अपहरित युवकलाई नेपाल र भारतका प्रहरीले मुक्त गराए

52

नेपालगन्ज, बैशाख ४–
छिमेकीको मुख्य योजनामा अपहरणमा परेका एक युवकलाई प्रहरीले अपहरण मुक्त गराउन सफल भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २६ का मुन्ना भन्ने मुन्नन नाउको मुख्य योजनामा सोही ठाउँका १८ बर्षिय मुन्ताज नाउको अपहरण गरिएको थियो । भारत, बहराईचस्थित रिसिया बजारमा अस्थायी रुपमा बस्दै आएका मुन्ननको डेरामा बन्धक बनाएर राखेको अवस्थामा नेपाल र भारतीय प्रहरीको संयुक्त प्रयासबाट अपहरित मुन्ताजलाई ६ दिनपछि मुक्त गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दियो ।

भारतबाट सकुशल अपहरण मुक्त भएका मुन्ताज नाउ(दायाँ) ।
भारतबाट सकुशल अपहरण मुक्त भएका मुन्ताज नाउ(दायाँ) ।

अटोरिक्सा चलाउने मुन्ताज गत चैत २६ गते भारतको रुपैडिहाबाट अपहरणकारीको नियन्त्रणमा परेका थिए । रुपैडिहा पुगेका मुन्ताजलाई नेपालगन्ज फर्किने क्रममा एक महिलाले आफ्नो सामान रहेको भन्दै रुपैडिहादेखि दक्षिणमा रहेको बगियामा पु¥याएकी थिईन् । बुर्काले मुख छोपेकी ती महिला मुख्य योजनाकार मुन्ननकी श्रीमति (आस्मिन नाउ) हुन् । आफु रिक्सा लिएर बगियामा पुग्ने वित्तिकै मुन्नन र शिवकुमार पाठकले जवरजस्ती मुख, आँखा र हात बाँधेर मोटरसाईकलमा बसाएर लगेको पीडित मुन्ताजले बताए । ‘बन्धकमा राखेपछि पहिलो रात दुई वटा समोसा र पानी खान दिए, त्यसपछि राम्रोसँग खान समेत दिएनन, सधै ज्यान मार्ने धम्की मात्रै दिन्थ्ये,’ पीडितले सुनाए । मुन्ताजलाई सोही दिन राती बहराईचस्थित रिसिया बजारमा रहेको मुन्ननको डेरामा बन्धक बनाएर राखी अपहरणकारीले पटक–पटक फोन गरेर परिवारसँग फिरौती मागेका थिए ।

प्रहरीका अनुसार मुन्ताजका बाबु याकुव अली नाउको मोबाईलमा भारतीय नम्बरबाट पटक–पटक फोन गरेर ‘तिम्रो छोरा मेरो कब्जामा छ, उसलाई छुटाउने भए २५ लाख नगद लिएर रुपैडिहाको रेल्वे स्टेशनमा आउनु नत्र मारेर फालिदिन्छौं’ भनी फोन गरेर डर, धम्की दिएका थिए । त्यसपछि बाँके प्रहरीले डिएसपी भिमकिरण बोगटीको नेतृत्वमा ‘ईगल’ अप्रेशन सञ्चालन गरेर भारतीय प्रहरीसँग समन्वय गरी खोजीकार्य सुरु गरेको थियो । फोन गरेर २५ लाख भारतीय रुपैयाँ फिरौती मागेका अपहरणकारी १५ लाखमा झरी बार्गेनिङ गरेका थिए । बैशाख २ गते अपहरित मुन्ताजको मोबाईलबाट फोन गरी सोही दिनको २ बजे फिरौती रकम लिएर भारत रुपैडिहास्थित रेल्वे स्टेशनमा आई सदिक भन्ने व्यक्तिलाई रकम दिन अपहरणकारीले परिवारलाई भनेपछि दुवै देशका प्रहरीले निग्रानी बढाएका थिए । सोही दिन २ बजे दुई देशको संयुक्त प्रहरी टोलीले फिरौती माग गर्ने अपहरणकारी शिवकुमार पाठकलाई नियन्त्रणमा लिएको थियो ।

पाठककै बयान अनुसार भारतीय प्रहरीको समन्वयमा रिसिया बजारस्थित मुन्ननको कोठामा छापा मारी मुन्ताजलाई सकुशल उद्धार गर्न सफल भएको प्रहरी उपरिक्षक राईले जानकारी दिए । सोही स्थानबाट अपहरणमा संलग्न चार जना सहित एक थान कटुवा पेस्तोल, दुई राउण्ड गोली, ५ थान मोबाईल सेट र एउटा भारतीय नम्बरको मोटरसाईकल बरामद गरिएको उनले बताए । अपहरणमा संलग्न मुन्नन नाउँ, शिवकुमार पाठक, राजु भन्ने सत्तार खाँ र आस्मिन नाउलाई भारतीय प्रहरीले आफ्नो नियन्त्रणमा लिएर कानुनी कारबाही प्रक्रिया अगाडी बढाएको छ । पक्राउ परेका मुन्नन, पाठक र राजु यसअघि पनि विभिन्न अपराधिक कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

Womui
Womui