चुरे क्षेत्रका खोलामा तस्कर रजाई

118

नेपालगन्ज, फागुन ७
जिल्लाको चुरे क्षेत्र अन्तर्गतका खोलामा पछिल्लो समयमा व्यापक रुपमा ढुंगा, गिट्टी र बालुवा तस्करी हुने क्रम बढेको छ । तस्करहरुले वन र निकुन्जका कर्मचारी तथा सुरक्षाकर्मीलाई प्रभावमा पारेर प्रतिवन्धित क्षेत्रबाट रातभर ढुंगा, गिट्टी र बालुवा ओसार्ने गरेका हुन् । चुरे क्षेत्र अन्तर्गतका मुगुवा, खैरी, सुखार, परुवा, झिझरी लगायत खोलामा तस्करहरुको रजाई नै चलेको स्थानीय बासिन्दाको गुनासो छ । ‘सरकारले चुरे क्षेत्र घोषणा मात्रै गर्यो, खोलाबाट सरकारी कर्मचारीकै आडमा तस्करी भइरहेको छ,’ महादेवपुरीका एक स्थानीय बासिन्दाले नाम नछाप्ने शर्तमा भने । सरकारले त्यस क्षेत्रलाई चुरे संरक्षण क्षेत्रका रुपमा घोषणा गरेपछि जिल्ला विकास समिति बाँकेले समेत त्यहाँ ठेक्का लगाउन छाडिसकेको छ ।

तस्करले उत्खनन गरेपछि स्वरुप विग्रिएको ढकेरीस्थित झिझरी खोला ।
तस्करले उत्खनन गरेपछि स्वरुप विग्रिएको ढकेरीस्थित झिझरी खोला ।

स्थानीय बासिन्दाका अनुसार त्यस क्षेत्रमा कालिका, पप्पु कन्ट्रक्सन लगायत ठुला ठेकेदार कम्पनीले साना ठेकेदारलाई ढुंगा, गिट्टी र बालुवा तस्करी गर्ने काममा परिचालन गर्ने गरेका हुन् । ‘साना ठेकेदारले खोलाबाट चोरी गरेर ल्याएको ढुंगा, गिट्टी र बालुवालाई ठुला ठेकेदारले खरिद गर्छन,’ स्थानीयले भने ‘तस्करीमा संलग्न ट्याक्टर र मान्छे रंगेहात पक्राउ पर्छन, उनीहरुलाई कानुनी कारबाही कहिल्यै भएको सुनिदैन ।’ चुरे क्षेत्रबाट तस्करी गरेर ल्याएको ढुंगा, गिट्टी र बालुवा सहित सम्शेरगन्जस्थित कुसुम सेक्टर वन कार्यालयले बुधबार राती नियन्त्रणमा लिएको १३ वटा ट्याक्टरलाई बिना कारबाही छाड्नुले पनि स्थानीय बासिन्दाको आरोपलाई पुष्टी गरेको छ ।

खोलाबाट ढुंगा, गिट्टी र बालुवा चोरी गरेर कोहलपुरतर्फ लैजादै गरेको अवस्थामा ट्याक्टर सहित मान्छे पक्राउ गरेपनि कानुनी कारबाही गर्न नसकिएको सेक्टर वन प्रमुख प्रभात दाहालले स्वीकार गरेका छन् । ‘बाहिरी पक्षको दवाव आएर कानुनी कारबाही गर्न सकिएन,’ उनले भने ‘अबदेखि यस्तो काम नगर्ने शर्ततमा उनीहरुलाई त्यसै छाडियो ।’ ढुंगा ओसार्नमा संलग्नलाई कांग्रेस, एमाले, एकिकृत माओबादी लगायत राजनीतिक दलको रोहवरमा छाडिएको दाहालको दाबी छ । नियम अनुसार ईलाका र सेक्टर वन कार्यालयले जंगल क्षेत्रबाट कुनैपनि चिज बरामद गर्ने वित्तिकै आफ्नो माथिल्लो निकाय जिल्ला वन कार्यालय समक्ष बुझाउनुपर्छ ।

सेक्टर वन कार्यालयले जिल्लालाई कुनै जानकारी नगराएरै त्यसै छाडेको जिल्ला वन कार्यालय बाँकेका निमित्त प्रमुख नारायण पार्धेले बताए । ‘कुसुम सेक्टर वन कार्यालयले चुरे क्षेत्रबाट १३ वटा ट्याक्टर समातेको कुरा मात्रै सुनियो, हामीलाई ट्याक्टर बुझाइएन,’ उनले भने । चुरे क्षेत्रका खोलामा भइरहेको दोहान रोक्न सक्रियता देखाउँदै आएको जिल्लास्थित सरकारी अनुगमन समिति भने सेक्टर वन कार्यालयको उक्त कामप्रति असन्तुष्ट बनेको छ । स्थानीय विकास अधिकारी एवम् जिल्ला अनुगमन समितिका सदस्य सचिव जीवलाल भुसालले कानुनी कारबाही नै नगरेर तस्करहरुलाई छाड्नु सेक्टर वन कार्यालय प्रमुखको कार्यशैलीमाथि आशंका उत्पन्न भएको बताए । ‘चुरे क्षेत्रका खोलामा बढेको तस्करी रोक्न हामीले एकातिर निकै मेहेनत गरिरहेका छौ,’ उनले भने ‘रंगेहात पक्राउ परेका तस्करलाई कानुनी कारबाही गर्नुको साटो त्यसै छाड्नु गम्भिर त्रुटी हो, सेक्टर वन कार्यालयको कामप्रति अविश्वास पैदा भयो ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

Womui
Womui