सांसदबाट ठगिएको सर्वसाधारणको आरोप

28

नेपालगन्ज, माघ २१–

बाँके क्षेत्र नम्वर–३ का समानुपातिक सांसद मैकुलाल बाल्मिकीले एक सर्वसाधारणलाई ठगेको आरोप लागेको छ । छोरालाई चुनाव जिताउन रकम आवश्यक परेको भन्दै मैकुलालकी आमा शान्ता वाल्मिकीले आफुसँग २०७० असार १९ गते नगद ४ लाख ८० हजार लगेको र उक्त रकम माग्दा डर, धम्की दिने गरेको नेपालगन्ज–१० निवासी नफिस अहमद कुरेसीले बिहीबार पत्रकार सम्मेलन गरेर गुनासो पोखेका हुन् । आफुसँग लिएको रकम मध्ये सभासदमा मनोनित भएपछि २ लाख रुपैयाँ दिएको र बाँकी २ लाख ८० हजार रुपैयाँ दिन अटेरी गरिरहेको उनले बताए ।

रकम दिए वापत आफ्नो शान्ताले ३ धुर जग्गा पास गरिदिने वचन दिएपनि पछि नदिएको पीडित कुरेसीले बताए । ‘मैले जग्गा पास गरिदिन वा रकम पटक–पटक फिर्ता माग्दा आज दिन्छु, भोली दिन्छु भन्दै लामो समय सम्म पर्खाईमा राखेकोमा पछिल्लो समय मलाई रकम नदिई उल्टै धम्की दिन थालेपछि म पीडित भएर पत्रकार सम्मेलन गर्न बाध्य भएको छु,’ प्रेस विज्ञप्तीमा उल्लेख छ । नेपाली कांग्रेसका नेता समेत रहेका बाल्मिकीले रकम ठगेको विषयमा नेपालगन्जस्थित कांग्रेस पार्टी कार्यालयमा निवेदन समेत दिइसकेको कुरेसीले बताए । ‘सभासद नहुँदै वाल्मिकीलाई मैले विश्वासमा दिएको रकमको कुनै प्रमाण नरहेकाले उहाँले मलाई यति लामो समय सम्म रकम फिर्ता नदिएपछि म बाध्य भएर पीडा पोखेको हुँ,’ पत्रकारको जिज्ञासामा उनले भने ।

सांसद वाल्मिकीको परिवारले जग्गा दिन नसक्ने, बरु रकम फिर्ता दिने बताएपनि रकम माग्न जाँदा उल्टै डर धम्की दिएकाले आफुले असुरक्षा महसुस गरिरहेको कुरेसीले बताए । पीडित कुरेसी साधारण व्यक्ति हुन् । उनी मासु व्यवसायमा संलग्न छन् । यता आरोपी सांसद वाल्मिकीले आफुमाथि सुनियोजित ढंगले आरोप लगाइएको जिकिर गरेका छन् । ‘म माथि जुन किसिमको चार्ज लगाइएको छ, यो नितान्त सुनियोजित हो,’ उनले भने ‘चुनावका बेलामा निराधार आरोप लगाएर ममाथि षडयन्त्र गर्ने काम भइरहेको छ ।’ कुनैपनि व्यक्तिसँग आफ्नो आर्थिक लेनदेन नभएको जिकिर गरे । ‘म सँग नभएर मेरो आमा र उसको कारोबार भएको हो,’ वाल्मिकीले थपे ‘म छोरा भएको नाताले आफ्नो आमाले लगाएको ऋण तिरिदिएको हुँ, उसलाई मैले सबै रकम दिइसकेको छु, म सँग भरपाई सुरक्षित छ ।’ सांसद वाल्मिकीले सर्वसाधारणको रकम ठगेर पार्टीको बद्नाम गरेको भन्दै यतिखेर कांग्रेस नै कार्यकर्ताहरु उनीविरुद्ध रुष्ट बनेका छन् ।

Womui
Womui