पोषण अवस्थामा सुधार ल्याउन २६ हजार कुखुरा वितरण

53

बैतडी, पुष ४-

जिल्लामा दुई बर्ष मुनिका बालबालिका र गर्भवती आमाको पोषण अवस्थामा सुधार ल्याउनका लागि कुखुरा वितरण गरिएको छ । गत डेढ बर्ष यता पोषणको क्षेत्रमा काम गरीरहेको सुआहारा कार्यक्रमले २६ हजार कुखुरा वितरण गरेको जनाएको हो । जिल्लाका ५६ ओटै गाविस र दुइटै नगरपालिकामा रहेको ४ हजार ८९५ हजारका दिनका आमा, २८० नमूना कृषक तथा ५१० महिला स्वास्थ्यस्वयम् सेविकाहरुलाई प्रति घरधुरी ५ ओटा कुखुराका दरले वितरण गरिएको छ । बालबालिका, गर्भवती आमा र सुत्केरी आमाहरुलाई प्रोटिनको आवश्यकता धेरै पर्ने भएकाले त्यो आवश्यकता परिपूर्तीका लागि लक्षित समुदायलाई कुखुरा वितरण गरिएको हो । कुुखुराको अण्डा पूर्ण सन्तुलित आहार भएकाले पनि सुनौलो हजार दिनका आमा र बच्चालाई केन्द्रित गरी कुखुरा वितरण गरिएको हो।  सुआहारा कार्यक्रमले कुखुरा वितरण गरेपछि कतिपयले स्थानीयस्तरमा समेत आफ्नै पहलमा कुखुरा पालन व्यवसाय शुरु गरेको सुआहाराका जिल्ला संयोजक राधेश्याम चौधरीले बताए । वितरण गरेका कुखुराहरु मध्ये १८ प्रतिशत मरेको बताइएको छ । व्यवस्थापनको कमी तथा परम्परागत सोचका कारणले कुखुराहरु मरेको बताइएको छ । बालबालिकालाई पशुजन्य प्रोटिन आवश्यक पर्ने र सजिलैसँग पचाउन सकिने भएकाले बालबालिकालाई नियमित रुपमा अण्डा खुवाउन स्वास्थ्यकर्मीहरुले पनि जोड दिएका छन् ।

Womui
Womui