काँग्रेस बाँकेमा नेतृत्वको प्रतिस्पर्धा, उम्मेदवार भेटघाटमा व्यस्त

72

नेपालगन्ज, मंसिर २५–

नेपाली काँग्रेसको १३ औं जिल्ला अधिवेशन नजिकिदै सभापति पदका उम्मेदवारले यतिबेला भेटघाट अभियानलाई तिव्रता दिएका छन् । आगामी माघ २५ गते काँग्रेस बाँकेको जिल्ला अधिवेशन हुने तय गरिएको छ । जिल्ला अधिवेशन अगाडी माघ २२ गते क्षेत्र र १५ गते गाउँ तथा नगर इकाइको अधिवेशन हुनेछ । यसअघि काँग्रेसले घोषणा गरेका गाउँ तथा नगर इकाइ, क्षेत्र, जिल्ला र केन्द्रीय अधिवेशन तोकिएपनि ३ पटक स्थगित भइसकेका छन् । चार वर्षे कार्यकालका लागि जिल्ला सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका उम्मेदवारहरु निरन्जनसिंह सिजापति, नारायण गौडेल, लक्ष्मी नारायण शाह र किरण कोईराला कार्यकर्ता भेटघाटका लागि विभिन्न गाविस र नगरका वडामा पुगिरहेका छन् ।

सभापतिका उम्मेदवार लक्ष्मीनारायण शाहसँग सामुहिक फोटो खिचाउँदै खासकुश्मास्थित काँग्रेस कार्यकर्ता ।
सभापतिका उम्मेदवार लक्ष्मीनारायण शाहसँग सामुहिक फोटो खिचाउँदै खासकुश्मास्थित काँग्रेस कार्यकर्ता ।

आफुलाई युवा उम्मेदवारको रुपमा प्रस्तुत गरेका शाह बिहीबार खासकुश्मा गाविस स्थित कुसुममा पुगेर क्रियाशिल कार्यकर्तालाई भेटेका छन् । खासकुश्मा गाउँ इकाइ कार्यालयमा कार्यकर्ता माझ उनले आफु सभापति पदको उम्मेदवार हुनुको विभिन्न कारण खुलाए । सो क्रममा उपस्थित कार्यकर्ताले जिल्ला अधिवेशनले सक्षम नेतृत्व छनोट गर्नुपर्ने बताए । ‘जो व्यक्ति आएपनि पार्टीलाई बलियो ढंगले अगाडी बढाउन सक्ने खालको हुनुपर्छ, हामीलाई आशा एवम् विश्वास छ कि काँग्रेसले यस पटक सक्षम नेतृत्व पाउनेछ,’ खासकुश्मा गाउँ इकाइ सभापति टिकाराम बस्नेतले भने । चुनावको सरगर्मी चलेपछि उम्मेदवारी घोषणा गरेका मध्ये तीन जना उम्मेदवार खासकुश्मा गाविसमा आइसकेको बस्नेतले जानकारी दिए । ‘अहिले सम्म किरण कोईराला, नारायण गौडेल र लक्ष्मण नारायण शाह आएर फर्किसक्नु भएको छ,’ उनले भने ‘निरन्जन सिंह सिजापति जिले पनि आफ्ना प्रतिवद्धता पत्र पठाइसक्नु भयो, उहाँ पनि आउँछु भन्नु भएको छ ।’

कार्यकर्तासँगको भेटपछि उम्मेदवार शाहले आफु चुनाव प्रचारका लागि नेपालगन्ज उपमहानगर, कोहलपुर नगरपालिका सहित अधिकांस गाविसमा पुगिसकेको बताए । ‘लगभग सबै गाविसमा पुगेर क्रियाशिल साथीहरुलाई भेटघाट गरिसकेको छु,’ शाहले भने ‘अहिले सम्म सबै साथीहरुबाट सकारात्मक सुझाव मिलेको छ ।’ धेरै जसो ठाउँमा कार्यकर्ताहरु पार्टीमा नयाँ नेतृत्व चयन गर्न एकदमै उत्साहित देखिएको उनले दाबी गरे । अर्का उम्मेदवार सिजापति नगर वडा र गाउँ इकाइमा पुगेर एकसाथ प्रचार प्रसार गरिरहेको बताएका छन् । ‘चुनावको लागि गाउँ–गाउँमा जादैछु,’ उनले बिहीबार सदभावसँग भने ‘कार्यकर्तासँग सहयोग मागिरहेको छु ।’ आफ्नो भेटघाट अभियान निरन्तर रुपमा चलिरहेको उनले बताए । आफ्नो चुनावी अभियान दु्रत गतिले अगाडी बढीरहेको उम्मेदवार सिजापतिले जिकिर गरे । यस्तै सभापति पदकै उम्मेदवार गौडेलले आफु धेरै पटक कार्यकर्ताको घरदैलोमा रहेकाले सबैबाट परिचित भएको दाबी गर्दै भने, ‘मलाई सबै कार्यकर्ताले चिन्नु हुन्छ, म सधै कार्यकर्ताकै घरदैलोमा हुन्छु ।’ गाउँ र नगर वडा इकाइ तथा क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि मात्र आफ्नो नेतृत्वमा जिल्लाको टिम तयार हुने जानकारी दिए ।

आफु महिला भएको र आफ्ना पति पुर्व जिल्ला सभापति स्वर्गिय डा. अरुण कोईरालाले छाडेर गएका अधुरा काम पुरा गर्नका लागि उम्मेदवारी दिएको जिकिर गर्दै आएकी नेतृ कोईरालाले पनि भेटघाट अभियानलाई निरन्तरता दिदै आएकी छिन् । जिल्ला, क्षेत्र र गाउँ स्तरका नेता तथा कार्यकर्ताबाट आफुलाई निकै सहानुभुति भएको उनी बताउँछिन् । ‘मलाई सबैबाट सहानुभुति मिलेको छ, डाक्टर साबले छाडेर गएका अधुरा काम पुरा गर्नकै निम्ति मैले आफुलाई उम्मेदवारको रुपमा प्रस्तुत गरेकी हु,’ उनले भनिन् । नेतृ कोईराला नेपाली काँग्रेसका केन्द्रिय सभापति एवम् पुर्वप्रधानमन्त्री सुशील कोईरालाकी भाई बुहारी पनि हुन् ।

Womui
Womui