उपमहानगरलाई खुला दिसापिसाव मुक्त घोषणा गर्न ‘असफल’

181

नेपालगन्ज, फागुन २९–
तोकिएको समयभित्र नेपालगन्ज उपमहानगरपालिकालाई खुला दिसापिसाव मुक्त(ओडिएफ)नगर घोषणा गर्ने कार्यक्रम अन्ततः ‘असफल’ भएको छ । उपमहानगरपालिकाले यही फागुन मसातभित्रमा २८ वटै वडालाई समेटेर खुला दिसापिसाव मुक्त नगर घोषणा गर्ने लक्ष्य लिएको थियो । कार्यकारी अधिकृत हेमराज भुसालले फागुन महिना सकिन दुई दिन मात्र समय बाँकी रहदाँ लक्ष्य अनुसार खुला दिसापिसाव मुक्त घोषणा कार्यक्रम गर्न नसकिएको स्वीकार गरेका छन् ।

NPJ Upamanagar

समय अभावका कारण लक्ष्य अनुसारको ओडिएफ घोषणा कार्यक्रम गर्न नसकेपनि कामको तिव्रता अगाडी बढाइएको उनले दाबी गरे । ‘सबैको सहयोग र सहभागिता भएमा खुला दिसापिसाव मुक्त नगर घोषणा गर्न सकिन्छ,’ भुसालले भने ‘यो अभियानमा विशेषगरी राजनीतिक दल, सामाजिक संघ संस्था र सञ्चार क्षेत्रको अहम भूमिका हुन्छ ।’ तत्कालिन कार्यकारी अधिकृत विष्णुप्रसाद भुसालको राजनीतिक दवावमा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा गरिएपछि नेपालगन्ज उपमहानगरपालिका कार्यालय करिव डेढ महिना सम्म प्रमुख विहिन बनेको थियो । यसले गर्दा खुला दिसापिसाव मुक्त अभियान कार्यक्रम पुरै प्रभावित भएर तोकिएको समयभित्र घोषणा गर्न कठिन भएको हो ।

डेढ साता अघि मात्र कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्न आइपुगेका हेमराज भुसालले पनि खुला दिसा पिसाव मुक्त कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् । ‘ओडिएफ घोषणालाई प्राथमिकता दिएर हामीले अगाडी बढाइरहेका छौं, तर सबैको साथ र सहयोग भने चाहिन्छ,’ उनले थपे । उपमहानगरपालिका स्रोतका अनुसार कुल २४ हजार ९ सय ९८ घरधुरी मध्ये हाल सम्म १६ हजार १ सय ८२ घरधुरीले मात्र शौचालय बनाएको पाइएको छ । अझै आठ हजार ८ सय ५२ घरधुरीले शौचालय बनाउनुपर्ने देखिएको छ । नगरबासीले समयमा आफ्ना घरमा शौचालय नबनाउँदा चुनौती उत्पन्न भएको उपमहानगरपालिकाका कर्मचारी बताउँछन् ।

उपमहानगरपालिकाले यसवर्ष पहिलो प्राथमिकता नै खुला दिसापिसाव मुक्त अभियानलाई दिएको छ । सोही अभियानलाई मध्यनजर गर्दै सेवाग्राही कार्ड वितरण कार्य समेत गरिदै आएको छ । सरकारले मुलुकलाई सन् २०१७ सम्म पूर्णरुपले खुल्ला दिसापिसाव मुक्त देश घोषणा गर्ने लक्ष्य लिएको छ ।

Womui
Womui