एसिड आक्रमणमा परेकी चौधरीको अवस्था खतरामुक्त

134

नेपालगन्ज, फागुन २९–
दाङको घोराहीमा एसिड आक्रमणमा परेकी ३५ वर्षीया रिता चौधरीलाई थप उपचारका लागि मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको छ । बिहिबार साँझ ७ बजेतिर दाङको घोराही नगरपालिका–२ स्थित प्रहरी स्कुल नजिकै किराना पसलमा मास्क लगाएका अपरिचित व्यक्तिले चौधरी माथि एसिड प्रहार गरेर भागेका थिए ।

एसिड प्रहारबाट चौधरीको दाहिने गाला, आँखाको नजिकको भाग, घाँटी र छातीमा समेत चोट लागेको छ । दाङको घोराहीस्थित उपक्षेत्रीय अस्पलातमा प्राथमिक उपचार पछि उनलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको थियो । कोहलपुरले थप उपचारका लागि शिक्षण अस्पताल नेपालगन्जमा रिफर गरेपछि शुक्रबार साझ उनलाई शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको छ ।

शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएकी घाईते ।
शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएकी घाईते ।

मास्क लगाएको एक व्यक्तिले चुरोट दिनु भन्यो, अर्को ब्यक्ति मोटरसाइकलमा थियो । चुरोट दिइ सकेपछि फेरि नमकिन दिनु भन्यो नमकिन दिंदै गर्दा एसीडले छ्यापेर उनीहरु मोटरसाइकलमा चढी फरार भएको घाइते चौधरीकी आमा गुधासी चौधरीले बताइन् । उनको स्वास्थ्य अवस्था खतरामुक्त छ। एसिडले जलेकी चौधरीको प्लाष्टिक सर्जरी गरेर थप उपचार गरिने उपचारमा संलग्न प्लाष्टिक सर्जन डा. विनोद कर्णले बताए । शनिबार दिउसो २ बजे पहिलो चरणको अप्रेशन गर्ने गरी उपचारको प्रबन्ध मिलाइएको कर्णले बताए ।

कस्ले के कारणले चौधरी माथि एसिड आक्रमण गरेको हो ? भन्ने बिषयमा अनुसन्धान भईरहेको दाङका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए । एसिड आक्रमणमा संलग्न भएको ब्यक्तिलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय दाङले विशेष टोली परिचालन गरेको छ । आर्थिक लेनदेन ,जग्गा लगायत अन्य विवाद भएका ब्यक्तिले नै एसिड आक्रमण गराएको भन्दै धाइतेका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएका छन । एसिड आक्रमणमा संलग्न भएको व्यक्तिको पहिचान भइ सकेकाले छिटटै पक्राउ पर्ने प्रहरी उपरीक्षक कडायतले बताए ।

Womui
Womui