नागरिकसँग प्रहरी

69

भगीरथ अवस्थी

बैतडी, पुष ४-

जिल्ला प्रहरी कार्यालयले दिने सेवा बारे गाउँगाउँमा जानकारी दिन थालेको छ । तल्लासोराडका विभिन्न गाविसमा जिल्ला प्रहरी कार्यालयले अन्तरक्रियाको आयोजना गरी नागरिकहरुसंग छलफल सम्पन्न गरेको छ । जनता र प्रहरीबीचको सम्बन्ध बलियो बनाउने, प्रहरीले दिने सेवाका बारेमा ग्रामीण क्षेत्रका नागरिकलाई जानकारी दिने, लैगिंक हिंसा न्यूनीकरणका बारेमा सचेतना जगाउने,सामाजिक विकृति विसंगतिहरुको अन्त्य गर्ने र समाजमा हुने अपराध न्यूनीकरणमा समुदायलाई सक्रिय बनाउने उद्देश्यसहित नागरिकहरुसँग अन्तरक्रिया सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए। नागरिकसंगको अन्तरक्रियाका क्रममा सीमा क्षेत्रका नागरिकहरुले भोग्नु परेका समस्याबारे समेत छलफल भएको उनले बताए ।  तल्लासोराडका आम्चोरा,शर्माली,पञ्चेश्वर,उदयदेव,मेलौली,सलेना लगायतका गाविसमा प्रहरीले अन्तरक्रिया सम्पन्न गरेको हो । जनताको शान्ति सुृरक्षाको अवस्थाका बारेमा बुझ्न जिल्ला प्रहरी प्रमुख नै गाउँमा पुगेपछि स्थानीयसमेत खुसी देखिन्थे । नागरिक र प्रहरीको सम्बन्ध बलियो बनाउन तथा समाजमा शान्ति तथा अमनचयन कायम गराउनका लागि प्रहरीले नागरिकसँग थालेको अन्तरक्रियात्मक अभियान निकै सकारात्मक रहेको मणिलेक उच्च मावि काँडा मेलौलीका प्राचार्य देवदत्त कलौनीले जानकारी दिए ।

Womui
Womui