको प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले बताए । ‘कुसुममा ४ मिटर ७० सेन्टीमिटर पानीको सतह देखिएपछि हामीले सम्वन्धित गाविसका सचिव, विपत व्यवस्थापन टोली र प्रहरीलाई निर्देशन दियौं, ठाउँ–ठाउँमा साईरन बजाएर स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान भन्यौ, यसले सम्भावित क्षति कम गर्न मद्दत गरेको छ,’ पन्थले भने । ‘केहीदिन अघि ४ मिटर ७० सेन्टीमिटरको बाढी आउँदा होलिया र फत्तेपुरका घरमा पानी पसेको पाइयो, त्यसैले अब ४ मिटर ७० सेन्टीमिटर पानीको सतह उक्लिने वित्तिकै स्थानीयलाई अलर्ट गराउनुपर्ने अवस्था छ,’ पन्थले सुनाए ।

बाढी आएपछि पशु चौपायालाई सुरक्षित स्थानतर्फ लैजादै स्थानीय बासिन्दा ।
बाढी आएपछि पशु चौपायालाई सुरक्षित स्थानतर्फ लैजादै स्थानीय बासिन्दा ।

यसअघि वर्षमा नदीको सतह ५ मिटर ४० सेन्टीमिटरलाई आधार मानिएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक टेकप्रसाद राईले बाढीको कहर सुरु हुन थालेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा पठाउन राप्ती नदी आसपासका सबै प्रहरी इकाइलाई निर्देशन दिइएको बताए । ‘हामीले सबै प्रहरी इकाइलाई बाढीको सन्दर्भमा निर्देशन दिएका छौं,’ उनले भने । राप्ती अञ्चलको प्युठान र रोल्पामा बर्षा हुदाँ नदीमा पानीको सतह बढ्छ । भारतले अन्र्तराष्ट्रिय नियम विपरित निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले राप्ती नदीको प्राकृतिक निकास थुन्दा वर्षेनी बाँकेमा डुबान, कटान र पटान समस्या बल्झिने गरेको छ ।

बाढी आएपछि पशु चौपायालाई सुरक्षित स्थानतर्फ लैजादै स्थानीय बासिन्दा ।
बाढी आएपछि पशु चौपायालाई सुरक्षित स्थानतर्फ लैजादै स्थानीय बासिन्दा ।

शब्द/ तस्बिर : अर्जुन ओली

Womui
Womui