चोरी भएको मोटरसाइकल अझै फेला परेन

51

नेपालगन्ज, असार १–
पत्रकार विजय मल्लको मोटरसाइकल चोर्ने समुहलाई पक्राउ गर्न बाँके प्रहरी असफल भएको छ । गत बुधबार राती सदभाव दैनिकको कार्यालय अगाडी पार्किङ गरेर राखिएको अवस्थामा भे ३ प ९४८० नम्वर अंकित यमाहा कम्पनीको एस.जेट.आर. मोटरसाइकल चोरी भएको थियो । सदभाव कार्यालय र न्यूरोडस्थित नेपाल प्रहरीको बिट करिव १ सयको दुरिमा छ । उक्त मोटरसाइकल ह्याण्डल लक गरेर पार्किङ गरिएको थियो । जिल्लाको शान्ति, सुरक्षामा क्रमिक रुपले सुधार आइरहेको प्रहरीले दाबी गरिरहेको अवस्थामा उपमहानगर क्षेत्रमा बढेको चोरीका घटनाले स्थानीय बासिन्दा त्रसित छन् ।

पत्रकार विजय मल्लको मोटरसाइकल । फाइल तस्बिर
पत्रकार विजय मल्लको मोटरसाइकल । फाइल तस्बिर

मोटरसाइकल चोरी भएको एक हप्ता पुरा भएपनि अहिले सम्म प्रहरीले चोरको पहिचान गर्न र चोरी भएको मोटरसाइकल फेला पार्न समेत सकेको छैन । घटना लगत्तै आएका प्रहरी सामान्य सोधपुछ गरेर फर्केका थिए । चोरीको घटनाका विषयमा वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई मौखिक र लिखित रुपमा जानकारी गराइएको थियो । बाँके प्रहरीले अहिले सम्म खोजीकार्य भइरहेको बताएपनि सफलता भने प्राप्त गरेको छैन । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक भिमकिरण बोगटीले मोटरसाइकल र चोरको खोजी गर्ने कार्य चलिरहेको बताए । उनले भने, ‘हामीले चोरी भएको मोटरसाइकल खोजी गरिरहेका छौं, आफ्ना मातहतका सबै यूनिटमा जानकारी गराइसकेका छौं, प्रहरीले कोसिश गर्ने हो, फेला पर्न पनि सक्छ ।’

चोरले मोटरसाइकल भारत पु¥याएको हुन सक्ने प्रहरीको आशंका छ । उक्त घटनाको विषयमा भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी धिरु बस्न्यातदेखि मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख(डिआइजी)माधव नेपाललाई समेत जानकारी भइसकेको छ । डिआइजी नेपाल र एसएसपी बस्नेतले समेत घटनाबारे चासो राख्दै खोजी कार्यमा तिव्रता दिन निर्देशन दिइसकेका छन् । पत्रकारका संगठनहरु पत्रकार महासंघ र नेपाल प्रेस युनियन बाँकेले समेत घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न र मोटरसाइकल खोजी गरिदिन सम्वन्धित निकायको ध्यानार्कषण गराइसकेका छन् ।

महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदीले चोरी भएका मोटरसाइकल खोजिदिन प्रहरीलाई दवाव दिइरहेको बताए । पत्रकारको मोटरसाइकल चोरी भएकामा दुःख व्यक्त गर्दै भने, ‘घटना लगत्तै मैले डिआइजी, एसएसपी, एसपी र डिएसपीको ध्यानाकर्ष गराउदै यथाशिघ्र खोजी गरिदिन आग्रह गरेको थिए, प्रहरीले अहिले सम्म फेला नपार्दा दुःख लागिरहेको छ ।’ विज्ञप्ती नै निकालेर प्रहरी, प्रशासनको ध्यानाकर्षण गराइसकेको प्रेस यूनियन बाँकेले फेरीपनि घटनालाई सम्वन्धित निकायलाई गम्भिरता पुर्वक लिइदिन आग्रह गरेको छ ।

युनियनका पदाधिकारीको एक बैठकले पत्रकार मल्लको मोटरसाइकल खोजी गर्नमा प्रहरी गम्भिर ढंगले नलागेको निस्कर्ष समेत निकालेको छ । सञ्चारकर्मीका साधन सुरक्षाको व्यवस्था मिलाउन युनियनले पुनः आग्रह गरेको छ । ‘प्रहरीले चाहेपछि जस्तो सुकै अपराधको घटनामा सफलता प्राप्त गर्छ, तर यो घटनामा प्रहरीले किन सफलता प्राप्त नगरेको होला मलाई आश्चर्य लागिरहेको छ,’ पत्रकार मल्लले भने ।

Womui
Womui