फत्तेपुर खुल्ला दिसामुक्त घोषणा

133

नेपालगन्ज, बैशाख २४–
बाँकेको राप्तीपारी फत्तेपुर खुल्ला दिसामुक्त घोषणा भएको छ । बाँके युनेस्को क्लबले जिम्मेवारी सकारेको ‘सबैका लागि दिगो सरसफाई कार्यक्रम’ सञ्चालन भएको १३ गाविस मध्ये शुक्रबार फत्तेपुरले खुल्ला दिशामुक्त गाविसको सूँचीमा आफ्नो नाम लेखाएको हो । यसअघि जिल्लाका १५ गाविस र कोहलपुर नगरपालिका खुल्ला दिशामुक्त भइसकेका छन्, भने बाँकी गाविस र नेपालगन्ज उपमहानगरपालिकाका वडाहरु पनि धमाधम खुल्ला दिशामुक्त भइरहेका छन् ।

कार्यक्रममा नृत्य प्रस्तुत गर्दै फत्तेपुरका थारु युवती ।
कार्यक्रममा नृत्य प्रस्तुत गर्दै फत्तेपुरका थारु युवती ।

स्थानीय विकास अधिकारी अध्यक्ष रहेको डीवाइसीसी कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षभित्र बाँके जिल्लालाई खुल्ला दिशामुक्त गर्ने काम दु्रतगतिमा अघि बढिरहेको स्थानिय विकास अधिकारी जीवलाल भुसालले जानकारी गराए । कूल ३४ गाविस र एक उपमहानगरपालिका र एक नगरपालिका रहेको यस जिल्लालाई तोकिएको समयमा खुल्ला दिशामुक्त घोषणा गर्न अहिले सरोकारवालालाई हम्मे हम्मे समेत परेको छ । ‘काम दु्रतगतिमा अघि बढिरहेकाले हामी तोकिएको समयमा सफल हुन्छौ भन्ने विश्वासमा छौ’, भुसालले भने ‘नेपालगन्ज क्षेत्रमा अलि कठिनाइ देखिए पनि घरधुरीलाई सम्झाई—बुझाई र कडाइका साथ योजना अघि बढिरहेको छ ।’ फत्तेपुरमा खुल्ला दिशामुक्त अभियान शुरु गर्दा २७ प्रतिशत घरधुरीसँग मात्र शौचालय थियो ।

कूल २० हजार ३६ जनसंख्या र तीन हजार १५१ घरधुरी रहेको सो गाविसमा डेढ वर्षको प्रयासपछि शत प्रतिशतको घरमा शौचालय निर्माण भएको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रबि तुलाधरले बताए । सो गाविसमा आयोजित समारोहमा सांसद देवराज भारले १२ बुँदे फत्तेपुर गाविसको प्रतिवद्धता सहित खुल्ला दिशामुक्त गाविस घोषणा गरेका हुन् । समारोहमा गाविस खुल्ला दिशामुक्त भएकोमा जिल्ला विकास समितिका तर्पmबाट सो गाविसलाई रु. एक लाख उपलव्ध गराइएको छ, भने खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले रु. ५० हजार पुरस्कार दिएको छ । त्यस अवसरमा सो गाविसलाई खुल्ला दिशामुक्त बनाउने अभियानमा सहयोग पु¥याउने बाँके युनेस्को क्लब लगायत विभिन्न संस्थालाई कदर पत्र प्रदान गरिएको थियो । समारोहमा स्थानीय थारु र मधेसी समुदायका कलाकारले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Womui
Womui