सावधान ! सहकारीमा पैसा डुब्ला

41

नेपालगन्ज, बैशाख २७-
नेपालगन्ज–७ फुलटेक्रा निवासी मिनबहादुर डाँगीले वैदेशिक रोजगारीका शिलसिलामा १० वर्ष साउदी अरबमा बसेर पसिना बगाए । पढ्ने लेख्ने बेला २१ वर्षकै उमेरमा साउदी अरब पुगेका डाँगी लगातार ६ बर्ष त्यहाँ काम गरे । त्यसपछि पनि पटक–पटक गरेर १० वर्ष साउदीमै बिताएका उनले गतवर्ष घर फर्किदाँ नगद १० लाख रुपैयाँ लिएर आए । डाँगी पैसा बोकेर घर फर्किएको थाहा पाएपछि नेपालगन्जस्थित बाँके वचत तथा ऋण सहकारी संस्थाले डाँगीलाई आर्कषक व्याजको प्रलोभन दियो र उनले १० लाख १ हजार रुपैयाँ उक्त सहकारीमा वचत गरे । ‘तीन लाख रुपैयाँ फिक्स डिपोजिट र बाँकी ७ लाख रुपैयाँ चेक सिस्टमबाट आवश्यक परेका बेला निकाल्न पाउने शर्तमा जम्मा गरेको हुँ,’ उनले भने । २०७२ असोजमा रकम वचत गरेका डाँगीले सोही रकमबाट रेष्टुरेन्ट सञ्चालन गर्ने योजना बनाएका थिए ।

बाँके बचतमा १० लाख रुपैयाँ डुबाएका मिनबहादुर डाँगी ।
बाँके बचतमा १० लाख रुपैयाँ डुबाएका मिनबहादुर डाँगी ।

तर, दुर्भाग्य ! उनले वचत गरेको रकम निकाल्न नपाउँदै सहकारी सञ्चालकले ग्राहकको करोडौं रुपैयाँ ठगी गरेको घटना सार्वजनिक भयो । ‘सहकारीले ग्राहकको पैसा ठगेको कुरा थाहा पाए, त्यसपछि म छांगाबाट खसेझै भए,’ डाँगीले भने ‘सुरुमा मुद्दा मामिला गर्ने कानुन र प्रक्रिया नै थाहा भएन ।’ उनी हतारिदै सहकारी सञ्चालक पक्राउ परेको इलाका प्रहरी कार्यालय कोहलपुरमा पुगे । ‘इप्रकाले मलाई मुद्दा हाल्न जिल्ला प्रहरी कार्यालयमा पठायो, जिल्ला प्रहरीले मुद्दा दर्ता गरेन, उसले सहकारी डिभिजन कार्यालयमा पठायो,’ उनले भने ‘डुबेको पैसा निकाल्न मैले अनेक प्रयास गरे, तर केही सिप चलेन ।’ सहकारी डिभिजन कार्यालयले पीडित डाँगीको कुरा सुन्नै चाहेन । ‘त्यहाँ पुगेर न्याय माग्दा त उसले जहाँ पैसा राखेका थियौं, उसैसँग पैसा माग्न जाउँ भन्ने खालको जवाफ दियो,’ उनले भने ‘अब कहाँ गएर डुबेको पैसा असुल्ने अन्यौलमा छु ।’ धितोमा घर किनेका डाँगीले मासिक ३७ हजार रुपैयाँ किस्ता तिर्नुपर्छ ।

आफुसँग भएको रकम सहकारीमा डुबेपछि विगत ९ महिनादेखि उनले किस्ता तिर्न सकेका छैनन् । उनले थपे, ‘नौ महिनादेखि किस्तार रोकिएको छ, किस्ता तिर्न नसकेपछि घर नै जाने अवस्था आइसक्यो, घर गएपछि मैले परिवारलाई कहाँ बसाउने होला ?’ आफुसँग रकम नहुँदा बिरामी आमाको उपचार समेत गर्न नसकेको डाँगीले दुखेसो पोखे । ‘विदेशमा कति बसिराख्नु, आफ्नै देशमा केही गरौं भनेर पैसा बोकेर आएको त सहकारीले सडकमा पु¥याउन थाल्यो, कहाँ जाने, के गर्ने साह्रै अन्यौलमा छु ।’ बाँके सहकारीबाट ठगिएका डाँगी एक्ला ग्राहक होइनन् । जिल्लाका विभिन्न ५ ठाउँमा शाखा सञ्चालन गरेको उक्त सहकारीले करिव ८ हजार ग्राहकको रकम ठगेको अभियोग छ । ‘सहकारीले ठगेको रकम सुरुमा साढे ५ करोड जति थियो, पछि सम्पर्कमा आएका ग्राहकको समेत जोडेर ठगिएको रकम साढे ७ करोड पुगिसकेको छ,’ सहकारी डिभिजन कार्यालयका प्रमुख प्रकाश पौडेलले भने ।

ठगेको अभियोगमा गत माघ तेस्रो साता पक्राउ परेका उक्त सहकारीका अध्यक्ष टेकराज डाँगी, संस्थापक अध्यक्ष पवन बोहरा, कार्यकारी प्रमुख खिमु श्रेष्ठ, ऋण प्रवन्धक सुशील श्रेष्ठ, खजुरा शाखा प्रवन्धक शेषमणि सापकोटा, कोहलपुर शाखा प्रवन्धक कमला नेपाली, अगैया शाखा प्रवन्धक चन्द्रावती चौधरी, राँझा शाखा प्रवन्धक समिक्षा श्रेष्ठ, सञ्चालक समिति सदस्य ओमप्रकाश बिक, क्यासियर ज्ञानेन्द्र गुप्ता, सुधा बोटे, सिता शाही र सुरक्षा शाह अहिले पुर्पक्षका लागि कारागार छन् । सञ्चालक नै पक्राउ परेपछि सहकारीको कारोबार विगत ३ महिनादेखि बन्द छ । सहकारी सञ्चालकविरुद्ध अदालतमा मुद्दा चलिरहेकाले चाडै टुंगो लाग्ने सहकारी डिभिजन प्रमुख पौडेलको विश्वास छ । वचतकर्ताले आफ्नो रकमको बारेमा निग्रानी नगर्दा सहकारीले ठग्ने गरेको उनले बताए । सहकारीको अवस्था समस्याग्रस्त रहेको कुरा आफुहरुले समयमै अवगत गराएपनि केन्द्रिय स्तरबाट चासो नदिइएको आरोप लगाए । ‘सहकारीले बदमासी गरेपनि हामीलाई कारबाही गर्ने अधिकार छैन,’ पौडेलले भने ‘हामीले त अनुगमन गर्ने र सुध्रिन चेतावनी मात्रै दिन सक्छौं ।’

Womui
Womui