घुम्ती सेवाबाट राप्तीपारीका सयौं लाभान्वित

77

नेपालगन्ज, बैशाख २०–
सडक र यातायातको असुविधाका कारण जिल्ला सदरमुकामबाट निकै दुर्गममा परेका बाँकेको राप्तीपारी बघौडा क्षेत्रका सयौं बासिन्दा एकिकृत घुम्ती सेवा शिवीरबाट लाभान्वित भएका छन् । बाँके जिल्लाको बघौडा क्षेत्रका होलिया, गंगापुर, मटैहिया र नरैनापुर गरी ४ वटा गाविसका बासिन्दालाई लक्षित गरेर गंगापुर गाविसको गंगापुरमा एकिकृत घुम्ती सेवा शिविरको आयोजना गरिएको थियो । गंगापुर गाविसको समन्वयमा स्थानीय सुशासन कार्यक्रम अन्तर्गत आयोजना गरिएको सो घुम्ती सेवा शिविरमा स्थानीय सेवा प्रदायक निकायहरु, गाविस, स्वास्थ्य चौकी र पशु कार्यालय लगायतले समुदायलाई आवश्यक सेवा प्रदान गरेको गंगापुर गाविसका सचिवले बताए । शिविरमा स्वास्थ्य चौकीका कर्मचारीहरुले सेवा लिन चारवटै गाविसका आएका ५४ जना महिला र ३१ पुरुष गरी ८५ जनाको स्वास्थ्य जाँच गरी औषधि समेत उपलब्ध गराईएको उनले बताए ।

Ghumti Sibir- Raptipari

यसैगरी पशु कार्यालयबाट खटिइएका पशु चिकित्सकले ५२ घरधुरीका ४ सय ३३ पशुलाई रोग विरुद्ध खोप लगाएका थिए, भने गाविसले घटना दर्ता, जन्म दर्ता, विवाह दर्ता गरी १४ जना सेवाग्राहीलाई सेवा प्रदान गरेको थियो । सोही प्रकारले तीन दर्जन बढीले नागरिकताको सिफारिश प्राप्त गरेका थिए । जनताको घरदैलोमै आएर सेवा प्रदान गरिएकोले स्थानीय बासिन्दालाई सहज भएको गंगापुरका स्थानीय राम फेरन बर्माले बताए । उनले सेवा लिन टाढा जान नसक्ने र कुन सेवा कसरी लिने भन्ने जानकारी समेत नभएका स्थानीयलाई घरदैलोमै आइ सेवा दिनु सराहनीय रहेको बताए । बिशेष गरी स्वास्थ्य सेवाको पहुँचमा नरहेका सो क्षेत्रका बासिन्दाले सो शविरबाट राम्रो सेवा पाएको अर्का स्थानीय मकबुल पठानले बताए ।

शिविरमा महिलाको सहभागिता धेरै भएको उनको भनाई छ । दुर्गम गाविसका अति विपन्न र सीमान्तकृत वर्गको सरकारी सेवामा पहुँच बढाउनका निमित्त गाविसको समन्वयमा घुम्ती सेवा शिविर संचालन गरिएको साझेदारी विकास परियोजनाका कार्यक्रम संयोजक साजिद अली सिद्दीकीले बताए । बाँके युनेस्को क्लबद्धारा युएसएड पैक्टको संयुक्त साझेदारीमा संचालित साझेदारी विकास परियोजनाको स्थानीय सुशासन कार्यक्रम अन्र्तगत बघौडा क्षेत्रमा सो एक दिने घुम्ती सेवा शिविर सम्पन्न गरिएको हो ।

Womui
Womui