सुदूरपश्चिममा १५–४९ वर्ष उमेर समूहमा क्षयरोगीको संख्या बढी

25

सबैभन्दा बढी कैलाली

भगीरथ अवस्थी
बैतडी, पुष १२
सुदूरपश्चिममा ३ हजार ३ सय भन्दा बढी क्षयरोगका बिरामी रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ । क्षयरोगका बिरामीहरुमध्ये १ हजार १३९ महिला र दुई हजार २२० जना पुरुष रहेको निर्देशनालयको तथ्यांक छ । आर्थिक बर्ष २०७१÷७२ को तथ्यांक अनुसार सर्ने खालको क्षयरोगीको संख्या १ हजार ६४९ रहेको छ । जसमा ५४६ महिला र १ हजार १३० जना पुरुष रहेका छन् । क्षयरोगका बिरामीहरुमध्ये ४२४ जना पुनः उपचार गर्नुपर्ने देखिएको क्षेत्रीय क्षयकुष्ठ निरीक्षक मनोज ओझाले जानकारी दिए । जनसंख्याको आधारमा तथ्यांक लिँदा कञ्चनपुरमा सबैभन्दा बढी प्रति लाख १८० जना क्षयरोगी रहेका छन् भने सबैभन्दा कम अछाममा प्रतिलाख ७० जना बिरामी रहेका छन् । सुदूरपश्चिममा प्रतिलाख १२५ जना क्षयरोगी रहेको क्षेत्रीय क्षयकुष्ठ निरीक्षक ओझाले जानकारी दिए । क्षयरोगी मध्येपनि १५–४९ उमेर समूहमा धेरै क्षयरोगका बिरामीहरु रहेका छन् । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार १ हजार ५५२ जना क्षयरोगीहरु १५–४९ उमेर समूहका रहेका छन् ।

क्षयरोगका बिरामी मध्ये ७५ प्रतिशतमा फोक्सोको टिबी रहेको छ । यस्तै सुदूरपश्चिममा खकारमा टिबीको किटाणु भएका बिरामीहरु आर्थिक वर्ष २०७०/७१ मा १ हजार ७१५ जना रहेका थिए भने गत आर्थिक बर्षमा सो संख्या केही घटेर १ हजार ६४९ रहेको छ । पुन उपचारमा २९० जना रहेका छन् भने ४२४ जनाले नियमित रुपमा औषधि सेवन गरीरहेका छन् । आर्थिक बर्ष २०७०÷७१ मा सुदूरपश्चिममा दर्ता भएका क्षयरोगका १ हजार ७१५ जना बिरामी मध्ये १ हजार ५२५ जनालाई निको भएको छ । ३३ जनाको उपचार असफल भएको छ भने ६० जनाको मृत्यु भएको छ ।

संख्याका आधारमा हेर्ने हो भने सुदूरपश्चिमको सबैभन्दा बढी कैलालीमा १ हजार ३०५ जना क्षयरोगका बिरामी छन् भने कञ्चनपुरमा ८६४ जना रहेका छन् । सबैभन्दा कम बाजुरामा १३२ जना रहेका छन् । सुदूरपश्चिममा आ.व ६३।६४ दृखि हालसम्म ( जीर्ण क्षयरोगीको संख्या २५९ पत्ता लागेकोमा १२२ जना मात्र निको भएका छन् भने २१ जनाको मृत्यु भएको छ । यसैगरी १२ जना उपचारबाट हराएका छन् भने ६८ जना उपचारमा रहेका छन् ।
यसैबीच क्षयरोगका बिरामीहरुको निशुल्क उपचार गर्ने व्यवस्था रहेको जनाइएको छ । क्षेत्रीय क्षय कुष्ठ निरीक्षक मनोज ओझाका अनुसार सुदूरपश्चिममा ४२७ ओटा डट्स सेन्टरहरु रहेका छन् जहाँ स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा क्षयरोगीहरुको उपचार गरिन्छ । यस्तै क्षेत्रभरि ८८ ओटा माइक्रोस्कोपिक सेन्टरहरु संचालनमा रहेका छन् । जहाँ खकार चेकजाँच गर्ने गरिन्छ । क्षयरोग लागेमा नियमित रुपमा ६ महिनासम्म औषधि सेवन गरे पूर्ण रुपमा निको हुने क्षेत्रीय क्षय कुष्ठ निरीक्षक ओझाले बताए । यस्तै जीर्ण खालको टिबी भएमा २० महिना सम्म औषधि गर्नुपर्ने उनले बताए । क्षयरोगको औषधि नियमित सेवन नगरेमा झन जटील हुने भएकाले क्षयरोगको शंका लाग्ने बित्तिकै नजिकको स्वास्थ्यसंस्थामा जानुपर्नेमा उनले जोड दिए । लगातार दुई हप्तासम्म खोकी लागीरहनु,खकारमा रगत देखा पर्नु, साँझ पख हल्का ज्वरो आउनु, खानखाने मन नलाग्ने खालका लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्नेमा पनि स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । सुदूरपश्चिममा १५–४९ बर्षको उमेर समूहमा क्षयरोगका बिरामी धेरै भेटिएकाले व्यवहार परिवर्तनका कुराहरुमा ध्यान दिनु पर्ने क्षेत्रीय क्षयकुष्ठ निरीक्षक ओझाले जानकारी दिए ।

Womui
Womui