‘दण्डहिनता अन्त्यका लागी काम कारवाही केन्द्रित’

90

नेपालगन्ज, बैशाख २७–
कानुन दिवसका अवसरमा बाँकेमा विभिन्न कार्यक्रम गरिएको छ । बाँके जिल्ला अदालत र पुनरावेदन तथा जिल्ला अदालत बार एशोसियशनले छुट्टा छुट्टै कार्यक्रम गरेका हुन् । पुनरावेदन तथा जिल्ला बारले गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवम् पुनरावेदन अदालत नेपालगन्जमा मुख्य न्यायाधिस बमकुमार श्रेष्ठले कानून ब्यवसायी अदालतको सच्चा मित्र भएको बताए । ‘न्याय सम्पादनमा कानून ब्यवसायीको भुमिका’ बिषयक कार्यक्रममा बोल्दै मुख्य न्यायाधीश श्रेष्ठले न्याय सम्पादनमा कानून ब्यवसायीको भुमिका एकदमै महत्वपुर्ण हुने उल्लेख गरे । कानुनी राजको सुरुवात भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको भन्दै उनले कानूनी शासनलाई प्रश्रय दिन र दण्डहिनताको अन्त्यका लागी काम कारवाही केन्द्रित हुनुपर्ने बताए ।

बाँके जिल्ला अदालतका न्यायाधिस बिष्णुप्रसाद कोईरालाले कानून सबैको सरोकारको बिषय भएकाले न्याय क्षेत्रले मात्र नभई राष्ट्रब्यापी रुपमा कानून दिवस मनाइनु पर्नेमा बताए । वरिष्ठ अधिवक्ता इन्द्रजित तिवारी र भोलासिंह हमालले कानून दिवस, कानून क्षेत्रको मात्र नभएर सबैको सरोकारको बिषय भएकाले यो दिन सार्वजनिक विदा गरिनुपर्ने माग गरे । कानून ब्यवसायीले आफ्नो ब्यवसायिक मुल्य र मान्यता विर्सन नहुने वरिष्ठ अधिवक्ताद्धयको सुझाव छ । नेपाल बार एशोसिएसनका उपाध्यक्ष शालिकराम सापकोटाले कालो कोटमा लागेको धब्बा मेटाउन कानून ब्यवसायीहरु आत्म समिक्षाका साथ लाग्नुपर्नेमा जोड दिए । व्यवसायिक दक्षता, जवाफदेहिता र जिम्मेवारीलाई ख्याल राख्नुपर्ने उनको भनाई छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले अझैपनि आम जनतालाई सहि न्याय निरुपणको अनुभुति दिन नसकेकाले आत्मसमिक्षाका साथ आफ्ना काम कारबाही अगाडी बढाइनुपर्ने बताए ।

राष्ट्रिय मानव अधिकार आयोगका मध्यपश्चिम क्षेत्रीय निर्देशक मुरारी खरेलले कानून ब्यवसायी अग्रपंक्तीका मानव अधिकार रक्षक भएकाले उनीहरुले समय अनुसार आफुलाई सुधार गर्दै लैजानुपर्ने सुझाव दिए । पुनरावेदन बार नेपालगन्जका अध्यक्ष बलबहादुर चन्दको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला बारका अध्यक्ष उदयराज बर्मा, अधिवक्ताहरु, तेजकुमार धिताल, नरहरिनाथ योगी, बसन्त गौतम, बिश्वजित तिवारी, प्रह्लादबहादुर कार्की लगायतले न्यायालय स्वतन्त्र र सक्षम भए मात्रै मानव अधिकारको संरक्षण, कानूनी शासनको स्थापना र पीडितले न्याय पाउन सक्ने भएकाले यसका लागी सबै सरोकारवालाको सकारात्मक भुमिका हुनुपर्नेमा जोड दिएका थिए ।

सो अवसरमा मध्यपश्चिम क्षेत्रबाट नेपाल बार एशोसिएसनको उपाध्यक्षमा हालै निर्वाचित भएका अधिवक्ता शालिकराम सापकोटालाई प्रमुख अतिथि श्रेष्ठले लगायतले सम्मान तथा स्वागत गरेका थिए । शक्ति पृथकिकरणको सिद्धान्तलाई अंगिकार गर्दै प्रधान न्यायालयलाई न्यायिक अधिकार प्रदान गरेको दिनको सम्झनामा कानून दिवस मनाउन थालिएको हो । २००८ सालमा स्थापना भएको प्रधान न्यायालयले नेपालमा शक्ति पृथकिकरणको सिद्धान्तलाई स्थापित गराएको थियो । सोही दिनको सम्झानामा प्रत्येक बर्ष बैशाख २६ का दिन कानून दिवस मनाउने गरिन्छ ।

Womui
Womui