नेपाल–भारत सन्धि, सम्झौता र सम्बन्धी समीक्षा हुने

30

काठमाडौं, जेठ २४–
नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको पहिलो बैठक असार २० र २१ गते काठमाडौंमा हुने भएको छ । बैठकमा नेपाल र भारतबीच हालसम्म भएका सन्धि–सम्झौता र सम्बन्धको समीक्षा हुनेछ । ‘नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको बैठक असार २० र २१ गते काठमाडौंमा हुने तय भएको छ, हामी बैठकको तयारीमा जुटेका छौं,’ नेपालतर्फको प्रबुद्ध व्यक्ति समूहका संयोजक भेषबहादुर थापाले भने । पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाको संयोजकत्वमा नेपालतर्फको प्रबुद्ध व्यक्ति समूहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, सांसद राजन भट्टराई र पूर्व कानुनमन्त्री नीलाम्बर आचार्य छन् ।

भारतद्वारा गठित प्रबुद्ध व्यक्ति समूहमा जयन्त प्रसाद, महेन्द्र लामा, भगतसिंह कोस्यारी र बिसी उप्रेती छन् । समूह गठन भएको प्रत्येक तीन/तीन महिना आलोपालो दुई देशले बैठक गर्ने भनिए पनि प्रबुद्ध व्यक्ति समूहको पहिलो बैठकको मिति नै तय गर्न सकिएको थिएन । सरकारले २०७२ माघ १४ गते समूह गठन गरेको थियो । नेपालको प्रबुद्ध व्यक्ति समूहले गत ’मे’ महिनामा काठमाडौंमा पहिलो संयुक्त बैठक बस्ने भनी पत्राचार गरेको भए पनि भारतीय पक्षले त्यसको जवाफ फर्काएको थिएन । हालै मात्र भारत असार २०–२१ गते बैठक गर्न राजी भएको हो ।

समूहलाई आ–आफ्नो देशका बौद्धिक समूह, परराष्ट्र विज्ञ, सन्धि–सम्झौता, सम्बन्धित दस्तावेजको अध्ययन–अनुसन्धान गरी संयुक्त बैठकमा छलफल गर्ने र अन्तमा संयुक्त प्रतिवेदन बनाई आ–आफ्ना सरकारसमक्ष पेस गर्ने कार्यदेश दिइएको छ । २३ वर्षपछि सन् २०१४ को जुलाइमा काठमाडौंमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकले दुई देशबीच हालसम्म भएका सम्झौता र सहमतिको अध्ययन–अनुसन्धान गरी पुनरावलोकनका लागि सुझाव पेस गर्न दुवै देशमा प्रबुद्ध व्यक्ति समूह गठन गर्ने निर्णय गरेको थियो । आयोगको बैठकले नै प्रबुद्ध व्यक्ति समूहमा दुई देशका चार–चार जना गरी आठ सदस्य रहने व्यवस्था गरेको थियो ।

Womui
Womui