नेतृत्वका लागि कानुन व्यवसायी मैदानमा

139

नेपालगन्ज, फागुन १३–
पुनरावेदन बार एशोसिएशन नेपालगन्जको ११ औं कार्यसमिति पदाधिकारी चयन गर्न दुई वटा प्यानल चुनावी मैदानमा होमिएका छन् । आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न यही फागुन १५ गते नेपालगन्जमा निर्वाचन हुदैछ । बिहान ९ बजेदेखि ४ बजे सम्म हुने निर्वाचनमा २ सय ८५ जना कानुन व्यवसायीले मतदान गर्ने भएका छन् । निर्वाचनका लागि लोकतन्त्रवादी र वामपन्थी विचार बोकेका कानुन व्यवसायी मैदानमा उत्रिएका हुन् । ‘वृहत लोकतन्त्रवादी समावेशी कानुन व्यवसायी समुह’(डिएलए) का तर्फबाट अधिवक्ता बलबहादुर चन्द र प्रगतिशिल कानुन व्यवसायीको समुहबाट विकास आचार्यले नेतृत्व गरेका छन् । चुनावको संघारमा दुवै प्यानलले प्रचार–प्रसार अभियानलाई तिव्र पारेको बताएका छन् ।

Bar Election

मतदातालाई घरदैलो मार्फत भेटघाट गरिरहेको दुबै प्यानलले बताएका छन् । वृहत लोकतन्त्रवादी समावेशी कानुन व्यवसायी समुहका तर्फबाट अध्यक्षका उम्मेदवार चन्दले कानुन व्यवसायीलाई भेटघाट गरेर अमुल्य मत माग्ने काम गरिरहेको बताए । ‘भेटघाट गरी कानुन व्यवसायी साथीहरुसँग अमुल्य मत मागेका छौं,’ उनले भने ‘डिएलएसको प्यानलबाट उठेका हामी सत्रै जनालाई विजयी गराउन हाम्रो अपिल छ ।’ प्रगतिशिल प्यानलका उम्मेदवार आचार्यले पनि तयारी तिव्र पारिएको बताएका छन् । ‘भोट माग्न व्यापक रुपमा अभियान चलाइरहेका छौं, कोही घरदैलोमा पुगेर, कोहीले फोन गरेर मत मागिरहेका छौं,’ उनले सुनाए । आफुले पुनरावेदन बारको सदस्य हुदै सचिव सम्मको जिम्मेवारी सम्हालिसकेको जानकारी दिदै उनले चुनाव जित्ने आधार यही भएको दाबी गरे ।

यता लोकतन्त्रवादी समुहका उम्मेदवार चन्दले आफ्नो चुनाव जित्ने आधार प्रसस्तै भएको जिकिर गरेका छन् । २०५६ सालमा पुनरावेदन बारको सदस्यमा निर्वाचित भएका चन्दले २०६६ सालमा बारको सचिव भएर चलाएका थिए । ‘कानुन व्यवसायीको पेशागत हकहित र सुरक्षा, संस्थागत विकासका लागि प्रतिवद्ध, बारको भवन निर्माण गर्न, बार र बेन्चको सम्वन्ध राख्न मैले गरेको योगदान मेरो जित्ने आधार हो,’ चन्दले भने । विगतमा आफुले गरेको कामको मुल्यांकन गर्दै कानुन व्यवसायीले यसपटक आफ्नो प्यानललाई विजयी गराएर नेतृत्वको अवसर दिने उनको विश्वास छ । आफु नेतृत्वको प्यानलमा मधेसी, महिला, मुस्लिम, दलित, आदिवासी जनजाती, अल्पसंख्य, पिछडिएका वर्गको प्रतिनिधीत्व भएको चन्दले जानकारी दिए ।

यस्तै आचार्यले पनि आफ्नो प्यानल समावेशी भएको बताएका छन् । लोकतन्त्रवादी कानुन व्यवसायी समुह(डिएलए)ले लगातार ५ औं पटक पुनरावेदन बार एशोसिएशन नेपालगन्जको नेतृत्व जमाउँदै आएको छ । यसले गर्दा प्रगतिशिल प्यानलका लागि यसपटकको निर्वाचन पनि फलामको चिउरा चपाए सरह हुने अग्रज कानुन व्यवसायी बताउँछन् । ‘लगातार पाँच कार्यकाल डिएलएले बारको नेतृत्व गर्दै आएको छ, बारको संस्थागत विकास र कानुन व्यवसायीको हकहित लगायत महत्वपुर्ण काममा डिएलएसका कानुन व्यवसायीको योगदान स्वभाविक रुपले बढी नै छ, त्यसकारण प्रगतिशिल प्यानलको पक्षमा चुनावी नतिजा आउन गाह्रो छ,’ एक वरिष्ठ अधिवक्ताले भने ।

डिएलएका सुरेशकुमार पौडेल, लोकबहादुर शाह, सुनिलकुमार श्रेष्ठ, ईश्वरीप्रसाद ज्ञवाली र खिमराज गिरीले लगातार पुनरावेदन बारको नेतृत्व गरिसकेका छन् । निकै चुनौतीका वावजुत पनि प्रगतिशिल प्यानलका उम्मेदवार आचार्यले डिएलए निकट कानुन व्यवसायीलाई साथमा लिएर चुनाव जित्ने रणनीति बनाएको बताएका छन् । ‘उहाँहरुलाई नै साथमा लिएर मैले सचिवको काम गरेको हुँ, यो चुनावमा पनि साथमै लिने मेरो उद्धेश्य छ ।’

Womui
Womui