जडिबुटीको बढ्दो अवैध कारोबार

85

नेपालगन्ज, फागुन १०–
नेपालगन्ज नाकाबाट प्रतिवन्धित जडिबुटीको अवैध कारोबार अझैपनि हुने गरेको पाइएको छ । सरकारले प्रतिवन्ध लगाएका ठुलो परिमाणका जडिबुटी पटक–पटक बरामद हुन थालेपछि यसक्षेत्रमा कारोबार भइरहेको तथ्य बाहिर आएको हो । कारोबार गर्ने तयारी अवस्थामा राखिएको ठुलो परिमाणको प्रतिवन्धित जडिबुटी झ्याउ सहित नेपाल जडिबुटी व्यवसायी संघका केन्द्रिय अध्यक्ष मोहम्मद याकुव अन्सारी पक्राउ परेपछि घटनाले जडिबुटीको बढ्दो अवैध कारोबारलाई पुष्टी गरेको छ ।

Jadibuti Pic

यसअघि गतवर्ष पनि ठुलो परिमाणको जडिबुटी सहित प्रहरीले त्यसमा संलग्न व्यवसायीलाई पक्राउ गरेको थियो । तर, ती व्यवसायीहरु कानुनी कारबाहीबाट सहजै उम्किएका थिए । यसपटक पनि नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर–६ निवासी अन्सारीको राँझास्थित दुई वटा गोदामबाट प्रहरीले शनिबार अपरान्ह ५ सय ४२ बोरा अर्थात् १३ हजार ५ सय ५० किलो प्रतिवन्धित झ्याउ बरामद गर्न सफल भयो । गोप्य सुचनाका आधारमा प्रहरीले विभिन्न १३ वटा गोदाम चेकजाँच गर्दा अन्सारीको गोदाममा मात्र प्रतिवन्धित झ्याउ फेला परेको प्रहरीले जनाएको छ ।

केन्द्रिय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट पक्राउ परेका अन्सारी र बरामद गरिएको झ्याउलाई आवश्यक कारबाहीका लागि प्रहरीले शनिबार राती नै जिल्ला वन समक्ष बुझाएको थियो । वन कार्यालय बाँकेका निमित्त प्रमुख नारायण पार्धेका अनुसार पक्राउ परेका अन्सारीलाई आईतबार बाँके जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ । आईतबार नै मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले नेपालगन्जमा पत्रकार सम्मेलन गरी अन्सारीलाई सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै मध्यपश्चिम प्रहरी प्रमुख(डिआईजी) माधव नेपालले ठुलो परिमाणको झ्याउ गोदाममा राखिएको गोप्य सुचनाका आधारमा छापा मारेर बरामद गर्न सफल भएको बताए । ‘प्रतिवन्धित झ्याउ गोदाममा राखिएको कुरा पुष्टी भएपछि मैले हेडक्वाटरसँग स्वीकृती लिएर छापा हान्ने निचोडमा पुगेको हुँ,’ उनले सुनाए ।

पत्रकार सम्मेलनमा बोल्दै डिआईजी माधव नेपाल ।
पत्रकार सम्मेलनमा बोल्दै डिआईजी माधव नेपाल ।

प्रहरीले पक्राउ गरेर वन कार्यालयमा बुझाइसकेकाले कारबाही प्रक्रिया अगाडी बढाउने जिम्मा उसैको भएको पनि डिआईजी नेपालले प्रष्ट्याए । सम्वद्ध निकायका अनुसार सरकारले २०६७ पुस २६ गते प्रकाशित राजपत्रको खण्ड ६० संख्या ३८ को भाग ५ अन्तर्गत झ्याउमा प्रतिवन्ध लगाएको थियो । सरकारले प्रतिवन्ध लगाउँदै तत्कालिन अवस्थामा व्यवसायीका गोदाममा भण्डारण गरिएका झ्याउ विक्री, वितरणका लागि एक महिनाको समय दिएको थियो । पत्रकार सम्मेलनमा व्यवसायी अन्सारीले गोदामभित्र राखिएको आफ्नो बर्षौ पुरानो जडिबुटीलाई प्रहरीले बरामद गरेको जिकिर गरे ।

उनले अगाडी भने, ‘पाँच वर्ष पहिले नै वन विभागले यसको पुर्जी दिएको थियो, मेरो पुर्जी बनेर आउँदा १५ दिन मात्रै बाँकी थियो,समय अभाव र ढुवानी गर्न नसकेर बाहिर पठाउन सकिएन, त्यसपछि गोदाममै थन्क्याउन बाध्य भए ।’ जडिबुटीको अवैध कारोबार गर्नेलाई वन ऐन, २०४९ अन्तर्गत नै मुद्दा चलाउने कानुनी व्यवस्था छ । अदालतले जडिबुटीको विगो अनुसारको जरिवाना र कैद सजाय सुनाउने कानुनी प्रावधान छ । प्रतिवन्धित झ्याउको माग विशेषगरी भारतीय बजारमा बढी छ । यसको बजार मुल्य मात्र प्रतिकिलो एक हजार रुपैयाँ र प्रतिकिलो १५ रुपैयाँ निकासी वापतको राजश्व रहेको बताइएको छ । जडिबुटी झ्याउबाट इनामेललाई गुणस्तरिय बनाउन, पान मसला र गरम मसलामा प्रयोग गर्न, टेस्टिङ पाउडर, सुगन्धित अत्तर बनाउन, छारे रोगको उपचार लगायत काममा प्रयोग गर्ने गरिन्छ ।

Womui
Womui