पाइलटले भनेका थिए– ‘हामी मरेर भएपनि तपाईहरुलाई बचाउँछौ’

67

दामोदर भण्डारी
नेपालगन्ज, फागुन १५–
नेपालगन्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको जहाज शुक्रबार कहालि लाग्दोसँग दुर्घटना भयो । नेपालगन्जबाट उड्दा जब जहाजले जमिन छोड्न थालेको थियो, पाइलटले शुरुमै यात्रुहरुलाई भनेका थिए, ‘तपाईहरु राम्रोसँग बस्नु होला है ।’ जहाज आकाशमा उडिरहँदा सबै यात्रु आ–आफ्नै धुनमा थिए । जब जहाज कालिकोट प्रवेश गर्यो, जहाज धेरै उचाइमा पनि थिएन् । पहाडको खोचबाट जुम्लातर्फ जाँदै थियो । पाइलटको छेउमै बसेका थिए, जुम्ला चन्दननाथ–५ निवासी ३१ बर्षिय धनन्जय खत्री पनि । उनले पाइलटले जहाज चलाएको विभिन्न स्विचहरु यताउता हल्लाएको निकै चासो दिएर हेरिरहेका थिए ।

घाईते मेघराज गिरी ।
घाईते धनन्जय खत्री ।

जहाजमा एक्कासी घड्यांग–घुडुंगको आवाज आएको सुने उनले । ‘विग्रन थालेको गाडीको गियर चेन्ज गरे जस्तो भयो । अनि पंखा पनि घुम्न छाड्यो । पाइलटले जहाजभित्र जडान भएका विभिन्न वस्तुहरु थिचेको थिच्यै गरिरहे,’ घाइते यात्रु खत्रीले भने । जहाजमा खराबी आएदेखि नै छेउमै बसेका पाइलट दिनेश न्यौपानेसँग खत्रीको दोहोरो संवाद चलिरहेको थियो । जहाजमा समस्या आएपछि पाइलट न्यौपानेको निर्देशन बमोजिम खत्रीले अन्य यात्रुलाई सम्झाउँदै ‘पाइलटले नआँत्तिन भन्नु भएको छ केही हुँदैन सबै ठिक हुन्छ,’ पाईलटले खत्रीमार्फत नै सबै यात्रुलाई आफ्नो सिटबेल्ट बाँध्न पनि अनुरोध गरे । इन्जिन बन्द भएपछि जहाज आकाशमै कहिले यता कहिले उता घुम्न लाग्यो । खत्रीले सिटबाट खसेका केही यात्रुलाई उठाएर पुनःसिटमा समेत राखे । ‘जहाजभित्र सबै बचाउ–बचाउ भन्दै चिच्याउन थाले, पाईलट न्यौपानेले जोरले कराएर भने ‘कोही नआत्तिनुस् हामी मरेर भएपनि तपाइहरुलाई बचाउँछौं’ दुर्घटना हुन लागेको जहाज भित्रको दृश्य अवस्था सुनाउँदै खत्रीले भने ‘त्यतिकैमा जहाज ड्याम्म जमिनमा बजारियो ।’ खत्री जहाजभित्र बस्दादेखिनै पाइलट न्यौपानेका सबै क्रियाकलाप हेरिरहेका थिए ।

 Dinesh Neupane

खत्रीका अनुसार, एकछिन के–हो के–हो जस्तो भयो, सन्नाटा छायो । तर खत्री जहाज दुर्घटना हुँदासम्म पनि पुरै होस्मा थिए । उनले जहाज दुर्घटना भएपछि पछाडी फर्केर हेर्दा कसैको टाउकोबाट रगत बगिरहेको कोही लडेको दुश्य देखे । ‘सबै ऐया–ऐया भन्दै चिच्याइरहेका थिए । पाइलटतिर हेरेको त उहाँ केही नबोलेको चालचुल नगरेको देखें,’ खत्रीले दुर्घटना विवरण सुनाउदै भने ‘मैले पाइलट दिनेश न्यौपानेलाई हातले कोट्याए, उहाँ केही बोल्नु भएन, च्यापिएको हुनुहुन्थ्यो, उहाँको दुर्घटना हुने वित्तिकै मृत्यु भइसकेको थियो ।’ अनि स्थानीय गाउँलेहरु आएर सबैको उद्धार गरेको घाइते खत्रीले बताए ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेका खत्रीले जहाज दुर्घटना सपना जस्तो लागिरहेको बताएका छन् । घाइते खत्रीको बाँया खुट्टा भाँचिएको छ । खत्री जिल्ला कृषि विकास कार्यालय जुम्लामा कार्यरत छन् । जुम्ला बजारमा एग्रोभेट पसल समेत राखेका खत्रीले नेपालगन्जस्थित सगरमाथा एग्रोभेटबाट मालसामान लिएर जाँदै थिए । दुर्घटनामा घाईते भई शिक्षण अस्पताल कोहलपुरमा उपचार गराईरहेकी जुम्ला,चन्दननाथ–५ निवासी १६ बर्षिया सोनाली भट्टचनले आफुलाई सपना जस्तो लागिरहेको बताईन् । मान्छेलार्ई एकोहोर भएर हेरेको हे¥यै गर्ने सोनालीले आफुलाई अझै डर लागिरहेको बताइन् । ‘जहाज फनफनी घुमेको थाहा पाउँछु, त्यतिकैमा जहाज तल झ¥यो ।’ उनी जुम्ला चन्दननाथ उच्चमावि कक्षा १० मा अध्यनरत छिन् । उनले यसै बर्ष एसएलसी दिंदैछिन् । दुर्घटनामा चालक दलका दुई सदस्यको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा पाइलट २९ बर्षिय दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको मृत्यु भएको हो । दुर्घटनामा ९ जना यात्रु भने बाँच्न सफल भएका हुन् । जुम्ला चन्दननाथ नगरपालिका वडा नम्वर ६ निवासी ३५ बर्षिय मेघराज गिरी, सोही ठाउँका २५ बर्षिय जगदम्वा खत्री(गिरी) र छोरा अनिल गिरी, चन्दननाथ नगरपालिका वडा नम्वर ७ बस्ने ३७ बर्षिय गणेश भट्टचन, सोही ठाउँका १६ बर्षिय सोनाली भट्टचन, चन्दननाथ–६ बस्ने ३० बर्षिया लक्ष्मी सुनार, नुवाकोट थाङ–३ निवासी धुव्रप्रसाद भण्डारी, जुम्ला पटमारा–७ का ३४ बर्षिय लक्ष्मण खड्का र जुम्ला चन्दननाथ–५ का ३१ बर्षिय धनन्जय खत्री घाइते भएका छन् । नेपालगन्जबाट शुक्रबार दिउँसो १२ः१५ बजे जुम्लाका लागि उडेको 9NA JB जहाज १२ः २७ बजे सम्पर्क विहिन भएको थियो । कालिकोटको चिलखाया गाविस वडा नम्वर २ मा दुर्घटनामा परेको हो । जहाजमा प्राविधिक समस्या आएपछि फोर्स ल्याण्डिङ गर्ने क्रममा दुर्घटना भएको बताइएको छ । दुर्घटनामा ज्यान गुमाएका पाइलट न्यौपाने नेपालगन्ज–१६ कोरियनपुर र को–पाइलट राना पाल्पा स्थायी घर भई हाल काठमाडौं निवासी हुन् ।

Womui
Womui