कोईरालाको सिद्धान्तलाई व्यवहारमा उतारे सच्चा श्रदाञ्जली

102

नेपालगन्ज, फागुन ३–
कांग्रेस नेतृ ऋचा दुवेद्धीले आफ्नो जीवनमा दुई पटक ठुलो पीडा खेपिन् । कक्षा ९ पढ्दै गरेका छोरालाई भूमिगत समुहले २०६७ सालमा हत्या गरेको घटना विर्सन नपाउँदै अहिले फेरी आफ्ना अभिभावक कांग्रेस सभापति सुशील कोईरालाको निधनले उनलाई अत्यन्तै दुखि बनाएको छ । ऋचाले भनिन्, ‘त्यो बेला छोरा गुमाउँदा म जति दुखी भएकी थिए, अहिले हामी सबैका अभिभावक सुशील ‘दा को निधन हुदाँ ठुलो पीडा महसुस भएको छ ।’ कोईरालामा भएको त्याग, निष्ठा र इमान्दारीताले उनी प्रभावित भईन् । स्वर्गिय कोईरालासँग सबै कार्यकर्तालाई मिलाएर राख्न सक्ने क्षमता रहेको नेतृ दुवेद्धी सम्झिन्छिन् । ‘राष्ट्रकै नेताको निधन हुनुमा निजि चिकित्सक र स्याहार गर्ने व्यक्तिको लापरबाही भएको हो,’ दुवेद्धीले थपिन् ‘बाँचुञ्जेल उहाँले पार्टी र कार्यकर्तालाई मात्र ध्यान दिनुभयो, सायद उहाँको श्रमती र छोराछोरी भएको भए, यस्तो अवस्था आउने थिएन कि भन्ने महसुस अहिले भएको छ ।’

नेपाली कांग्रेस बाँकेका महिला नेतृहरु ।
नेपाली कांग्रेस बाँकेका महिला नेतृहरु ।

नेपाल बिद्यार्थी संघकी केन्द्रिय सदस्य उमा थापामगर स्वर्गिय कोईरालाको विचार र सिद्धान्तबाट प्रभावित भएकी छन् । ‘उहाँ जस्तो नेता पाउन अब असम्भव छ, उहाँले निर्माण गरेको बाटोलाई व्यवहारमा उतारेपछि मात्र सच्चा श्रदाञ्जली दिएको ठहरिनेछ,’ उनले भनिन् । कोईरालाको बाटोलाई व्यवहारमा उतार्ने प्रयास आफुले गर्ने थापाले बताईन् । महिला संघ बाँकेका सचिव रत्न राणाका आँखा अहिले पनि रसाइरहेछन् । ‘हेलचक्र्याईकै कारण सुशील ‘दा को असामयिक निधन भएको हो,’ उनले भनिन् ‘उहाँले समयमा उपचार पाएको भए पक्कैपनि बाँच्नु हुन्थ्यो ।’ कोईरालाको निधनले लोकतन्त्रको धरोहर ढलेको उनको नेतृ राणा बताउँछिन् । ‘मैले आफ्नो बुवा भन्दा बढी भरोसा गथ्र्ये सुशील ‘दा लाई, उहाँ हाम्रो धरोहर र अभिभावक हुनुहुन्थ्यो, अब उहाँ जस्ता नेता पाउन सक्दैनौ,’ उनले भनिन् । राणाले कोईरालालाई २०४६ सालदेखि चिन्न थालेकी हुन् । उनले सुनाईन, ‘उहाँ कुनै लोभ लालच गर्नु भएन, कसैलाई पक्षपात गर्नु भएन, सबैलाई सम्मान गर्ने र आफ्नै बहिनी जस्तो व्यवहार गर्नुभयो ।’

कोईरालाको निधनपछि गृहजिल्ला बाँकेमा रहेका उनका कार्यकर्ता बढी निराश बनेका छन् । पार्टी कार्यालय तथा चोक र गल्लीमा भेला हुने कार्यकर्ता, शुभेच्छुकले कोईरालाको व्यक्तित्वको प्रशंसा खुलेरै गर्छन् । कांग्रेसलाई पहिलो पार्टी बनाउन, विकास निर्माण, संविधान निर्माण लगायत काममा खेलेको महत्वपुर्ण योगदानको उनीहरु मुल्यांकन गर्छन् । कोईरालाले पार्टीलाई सधै राष्ट्रियता, समाजवाद र प्रजातन्त्रको सिद्धान्त अनुसार अगाडी बढाएको स्मरण गर्दै कांग्रेस नेतृ रमा उपाध्यायले भनिन् ‘उहाँले सधै पार्टीको संस्थागत विकासमा मात्रै चिन्ता गर्नुहुन्थ्यो, हामीलाई निराश नहुनुस् भनेर हौसला दिनुहुन्थ्यो ।’ नेपाली जनताले ६ दशक पछि पाएको संविधान निर्माणमा नेतृत्व गरेको भन्दै कोईरालाको उनी प्रशंसा गर्छिन् ।

क्यान्सरलाई जितेर आएका कोईरालाको निमोनियाबाट निधन हुदाँ आश्यर्चमा परेको बताईन् । ‘त्यति ठुलो राजनेताको अक्सिजन नपाएर मृत्यु हुनु कहाँ सम्मको लापरबाही हो,’ उनले प्रश्न गरिन् ‘त्यस्तो नेतालाई गुमाउँदा निकै दुःख लागेको छ, उहाँलाई हामी सधै सम्झिरहनेछौ ।’ महिलालाई ३३ प्रतिशत आरक्षण दिलाउनमा स्व. कोईरालाले अग्रणी भूमिका खेलेको महिला नेतृले बताएका छन् । यतिखेर कांग्रेस सभापति स्व. सुशील कोईरालाका विचार, आर्दश र ईमान्दारीताको चर्चा आइरहेको छ । नेपाली कांग्रेसका सभापति स्वर्गिय सुशील कोईरालाको निधन भएपनि उनले छाडेर गएका विचार र सिद्धान्तको चर्चा अहिले पनि भइरहेको छ । शोकमा रहेका गृहजिल्ला बाँकेका कांग्रेस कार्यकर्ताहरु कोईरालाको विचार, आर्दश र इमान्दारीतालाई व्यवहारमा उतार्नु नै सच्चा श्रदाञ्जली हुने बताएका छन् ।

Womui
Womui