बाँकेमा कसरी सहज बन्यो इन्धन वितरण ?

36

नेपालगन्ज, पुष ४–
रातदिन पम्पमा लाइन लाग्दापनि वितेको दुई महिना सम्म ट्रक व्यवसायी राजन चौलागाईले पर्याप्त मात्रामा इन्धन पाएनन् । तर, अचेल उनलाई पम्पमा लामो समय बिताउनु परेको छैन । जिल्ला आपुर्ति समितिले इन्धन वितरणका लागि कुपन प्रणाली लागु गरेपछि उनलाई सहज भएको हो । ‘आजभोली ल त कुपन लिएर पम्पमा जाने वित्तिकै तेल पाईन्छ, धेरै सजिलो भएको छ,’ चालागाईले सुनाए । जिल्लामा लागु भएको कुपन प्रणालीलाई अधिकांस व्यवसायीले सहज मानेका छन् । बागेश्वरी बस तथा मिनिबस व्यवसायी समितिका अध्यक्ष मनप्रसाद आचार्यले कुपनबाट आवश्यकता अनुसारको इन्धन आफ्ना सवारी साधनले पाइरहेको बताए । ‘भित्रेको इन्धनलाई कुपन प्रणालीबाट पहिलेदेखि नै वितरण गरेको भए त्यत्रो कालोबजारी हुन पाउदैनथ्यो,’ उनले भने ‘ढिलै भएपनि कुपन प्रणाली लागु गरियो, यसलाई अझ व्यवस्थित गर्दै लैजानुपर्छ ।’

कारकाँदोस्थित एसके पम्पमा सहज रुपमा इन्धन वितरण गर्दै ।
कारकाँदोस्थित एसके पम्पमा सहज रुपमा इन्धन वितरण गर्दै ।

नाकाबन्दी पश्चात वितरण प्रणाली अस्तव्यस्त गराएर आयल निगम र प्रशासनका उच्च अधिकारीले व्यक्तिगत लाभ लिएको आरोप लाग्यो । अस्तव्यस्तताको प्रत्यक्ष मारमा सोझा–साझा नागरिक परे । किसान, साना सवारी धनी लगायतले त्यतिबेला इन्धन अभावको समस्या निकै खेपेका थिए । वितरणको काम व्यवस्थित भएपछि अहिले समस्या केही कम भएको ट्याक्टर व्यवसायी संघ बाँकेका अध्यक्ष प्रहलाद साहु बताउँछन् । ‘कुपन प्रणाली लागु भएपछि धेरै सजिलो त भएको छ, इन्धनको मात्रा अलि बढाएर दिनुप¥यो,’ उनले भने । आयल निगम र प्रशासनको मिलेमतोमा इन्धन वितरणमा अनियमितता र कालोबजारी भएको तथ्य बाहिर आएपछि मंसिरको पहिलो सातादेखि बाँकेमा कोटा र कुपन प्रणाली कार्यान्वनयमा ल्याइएको हो । नाकाबाट भित्रिएको इन्धनको ६० प्रतिशत राजधानी र ४० प्रतिशत बाँके लगायत मध्यपश्चिम क्षेत्रमा वितरण गर्ने निर्णय आपुर्ति समितिले गरेको थियो ।

आयल निगमले पेट्रोलियम डिलर(पम्प)हरुलाई पुरानो विक्री दरको अनुपातमा कोटा अनुसार उपलब्ध गराएको इन्धनलाई बाँके प्रशासनले दिएको कुपनबाट उपभोक्तालाई विगत दुई सातादेखि वितरण गरिदै आएको छ । यातायात व्यवस्था कार्यालय, नेपालगन्ज उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति, कृषि कार्यालय लगायत निकायको सिफारिसका आधारमा प्रशासनले सम्वन्धित पक्षलाई कुपन उपलब्ध गराउँछ । कुपन वितरण प्रणालीलाई अझ व्यवस्थित गरी कालोबजारीलाई निरुत्साहित गर्ने प्रयास भइरहेको र पछिल्लो समयमा धेरै सुधार आएको कुपन वितरणको जिम्मा लिएका सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले दाबी गरेका छन् । ‘कुपन वितरणको जिम्मेवारी पाएपछि मैले कार्यालयको अरु काम गर्न पाएको छैन, हामीले व्यवस्थित ढंगले कुपन वितरण गरिरहेका छौ,’ उनले भने । कुपन प्रणाली बदर गराउन केही पम्प सञ्चालकहरुले सक्रिता देखाएपनि उनीहरु असफल भएको स्रोतको दाबी छ ।

विगतमा इन्धनको कालोबजारी गरेका केही पम्प सञ्चालकले कुपन प्रणाली हटाउनुपर्ने अडान राखेको मध्यपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनका एक पदाधिकारीले बताएका छन् । एशोसियशनका अध्यक्ष टिपी न्यौपानेले भने कोटा र कुपन प्रणाली लागु भएपछि आर्थिक चलखेल गर्ने काम बन्द भएको बताए । ‘पहिला त पम्पमा दिनहुँ सवारी साधनको लाइन मात्रै हुन्थ्यो, पाउनेले तेल पाएकै थिए, नपाउनले पाएका थिएनन, तर अहिले कुपन लिएर आउने व्यक्तिले सजिलैसँग तेल लिएर जान्छ,’ उनले भने । उपभोक्तालाई कुपन र व्यवसायीका लागि कोटा प्रणाली लागु भएपछि आयल निगम र डिलरलाई तनाव पनि कम भएको न्यौपानेको भनाई छ । ‘उपभोक्ताको लाईन अचेल पम्प हुन छाडिसक्यो,’ उनले थपे ‘पम्पहरुले पनि पुरानो विक्री प्रतिशतका आधारमा पालैपालो तेल पाइरहेका छन, गुनासो त्यति सुनिदैन ।’

Womui
Womui