मोटरसाईकलबाटै रातारात काठ तस्करी

139

नेपालगन्ज, फागुन ४–
चिरान काठ तस्करी गरिरहेको अवस्थामा मोटरसाईकल सहित चार जना व्यक्ति बाँकेमा पक्राउ परेका छन् । वन कार्यालयको संयुक्त गस्ती टोलीले उनीहरुलाई बाँके, टिटिहिरिया–६ फत्तेपुरबाट सोमबार बिहान ३ बजेतिर पक्राउ गरेको हो । विभिन्न साईजका ३५ थान अर्थात् १४ दशमलभ ४२ क्वीफिट चिरान काठ सहित बाँके, बनकटवा–४ निवासी ३९ बर्षिय भोेले रावत, सोही ठाउँका ३१ बर्षिय निरख रावत, कोहलपुर–९ का ३७ बर्षिय कृष्णकुमार श्रेष्ठ र बर्दिया, बाँसगढी–४ निवासी बलबहादुर मगरलाई पक्राउ गरिएको हो ।

चिरान काठ र मोटरसाईकल सहित पक्राउ परेका अभियुक्त ।
चिरान काठ र मोटरसाईकल सहित पक्राउ परेका अभियुक्त ।

उक्त काठ तस्करीमा प्रयोग गरिएका भे ३ प ६३६४, भे २ प २३४६, भे ३ प ६०६९ र भे २ प ८६३२ नम्वरका मोटरसाईकल पनि गस्ती टोलीले बरामद गरेको जिल्ला वन कार्यालय बाँकेले जनाएको छ । काठ तस्करी भइरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला वन कार्यालय, कोहलपुर सेक्टर वन कार्यालय, लखना र चिसापानी ईलाका वन कार्यालयबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको सहायक वन अधिकृत गणेशबहादुर खड्काले जानकारी दिए । पक्राउ परेका अभियुक्तलाई सोमबार नै बाँके जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जानकारी दिदै निमित्त जिल्ला वन कार्यालय प्रमुख खड्काले भने, ‘अदालतबाट म्याद थपेर कानुनी प्रक्रिया अगाडी बढायौं, अभियुक्तसँग बयान लिने काम पनि बाँकी छ ।’ स्रोतका अनुसार अभियुक्तहरु लामो समयदेखि काठ तस्करीमा संलग्न रहदै आएका थिए ।

उनीहरुको समुहले रातारात काठ तस्करी गरी कोहलपुर र नेपालगन्जका विभिन्न सःमिलमा बिक्री गर्ने गरेको स्रोतको दाबी छ । राजनीतिक संरक्षणमा तस्करहरुले अवैध रुपमा काठ ओसार्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । ‘धेरै पहिलेदेखि नै यिनीहरु काठ तस्करीमा संलग्न छन, तर उनीहरु सित्तिमित्ती पक्राउ परेका थिएनन, यिनीहरुको सम्वन्ध नेताहरुसँग धेरै नजिक छ,’ एक स्थानीयले भने । अभियुक्तहरु पक्राउ परेको जानकारी पाए लगत्तै सोमबार दिउँसो बाँके, क्षेत्र नम्वर–४ का सांसद दलबहादुर सुनार जिल्ला वन कार्यालयमा पुगेका थिए ।

वन कार्यालयले अभियुक्तहरु विरुद्ध सुरु गरेको अनुसन्धान नै प्रभावित पार्ने गरी नेकपा एमालेका नेता समेत रहेका सांसद सुनारले छाड्न दवाव दिएको कर्मचारीको गुनासो छ । सांसद सुनारले पक्राउ परेका ती अभियुक्तलाई छुटाउन ‘मिलाउनुपर्ने’ दवाव बारम्बार दिएको एक कर्मचारीले बताएका छन् । ‘जसरी भएपनि मिलाउनु प¥यो भनेर माननिय दलबहादुर सुनार ज्यूले निकै प्रेसर गर्नुभयो, म्याद थप गरिसकेको हुँदा केही गर्न नसक्ने जवाफ हामीले दियौं,’ कर्मचारीले सुनाए । पक्राउ परेका अभियुक्तलाई जसरी भएपनि छुटाउने भन्दै सांसद सुनारले लविङ गरिरहेको स्रोतको दावी छ ।

Womui
Womui