स्थानीय निर्वाचन नहुँदा तीव्र दबाब

39

नेपालगन्ज, माघ २१—
बुझाउना चौधरी घोराही नगरपालिका– ३ का पूर्व वडाध्यक्ष हुन् । पदावधि सकिएपछि उनी कांग्रेसको वडा राजनीतिमा सक्रिय बने । अघिल्लो कार्यकालसम्म कांग्रेस वडा इकाइ सभापति बने । पूर्व वडाध्यक्ष चौधरी स्थानीय निकायमा राजनीतिक प्रतिनिधित्व बढाउन चाहन्थे । घोराही नगरपालिकाको उपमेयर बन्ने उनको सपना थियो । तर, लामो समयसम्म स्थानीय निकाय निर्वाचन नहुँदा उनको योजना अधूरै रह्यो । फलस्वरूप उनी राजनीति जोगाइराख्न पार्टीकै पदमा सक्रिय बने। अहिले फेरि सोही वडाको सभापति चुनिएका छन् । ’नगरको उपमेयरसम्म पुग्ने भनेर मानसिकता बनाएको थिएँ,’ उनले भने, ’पार्टीको महाधिवेशन लागेपछि पुरानै पदमा दोहोरिएँ ।’ उनले स्थानीय निकायको चुनाव पर्खेर बस्ने स्थिति नदेखिएपछि पार्टीमै फेरि सक्रिय बन्नुपरेको बताए ।

चौधरी मात्र नभई २०४७ सालदेखि विद्यार्थी राजनीति गर्दै आएका कालिकोटका मोतिराज बम पनि दोधारमा छन् । स्थानीय निर्वाचन होला र कुनै न कुनै ठाउँमा व्यवस्थापन हुँला भन्ने आशा थियो । तर, लामो समयदेखि स्थानीय निकाय र पाटीभित्रकै भातृ संघसंगठनको समेत निर्वाचन नहुँदा जिल्ला कार्यसमितिमै दोहोरिने इच्छा रहेको उनी बताउँछन् । लामो समयसम्म स्थानीय चुनाव नहुँदा त्यसको प्रभाव राजनीतिक दलको अधिवेशनमा देखा पर्न थालेको हो । वडा, गाविस अध्यक्ष तथा अरु कुनै पदमा गाउँमै राजनीति गर्ने मनस्थितिमा रहेका नेता पनि पार्टीकै जिल्ला तथा माथिल्लो तहका पद ताकिरहेका छन् ।

वडा, गाविस तहका विभिन्न पदमा राजनीति गर्ने नेताहरू स्थानीय निर्वाचन नहुँदा पार्टीको माथिल्लो पद ताक्न थालेका हुन् । राजनीति गर्नका लागि ठाउँ नपाएपछि चुनावमा आकांक्षी धेरै भएका हुन् । स्थानीय निकायको निर्वाचन नहुँदा कांग्रेस निर्वाचनमा मात्र नभई अन्य पार्टी्भित्र पनि मतभेद बढ्दो छ । पार्टीभित्र मिलाउनका लागि नेतृत्वलाई हम्मेहम्मे पर्ने गरेको छ । गाउँ, नगर अधिवेशनमा पुराना, क्रियाशील, पाका सदस्य नयाँ र कनिष्ठ सदस्यबाट पराजित भएका छन् । यसको मुख्य कारण १७ वर्षदेखि स्थानीय निर्वाचन नभएको र पार्टीभित्र पदका लागि नयाँ र पुराना पुस्ताको दाबी बढ्नु रहेको बाँके कांग्रेस जिल्ला कार्यसमिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठ बताउँछन् । ’स्थानीय चुनाव भएको भए पार्टीको पदमा दाबेदार साथीलाई तपाई वडा, गाविस, नगर, जिल्ला अध्यक्ष, मेयर अन्य पदमा हुनुहुन्छ, मलाई पार्टीभित्र छोडिदिनुपर्यो भन्न सजिलो हुने थियो,’ उनले भने, ’कुनै नेतृत्वमा नरहेका पार्टीका नयाँ, पुराना क्रियाशील सदस्य पदका लागि अहिले कस्सिए, जुनिएर, सिनिएर मतलब भएन ।’ पार्टीको वडा, गाविस, नगर नेतृत्वका लागि चुनावै हुनुपर्ने कारण पनि उनी स्थानीय निकायको चुनाव नहुनुको परिणाम ठान्छन् ।

पार्टीमा भर्खर सदस्यता लिएकादेखि पाका तथा उमेर नाघेका एउटै मैदानमा छन् । स्थानीय निकायको चुनाव नहुँदा कांग्रेसको महाधिवेशनमा नयाँ र पुराना दुवैलाई नेतृत्वका लागि आपसमा लड्नुपर्ने अवस्था आएको कांग्रेस कोहलपुर नगरकमिटी कोषाध्यक्ष गोविन्द पौडेलले बताए । १७ वर्षदेखि स्थानीय चुनाव नहुँदा नेतृत्व लिनेहरूबीच हानथाप भएको र पार्टीभित्र पक्षविपक्ष, युवा–बूढा नेताको आरोप प्रत्यारोप लाग्ने गरेको उनले बताए । १७ वर्षदेखि स्थानीय निकायको चुनाव नहुँदा कांग्रेसका तीन पुस्ता नेतृत्वका लागि अहिले एकै कित्तामा देखिएको महाधिवेशन प्रतिनिधि कृष्णबहादुर विक बताउँछन् । आजको नागरिकमा खबर छ ।

Womui
Womui