स्ववियु निर्वाचनको तयारी

33

काठमाडौं, माघ २१—
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि माघ २८ गते विद्यार्थी संगठनहरूसँग छलफल गर्ने भएको छ । त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा विगत सात वर्षदेखि स्ववियु चुनाव हुन सकेको छैन । त्रिविले चुनाव मिति तोकिएपछि सम्पन्न नहुञ्जेलसम्म नयाँ विद्यार्थी भर्नामा रोक लगाउने सोच बनाएको छ । विगतका चुनावमा मिति तोकिएपछि विद्यार्थी संगठनहरूले आआफ्नो पक्षमा बढी मत पार्न जथाभावी भर्ना गर्ने चल्न भएकाले अब त्यस्तो हुन नदिन त्रिविले यस्तो सोच बनाएको हो । यस विषयमा पनि विद्यार्थी संगठनको सहमति लिएर निर्णयमा पुगिने जानकारी शिक्षाध्यक्ष सुधा त्रिपाठीले दिइन । शिक्षाध्यक्ष त्रिपाठीको संयोजकत्वमा स्ववियु निर्वाचन गराउन समिति गठन गरिएको छ। समितिले चुनावका लागि गृहकार्य पनि थालेको छ। यसका लागि समितिले २८ गते विद्यार्थी संगठनहरूसँग छलफल गर्ने जानकारी उनले दिइन् । उनले पहिलो बैठकमै स्ववियु चुनावका लागि विद्याथी भर्ना रोक्ने प्रस्ताव गर्ने जनाइन् ।

दुई वर्षअघि त्रिविले चुनाव मिति घोषणा गरेलगत्तै विद्यार्थी संगठनहरू कलेज–कलेजहरुमा विद्यार्थी भर्ना र किनबेच गर्न थालेपछि त्रिविले अन्तिम समयमा चुनाव स्थगित गरेको थियो । त्रिपाठीले विद्यार्थी संगठनहरूले यसपटक चुनाव गराउन ज्ञापनपत्र बुझाएको र समितिले पनि वातावरण तयार पार्न गृहकार्य सुरु गरिसकेको जनाइन् । ‘माघ २८ गतेदेखि नै त्रिविले सबै आंगिक तथा सम्बन्धन प्राप्त कलेजमा सबै तहमा भर्ना रोक्ने छ,’ शिक्षाध्यक्ष त्रिपाठिले भनिन, ‘विगतमा झै अब वर्षभरि भर्ना खोलेर चुनावमा विवाद उत्पन्न हुने कार्यको अन्त्य गर्ने कार्यक्रम त्रिविले तय गर्ने छ ।’

Womui
Womui