उपचार गर्ने पैसा नहुँदा सुत्केरीको याचना

73

नेपालगन्ज, फागुन २१–
रकम अभावले गर्दा आगोमा जलेर गम्भिर घाईते भएकी सुत्केरी आमाको उपचारमा समस्या भएको छ । सोरहवा–१ बर्दियाकी २० बर्षिया रविना थारुको उपचार गर्न कठिनाई भएको हो । स्थानीय भेरी अञ्चल अस्पतालमा उपचार गराइरहेकी उनलाई सुविधायुक्त अस्पतालमा लैजान डाक्टरले रिफर गरेपनि आफैले लैजान नसकेका हुन् । बिरामी कुरुवा साहसरानी थारुले भेरी अस्पतालले काठमाडौं लैजान रिफर गरिसक्दा पनि बिरामी उठाउन नसकेको दुखेसो पोख्दै भनिन् ‘सकेजति नेपालगन्जमा उपचार गरिसक्यौं, पैसा नभएपछि बाहिर लैजान सकेका छैनौ, सहयोगको याचना गर्नु बाहेक अरु उपाय देखेनौं ।’

भेरी अञ्चल अस्पतालमा भर्ना गरिएकी घाईते सुत्केरी रविना थारु ।
भेरी अञ्चल अस्पतालमा भर्ना गरिएकी घाईते सुत्केरी रविना थारु ।

भेरी अञ्चल अस्पतालमै फागुन ५ गते रविना सुत्केरी भएकी थिईन् । सरल रुपमा सुत्केरी भएकी उनलाई अस्पतालले भोलीपल्टै डिस्चार्ज गरिदियो । नवजात शिशुको स्याहार–सुसारमा उनी घरमै बसिरहेकी थिईन् । आफन्ताक अनुसार बच्चालाई सेक्न घरमा बालिएको आगोमा भिजेका कपडा सुकाउने क्रममा उनको शरिरको कपडा( मेक्सी) लाई आगोको लप्कोले समात्यो र उनको शरिरमा आगो लाग्यो । साहसरानीले अगाडी भनिन् ‘शरिरको कपडामा सल्केको आगो निभाएर तत्कालै भेरी अस्पतालमा ल्यायौं, घाईतेको स्वास्थ्यमा यहाँ त्यति सुधार आएन ।’ नेपालगन्जमा बसेर उपचार गराउँदा अहिले सम्म १६ हजार रुपैयाँ खर्च भइसकेको छ । पैसा नहुँदा थप उपचारका लागि काठमाडौं लैजान आँट्नै नसकेको आफन्तले बताएका छन् ।

चिकित्सकका अनुसार घाईते सुत्केरीको दुबै खुट्टादेखि कम्मर सम्मको भाग जलेको छ । सुत्केरी आमा घाईते भएर थला परेपछि नवजात शिशुलाई जोगाउन समेत समस्या भइरहेको आफन्तले बताएका छन् । घाईते रविनाका पति मजदुरीका लागि भारतमा छन् । श्रीमतिलाई सुत्केरी गराएर श्रीमान राजु थारु केहीदिन अघि मात्र भारत गएका थिए । परिवारमा अरु कोही सदस्य नभएका कारण आफैले उपचार गराउन ल्याएको साहसरानीको भनाई छ । घाईते सुत्केरीको उपचारका लागि गाउँलेहरुले चन्द संकलन समेत गरेका छन् । चन्दा संकलनबाट करिव ५ हजार रुपैयाँ संकलन भएपनि अपुग भएको स्थानीय बासिन्दाले बताए ।

संकटमा परेका महिलाको उपचार र उद्धारको काममा प्रयोग गर्न भन्दै जिल्लामा स्थापित कोषमा रकम छ । यद्यपी उक्त कोषको रकम भने प्रयोग हुदैन । बाँकेस्थित लैंगिक हिंसा निवारण कोषमा अहिले ७० हजार २ सय रुपैयाँ छ । महिला तथा बालबालिका कार्यालय बाँकेका प्रवक्ता विन्दु कुँवरले रविनालाई उपचारको व्यवस्था मिलाउन समन्वय भइरहेको बताईन् । ‘सिडिओको अनुमतीमा कोषको रकम एकदमै गरिब, विपन्न र आगलागीमा परेका घाईतेलाई सहयोग गर्न सकिन्छ,’ उनले भनिन् ‘बाँकेमा स्थापित कोषको रकम बाहिरका व्यक्तिलाई दिन नमिल्ने भएकाले हामीले रविनाको उपचार व्यवस्था मिलाउन सम्वन्धित जिल्लालाई सिफारिस गरिदिएका छौं ।’

Womui
Womui