‘जनताले काँग्रेसलाई स्यावास् दिनेछन’ : खड्का

70

नेपालगन्ज, पुष २–
नेपाली काँग्रेसका नेता एवम् पुर्वमन्त्री पुर्णबहादुर खड्काले नेपाल र भारत दुवै देशको कुटनीतिक कमजोरीले अघोषित नाकाबन्दीको समस्या उत्पन्न भएको बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले बिहीबार बिहान नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा नेता खड्काले भने, ‘भारतले लगाएको अघोषित नाकाबन्दी सोह्रैआना बेठिक छ, यसबाट नेपाल र भारतबीचको सम्वन्ध बिग्रियो ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि जोडिएको सम्वन्धमा ऐतिहासिक रुपमा क्षति पुगेको उनले प्रष्ट्याए । नाकाबन्दीले मुलुकलाई ठुलो सिकाइ भएको बताउँदै पुर्वमन्त्री खड्काले जनताको समृद्धिलाई राष्ट्रवादसँग जोड्नुपर्ने सुझाव दिए । उनले थपे, ‘ढोंगी राष्ट्रवादले अब मुलुकमा केही हुनेवाला छैन, मुलु्कलाई समृद्धितर्फ अगाडी बढाउन जरुरी छ ।’

पत्रकार भेटघाटमा बोल्दै काँग्रेस नेता पुर्णबहादुर खड्का ।
पत्रकार भेटघाटमा बोल्दै काँग्रेस नेता पुर्णबहादुर खड्का ।

उनले अर्को फरक प्रसंगमा पार्टीभित्रको भागबन्डा अन्त्य नगर्दा सम्म काँग्रेस रुपान्तरण नहुनेमा जोड दिए । ‘पार्टीभित्र जुन रुपमा साठी र चालिसको भागबन्डा हुदै आएको छ, यसलाई नभत्काउँदा सम्म काँग्रेस रुपान्तरण हुन सक्दैन, भागबन्डालाई भत्काएर पार्टीलाई नयाँ ढंगले रुपान्तरण गर्नुपर्छ भन्ने मान्यताका साथ म अगाडी बढिरहेको छु,’ उनले सुनाए । आफु देश दौडाहामा निस्केपनि भोट माग्दै नहिडेको प्रष्ट्याए । नयाँ नेतृत्वका लागि अगाडी आउने उम्मेदवारीलाई यसपटक महाधिवेशन प्रतिनीधिले राम्ररी चिन्नुपर्ने सुझाव दिए ।

खड्काले थपे, ‘नेताको मुख हेरेर भोट हाल्नु भन्दा विचार र नेतृत्व क्षमता भएको व्यक्तिलाई ल्याउनुपर्छ ।’ सोह्र बुँदे सहमती तोड्नमा काँग्रेस पार्टीको गल्ती नभएर व्यक्तिको गल्तीले सहमती तोडिएको उनको भनाई छ । ‘हाम्रो पार्टी सभापतिले प्रधानमन्त्रीमा आफ्नो व्यक्तिगत निर्णयका आधारमा उम्मेदवारी दिनु भएको हो ।’ नयाँ संविधान निर्माणमा काँग्रेसले ऐतिहासिक काम गरेको जिकिर गर्दै भने, ‘काँग्रेसले कुनैपनि गल्ती गरेको छैन, जनताको घरदैलोमा गए जनताले हामीलाई स्यावास् दिनेछन ।’

Womui
Womui