भव्य समारोहका बीच कांग्रेस महाधिवेशन उद्घाटन

184

काठमाडौं, फागुन २०–

नेपाली काँग्रेसको ऐतिहासिक १३ औं महाधिवेशन भव्य समारोहका बीच बिहीबार राजधानीमा उद्घाटन गरिएको छ । खुलामञ्चमा कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले महाधिवेशनको उद्घाटन गरेका हुन् । सभालाई सम्वोधन गर्दै पौडेलले महाधिवेशनले कांग्रेसको भावी कार्यदिशा के हुने भन्नेबारे विश्लेषण गर्नैपर्ने बताए । सुशीलको नेतृत्वमा संविधान आएको बताउँदै पौडेलले अब संविधानको कार्यान्वयन गर्दा प्रजातान्त्रिक समाजवाद साकार हुने बताए । उनले भने, ‘अब भारत र दुनियाँले देख्नेछन, हिमालको फेदमा कस्तो समाज बन्यो, अब संविधान कार्यान्वयन कांग्रेसले गर्छ ।’ पौडेलले राजनीति गर्नेहरुको आलोचना हुने गरेको भन्दै कहिले काँही त आत्महत्या गरौं जस्तो लागेको बताए । ‘कहिलेकाँही मिडिया र सामाजिक सञ्जालमा राजनीति गर्नेहरुलाई गाली गरेको सुन्दा मलाई आत्महत्या गरौंजस्तो लाग्छ,’ उनले थपे । वरिष्ठ नेता शेरबहादुर देउवाले देशका समस्या कांग्रेसले मात्रै समाधान गर्ने बताए ।

Congresh 1

भूकम्प लगत्तै भोग्नुपरेको नाकाबन्दीले धेरै समस्या र चुनौति थपिएको चर्चा गर्दै देउवाले त्यसको समाधान कांग्रेसको नेतृत्वले मात्रै गर्नसक्ने बताए । संक्षिप्त मन्तव्य राख्दै देउवाले भने, ‘यो चुनौतिको सामना अरु कसैले गर्न सक्दैन, हाम्रो पार्टीले गर्न सक्छ, त्यो क्षमता हाम्रो नेतृत्वमा छ ।’ नेपाली कांग्रेसलाई र देशलाई व्यवहारमै पूर्ण समानुपातिक बनाउने बताए । महामन्त्री प्रकाशमान सिंहले अब संस्थापक नेताहरुको नाम भजाएर मात्र जनताले कांग्रेसलाई नपत्याउने बताए । कांग्रेसले अब संविधान कार्यान्वयन गरेर आर्थिक क्रान्ति अघि बढाउनु पर्ने उनले बताए । सिंहले भने, ‘संस्थापक नेताहरुको नाम मात्र भजाएर अब जनताले हामीलाई पत्याउने छैनन् । अब संविधान कार्यान्वयन गरेर स्थिरता र राजनीतिक उपब्धिहरुको संरक्षणका लागि आर्थिक क्रान्ति आवश्यक छ ।’

अर्का महामन्त्री कृष्णप्रसाद सिटौलाले साँघुरो चित्त गरेर नेपाल बनाउन नसकिने भन्दै अब कांग्रेसले आफ्नै इतिहास र आचरणको समीक्षा गर्नुपर्ने बताए । निकै भावुक भएर बोलेका सिटौलाले नेपाली कांग्रेस अहिलेपनि गिरिजाप्रसाद कोइरालाको राजनीतिक लाइनका आधारमा अगाडी बढिरहेको बताए । १२ बुँदे समझदारीकै कार्यदिशाबाट अहिले मुलुक यो ठाउँसम्म आइपुगेको सिटौलाले बताए । उद्घाटन शत्रलाई प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकिकृत माओबादी अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पुर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छेदार, भारत लगायत विभिन्न देशबाट आएका राजनीतिक दलका नेता लगायतले सम्बोधन गरेका थिए ।

Congresh 2

उद्घाटनस्थल पार्टीको चारतारे झन्डा, पार्टीका ब्यानर, उम्मेदवारका प्रचारका ब्यानर तथा पोस्टरले भरिएको छ । खुलामञ्चमा आवश्यक सरसफाइ गरिएको छ । महाधिवेशनको तयारीका लागि राजधानी प्रवेश गर्ने स्थान तथा चोकचोकमा महाधिवेशन सम्बन्धी तुल, ब्यानर, होर्डिङबोर्ड, पोस्टर र नगरमा पार्टीको चारतारे झन्डा फहराइएको छ । बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर जवरा, गिरिजाप्रसाद कोइराला तथा सुशील कोइरालाका तस्बिर र नारा लेखिएका ब्यानर टाँसिएका छन् । महाधिवेशनमा भाग लिन काँग्रेसको विधान अनुसार २४० निर्वाचन क्षेत्रबाट समावेशी समानुपातिक प्रतिनिधित्वसहित १२ जनाका दरले दुई हजार ८ सय ८० प्रतिनिधि, भ्रातृ एवम् शुभेच्छुक १८ संस्थाका ९८, विदेशस्थित १७ जनसम्पर्क समितिका १२६ जना महाधिवेशन प्रतिनिधि राजधानीमा पुगेका छन् । त्यस्तै वर्तमान केन्द्रीय समितिका पदाधिकारी एवम् केन्द्रीय सदस्य ८४ गरी तीन हजार १ सय ८८ महाधिवेशन प्रतिनिधि महाधिवशेनमा सहभागी भएका छन् ।

 Congresh 3

महाधिवेशनले चयन गर्ने सभापति पदका लागि रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दिएका छन् । पौडेलको प्यानलबाट डा. सशांक कोइरालाले महामन्त्रीको उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ नेता शेरबहादुर देउवाले महामन्त्रीमा नेता अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादवलाई लिएर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि महामन्त्रीमा युवानेता गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीलाई लिएर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । सभापतिमा उठ्ने घोषणा गरेकी नेतृ सुजाता कोईरालाले भने रामचन्द्रलाई सर्मथन गर्दै उम्मेदवारी फिर्ता लिने बताएकी छन् ।

Womui
Womui