स्थानीय स्वास्थ्य संस्थामा राजनीतिकरण

107

नेपालगन्ज, फागुन १४–
विवादास्पद निर्देशिकालाई सरकारले कार्यान्वयनमा ल्याएसँगै बाँकेस्थित स्थानीय ‘स्वास्थ्य संस्था व्यवस्थापन समिति’ भित्र राजनीतिक कार्यकर्ताले एकलौटी रुपमा नियुक्ती पाएका छन् । यसअघि उक्त समितिमा स्थानीय निकाय अन्तर्गतका निर्वाचित जनप्रतिनीधि(गाविस अध्यक्ष वा नगर वडा अध्यक्ष) तथा सचिव रहने सरकारको निर्देशिका थियो । स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन तथा सञ्चालन निर्देशिका–२०७१ कार्यान्वयनमा ल्याएर नेकपा एमालेले बाँके लगायत देशभरका स्थानीय सरकारी स्वास्थ्य संस्थामा आफ्ना कार्यकर्तालाई नियुक्ती दिएको हो ।

एमाले बाँकेको कार्यालयमा आयोजित ‘स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन तथा सञ्चालन’ सम्वन्धी गोष्ठीका सहभागि ।
एमाले बाँकेको कार्यालयमा आयोजित ‘स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन तथा सञ्चालन’ सम्वन्धी गोष्ठीका सहभागि ।

एमाले नेता एवम् तत्कालिन स्वास्थ्यमन्त्री खगराज अधिकारीले गोप्य रुपमा निर्देशिका परिवर्तन गरेर यस्तो व्यवस्था ल्याएको भन्दै सम्वद्ध सरोकारवाला संघ, संस्थाले विरोध जनाउँदै आएका छन् । उक्त व्यवस्थापन समिति नेपाल सरकारको साझा संस्थाको रुपमा चल्नुपर्नेमा एमालेका नेता, कार्यकर्ताको निर्देशनमा सञ्चालन हुन थालेपछि यसको चौतर्फी रुपमा विरोध भएको हो । विरोधका वाजजुत पनि सरकारी रकम खर्चेर बिहीबार नेकपा एमाले बाँके स्वास्थ्य तथा जनसंख्या विभागले आफ्नै पार्टी कार्यालय नेपालगन्जमा गोष्ठी आयोजना गर्यो । स्रोतका अनुसार कार्यक्रममा एमालेका नेता र कार्यकर्ताको मात्र उल्लेख्य मात्रामा सहभागिता रहेको थियो । सरकारी बजेटमा स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन तथा सञ्चालन सम्वन्धी अभिमुखिकरण गोष्ठी पार्टी कार्यालयमा आयोजना हुनुले समग्र जनताको स्वास्थ्य अवस्थामाथि खेलवाड गरेको सम्वद्ध सरोकारवालाको गुनासो छ ।

मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक भोगेन्द्रराज डोटेलले भने, ‘व्यवस्थापन समिति आफ्नो उद्धेश्य भन्दा बाहिर जान मिल्दैन, सरकारको मातहतमा रहेको यो समितिका कार्यक्रमलाई कुनैपनि पार्टीले चलाउन मिल्दैन ।’ आम सर्वसाधारणलाई सेवा पुर्याउने स्वास्थ्य जस्तो सम्वेदनशिल संस्थालाई राजनीतिकरण गर्न नपाइने उनले चेतावनी दिएका छन् । ‘पार्टी कार्यालयमा कार्यक्रम गर्नु नितान्त गलत हो,’ सदभावसँग डोटेलले भने । यता एमालेले भने आफ्नो बचाउ गर्दै पार्टीको मात्र नभएर समग्र जनताको साझा संस्था भएको जिकिर गरेको छ । एमाले बाँकेका अध्यक्ष अशोक कोईरालाले समितिका अध्यक्ष नेपाल सरकारको निर्णय अनुसार नियुक्त भएको दाबी गर्दै पदावधी तीन वर्षको रहने जानकारी दिए ।

नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रिय उपाध्यक्ष अंगत शाहीले स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन समितिले जनताको हकहितमा काम नगर्ने र त्यहाँ बसेर स्वास्थ्यमा राजनीति हुने संकेत देखिएको बताए । उनले भने, ‘यो समिति बद्मासी गर्ने व्यक्तिको थलो बन्ने पक्का छ, यसले कालान्तरमा एमालेलाई पनि फाईदा गर्दैन ।’ स्वास्थ्य संस्था व्यवस्थापन समिति समग्र जनताले विश्वास गर्ने खालको हुनुपर्ने उनको भनाई छ । उक्त कार्यक्रममा एमाले नेता एवम् सांसद दलबहादुर सुनार, एमाले बाँकेका अध्यक्ष अशोक कोईराला, जिल्ला उपाध्यक्ष निरक गुरुङ, स्वास्थ्य तथा जनसंख्या विभाग इन्चार्ज अछरी पोखरेल, एमाले स्वास्थ्य तथा जनसंख्या विभागका सचिव रामबहादुर चन्द लगायतले बोलेका थिए । गोष्ठीबाट जिल्ला सञ्जाल समेत गठन गरिएको बताइएको छ ।

Womui
Womui