नेपालगन्जका पत्रकार भण्डारी सम्मानित

134

नेपालगन्ज, फागुन ३–
पत्रकारिता क्षेत्रका माध्यमबाट समाजमा अनवरत रुपमा योगदान पुर्याएको कदर स्वरुप नेपालगन्जस्थित सदभाव दैनिकका सम्पादक दामोदर भण्डारीलाई सम्मान गरिएको छ । मध्यपश्चिम क्षेत्रीय महोत्सव २०७२ को समापन कार्यक्रममा सोमबार नेपालगन्ज उद्योग वाणिज्य संघले भण्डारीलाई सम्मान गरेको हो । समापन कार्यक्रमका प्रमुख अतिथी एवम् खानेपानी तथा सरसफाई राज्यमन्त्री दिनेशचन्द्र यादवले दोसल्ला, पुष्प गुच्छा र सम्मान पत्र प्रदान गरेर सम्मान गरेका हुन् । सम्पादक भण्डारी डेढ दशक भन्दा बढी समयदेखि नेपालगन्ज क्षेत्रमा निरन्तर रुपले पत्रकारिता पेशामा सक्रिय छन् ।

पत्रकार दामोदर भण्डारीलाई सम्मान गर्दै राज्यमन्त्री दिनेशचन्द्र यादव ।
पत्रकार दामोदर भण्डारीलाई सम्मान गर्दै राज्यमन्त्री दिनेशचन्द्र यादव ।

यस्तै सोही समारोहमा दैनिक नेपालगन्जका सम्पादक झलक गैरेलाई पनि सम्मान गरियो । पत्रकार गैरेको अनुपस्थितीमा उनकी धर्मपत्नीले सम्मान पत्र ग्रहण गरेकी थिईन् । संघले महोत्सव समापन कार्यक्रममा समाजमा योगदान पुर्याएको कदर स्वरुप अन्य व्यक्तित्वलाई पनि सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा ओलम्पियन तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव सुरेन्द्र हमाल, नेपालगन्जका समाजसेवी मोहनलाल बैश्य, नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व महासचिव एवम् परार्मशदाता अशोक कर्माचार्य लगायत रहेका छन् ।

महोत्सव समापन कार्यक्रममा राज्यमन्त्री यादव, प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुनिलकुमार शर्मा, सांसद दलबहादुर सुनार, पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी, पत्रकार सुरेन्द्र काफ्ले लगायतले बालेका थिए । सो अवसरमा महोत्सव सफल पार्न महत्वपुर्ण योगदान पुर्याउने संस्था र व्यक्तिलाई कदरपत्र प्रदान गरियो । गत माघ २१ गतेदेखि कारकाँदोस्थित सडक विभाग परिसरमा सञ्चालित महोत्सव सफल भएको संघले दाबी गरेको छ । संघले लिएको लक्ष्य अनुसार महोत्सव सफल भएको संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । संघका महासचिव विष्णु लामिछानेले महोत्सवबाट संकलित रकमको हिसाव गरेर छिट्टै सार्वजनिक गरिने जानकारी दिए ।

Womui
Womui