उपमहानगरपालिका महिनौंदेखि कार्यकारी अधिकृत विहिन

168

नेपालगन्ज, फागुन ५–
नेपालगन्ज उपमहानगरपालिका महिनौंदेखि कार्यकारी अधिकृत विहिन भएको छ । तत्कालिन कार्यकारी अधिकृत विष्णुप्रसाद भुसाललाई गत पुस २९ गते संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा गरिदाँ उपमहानगरपालिका प्रमुख विहिन भएको हो । मन्त्रालयले अहिले सम्म भुसालको ठाउँमा नयाँ कार्यकारी अधिकृत पठाउन सकेको छैन । कार्यकारी अधिकृत नहुँदा उपमहानगरपालिकाको महत्वपुर्ण कामकाज ठप्प भएको छ । एशियाली विकास बैंकको सहयोगमा उपमहानगरपालिकाले सञ्चालन गरेको एकिकृत शहरी विकास आयोजनाको काम पनि प्रभावित भएको छ । यस्तै नक्सा पास, विभिन्न साना विकास योजनाको टेण्डर प्रक्रिया, खुल्ला दिसा मुक्त क्षेत्र घोषणा, आर्थिक कारोबार लगायतका काम ठप्प भएको उपमहानगरपालिकाका सुचना अधिकारी ओवीराज आचार्यले जानकारी दिए ।

Nagarpalika Get

उपमहानगर क्षेत्रलाई फागुन मसान्त भित्रमा (ओडिएफ) खुला दिसामुक्त घोषणा गर्ने योजना अगाडी बढाइरहेका बेला लामो समय सम्म कार्यकारी अधिकृत नहुँदा उक्त अभियान प्रभावित भएको उनले बताए । आचार्यले अगाडी भने, ‘कार्यकारी अधिकृत नहुदाँ उपमहानगरपालिका कार्यालय अस्तव्यस्त भएको छ, कामकाज पुरै ठप्प छ, मन्त्रालयले अहिले सम्म पनि नयाँ कार्यकारी अधिकृत पठाउन नसक्नु लाचारीपन हो ।’ उपमहानगरपालिकाका प्रशासकिय अधिकृत मोहन हमालले केही समय सम्म निमित्त कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । तर, उनले महत्वपुर्ण निर्णय गर्न पाउँदैनन् । कार्यकारी अधिकृतको अनुपस्थितीमा महत्वपुर्ण निर्णयका लागि बोर्ड बैठक पनि महिनौंदेखि बस्न नसकेको सुचना अधिकारी आचार्य बताउँछन् ।

उपमहानगरपालिकाले खुला दिसामुक्त क्षेत्र घोषणा अभियानलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको थियो । सोही अनुरुप माघ मसान्त भित्रै २८ वटै वडामा खुला दिसामुक्त घोषणा गर्ने योजना रहेकोमा उक्त कामपनि सम्पन्न हुन नसकेको ओडिएफका फोकल पर्सन समेत रहेका सुचना अधिकारी आचार्यले बताए । दैनिक कामकाज गराउन नपाउँदा नगरबासी यतिबेला निकै आक्रोशित छन् । कामका लागि दिनहुँ उपमहानगरपालिका कार्यालयमा पुग्ने सर्वसाधारण रित्तो हात घर फर्किन्छन् । नेपालगन्ज–११ का पुर्व वडा अध्यक्ष हमिद शेषले काम गरिरहेको कार्यकारी अधिकृतलाई सरुवा गराएर सरकारले कार्यकारी अधिकृत समयमा पठाउन नसक्नु लाचारीपन भएको बताए । ‘कार्यकारी अधिकृत नपठाउनुमा सरकारको एकदमै कमजोरी हो,’ उनले भने ‘नयाँ कार्यकारी पठाउन गाह्रो भएको भए काम गरिरहेको व्यक्तिलाई किन सरुवा गर्नु ?’

उपमहानगरको विकास निर्माणको काममा सक्रिय रहेका कार्यकारी अधिकृत भुसाललाई राप्रपा नेपालको दवावमा मन्त्रालयले सरुवा गरेको यसअघि आरोप लगाइएको थियो । राप्रपा नेपालले भने उक्त आरोपको खण्डन गर्दै आएको छ । राप्रपा नेपाल बाँकेका अध्यक्ष ऋषि देवकोटाले सरकारको नियमित प्रक्रिया अनुसार नै भुसालको सरुवा भएको दाबी गरे । सरुवा गर्नमा आफ्नो पार्टीको कुनै भूमिका नभएको उनको जिकिर छ ।

Womui
Womui