भाइरल ज्वरोले सुर्खेतमा दुईको मृत्यु

50

सुर्खेत, फागुन २७–
जिल्लाको पश्चिम क्षेत्र लगाममा भाइरल ज्वरोले एकै परिवारका दुई जनाको मृत्यु भएको छ । सोमबार ७० वर्षीय मानसिंह साउद र मंगलबार बेलुका ५५ वर्षीय खड्कबहादुर साउदको भाइरल ज्वरोले मृत्यु भएको जानकारी स्थानीय शिक्षक तोजबहादुर खड्काले दिए । केहीदिन यता फैलिएको भाइरल ज्वरो र रुघाखोकीले लगाममा महिला, बालबालिका र बूढाबूढी गरी एक सयभन्दा बढी बिरामी छन् । उच्च ज्वरो र रुघाखोकीले लगाम–५, तालागाउँका ५८ घरधुरीका सबै बिरामी परेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयलाई यसबारे जानकारी गराए पनि अहिलेसम्म उपचार र औषधि पाउन नसकिएको खड्काले बताए । तालागाउँबाट बाँसपानी स्वास्थ्यचौकी पुग्न पाँच घण्टा लाग्छ । ‘गाउँका सबै बिरामी परेपछि अहिले मलामी पाउन पनि समस्या छ,’ शिक्षक खड्काले भने, ‘समयमै औषधि र स्वास्थ्यकर्मी नआए अझै मानवीय क्षति हुने अवस्था छ ।’ जिल्ला जनस्वास्थ्य कार्यालयले प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पठाइसकेको जनाएको छ ।

Womui
Womui